हेरात, ३२ साउन । अफगानिस्तानको हेरात प्रान्तमा सोमबार एक घरमा आगलागी हुँदा एकै परिवारका दश व्यक्तिको जलेर मृत्यु भएको छ ।
प्रहरीले गरेको घटनाको प्रारम्भिक अनुसन्धानले रातभर घरमा भएको ग्यास चुहावटपछि सो आगलागी भएको पाइएको छ । ग्यास चुहावटपछि भएको यस आगलागीमा परेका व्यक्तिहरु अत्यन्त विभत्स रुपमा जलेको अवस्थामा पाइएको हेरात अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता मोहमद रफिकले सिन्ह्वा समाचार समितिलाई दिएको समाचारअनुसार सो आगलागीबाट उक्त घरको परिवारका सबै सदस्य पूरै जलेर डल्लो परेको अवस्थामा पाइएका थिए । घटनामा ज्यान गुमाउनेमा चार महिला, तीन पुरुष र तीन बालबालिका रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा रहेको हेरात सहरमा अवस्थित यो भवन पनि जलेर पूरै ध्वस्त भएको छ ।
प्रतिक्रिया