एथेन्स, २९ साउन । ग्रीकको संसदले शुक्रबार राज्यको तेस्रो ऋण जमानत सहमति अनुमोदन गरेको छ । सन् २०१० यता ग्रीकद्वले पहिलो र दोस्रो ऋण जमानत सहमति गरिसकेको थियो भने गएको महिनामात्र तेस्रो जमानत सहमति गर्ने निर्णय गरेकोे थियो । बिहीबारको पछिल्लो सहमतिअनुसार युरो राष्ट्र समूहले ग्रीसलाई ८५ अर्ब युरो दिने छ ।
ग्रीक संसदको पूर्ण सदस्य सङ्ख्याको २२२ मत जमानत सहमतिको पक्षमा परेको छ भने ६४ मत विपक्षमा परेको छ । मतदानमा ११ सांसद अनुपस्थित रहे । ग्रीकले देशमा भएको बढ्दो आर्थिक समस्याले गर्दा गएको छ वर्षभित्र तीन पटक अन्तर्राष्ट्रिय समुदायबाट ऋण जमानत लिएको छ ।
ग्रीकले जमानत लिनु उसको बढ्दो चरम आर्थिक सङ्कट र बेरोजगारी समस्यालाई समाधान गर्न र आफू युरो समूह राष्ट्रबीच रहिरहनका लागि गरिएको बाध्यात्मक सहमति भएको जनाएको छ ।
शुक्रबार भएको मतदानपूर्व ग्रीक प्रधानमन्त्री अलेक्सिस सिप्रासले जमानतको पक्षमा बोल्दै भने, ‘तेस्रो जमानतका लागि सहमति गर्नु ग्रीकको चर्को आर्थिक सङ्कट र बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न र ग्रीक युरो समूहमा रहिरहन गरिएको एउटा बाध्यात्मक परिस्थितिको उपज हो ।’
‘आत्महत्या गर्नुको सट्टा जिम्मेवारी बहन गर्न यो निर्णयमा पुग्यौँ,’ सिप्रासले भने, ‘म जमानतको विपक्षमा सङ्घर्ष गर्नुलाई पश्चातापको रूपमा लिन्न, जमानतलाई स्वीकार गर्नु भीरबाट हामफाल्नुको विकल्पका रूपमा लिएको छु ।’
केही ग्रीक नागरिकले संसदबाट जमानतको अनुमोदन गर्नु राज्यलाई दुश्चक्रमा फस्नुबाट जोगाउने एकमात्र उपाय भएको प्रतिक्रिया दिएका छन् । उता, जमानतको विरुद्धमा सङ्घर्ष गर्दै आएका ग्रीक नागरिकले भने ग्रीसलाई टाटपल्टनबाट जोगाउनका लागि तत्काल युरो क्षेत्रबाट बाहिरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया