हवाना, २९ साउन । अमेरिकी विदेशमन्त्री जोन केरी औपचारिक भ्रमणका लागि शुक्रबार छिमेकी देश क्युवा जादै छन् । पछिल्लो समय संयुक्त राज्य अमेरिका र क्युवाको सम्बन्ध विस्तारै सुध्रँदै गएको छ । सोही प्रक्रियाअनुरुप नै क्युवाको राजधानी हवानामा स्थापना हुने नयाँ राजदूतावासमा केरीले झण्डोत्तलन गर्ने कार्यक्रम छ । यो घटनालाई यी दुई देशबीचको सम्बन्ध पुनःस्थापनाको सांकेतिक रुपमा लिइएको छ । आधा शताब्दीभन्दा लामो समयपछि यी देशले पहिलो पटक यो झण्डोत्तलन गर्दैछन् ।
यी दुई देशबीच सन् १९६१ को जनवरी ३ देखि सम्बन्धमा दरार उत्पन्न भएको छ । शीतयुद्धका कारण छुट्टिएका यी दुई देशको सम्बन्धमा यस पटक पुनःस्थापना गर्ने प्रयत्न भएको हो ।
सन् १९४५ पछि पहिलोपटक अमेरिकी विदेशमन्त्रीले क्युवाको भ्रमण गर्दै छन् । केरीको यो भ्रमणका क्रममा क्युवा सरकारले विशेष सम्मान प्रदान गर्ने बताइएको छ ।
अमेरिकी विदेशमन्त्रालयको वेभसाइटमा राखिएको एक भिडियो क्लिपमा एकजना ७८ वर्षीय अमेरिकी नागरिक जिम ट्रयासीले भनेका छन्, मलाई हवानामा रहेको अमेरिकी दूतावासमा अमेरिकी झण्डा उठाइएको दृश्य हेर्न निकै हतार भएको छ ।
केरीले क्युबाका उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । उनले हवानाको क्याथोलिक चर्चका प्रमुखसँग पनि भेटवार्ता गर्ने छन् । तर क्युवाका राष्ट्रपति राउल क्यास्त्रो र उनका दाजु फिडेल क्यास्त्रोसँग भने विदेशमन्त्री केरीको भेटघाटको कार्यक्रम छैन ।
प्रतिक्रिया