प्रतिपक्षीद्वारा जनमत सङ्ग्रहको विरोध

ब्राजाभिल । कङ्गोका तीन प्रतिपक्षी दलको संयुक्त मोर्चा कङ्गो डेमोक्रेसी इनिसियटिभ (आईडीसी) ले सरकारद्वारा हालै घोषणा गरेको जनमत सङ्ग्रहविरुद्ध आफ्नो आन्दोलनलाई बलियोका साथ अघि बढाउने निर्णय गरेको छ ।
प्रतिपक्षी दलको हालै बनेको गठबन्धनले जनमत सङ्ग्रहका लागि सरकारद्वारा प्रस्तुत गरिएको कार्यसूची राष्ट्रहितमा नहुने निष्कर्षका साथ आन्दोलनमा जाने भएको हो । सरकारविरोधी उक्त गठबन्धनले प्रस्तावित जनमत सङ्ग्रहको निर्वाचनमा भाग नलिने जनाएको छ ।
प्रतिपक्षी गठबन्धनले जनतालाई जनमत सङ्ग्रहका कार्यसूची राष्ट्रहितमा नभएको भन्दै आगामी अगस्त १६ तारिखमा राजधानीमा प्रदर्शन गर्ने र उक्त विरोध कार्यक्रम क्रमशः देशभर पु¥याउने बताको छ ।
गठबन्धनले कङ्गोको सरकारद्वारा यहाँको संविधानको कुनै पनि बुँदा परिवर्तन गर्ने प्रस्तावलाई विफल पार्न र आफ्नो सरकारविरोधी अभियान बलियो बनाउन अपील गरिसकेको छ । कङ्गोमा राष्ट्रपति डेनिस सासउ नगेसो तेस्रो कार्यकालका लागि निर्वाचनमा जान तथा केही अन्य विषयमा सरकारद्वारा कानुन परिवर्तन गर्ने पहल भए पनि प्रतिपक्षी गठबन्धनलगायत केही दलले यसो गर्न नहुने बताएका छन् ।
नगेसोले राष्ट्रपतिको रुपमा सन् १९७९ देखि १९९२ सम्म र १९९७ देखि हालसम्म गरी दोस्रो कार्यकाल पूरा गर्दै छन् ।

प्रतिक्रिया