टोकियो । हिरोशिमामा भएको परमाणु बम हमला भएको बिहीबार ७० वर्ष पुगेको छ । जापानभर हिरोशिमामा परमाणु बम हमला भएको ७० औं वर्षगाँठको अवसरमा एक मिनेट मौनधारण गरेका थिए ।
सो अवसरमा आयोजित एक कार्यक्रममा जापनी प्रधानमन्त्री शिन्जो आबेले विश्व शान्तिका लागि सारा विश्व आणविक हतियाररहित बनाउन निरन्तर प्रयत्नरत रहनु जिम्मेवारी र दायित्व दुवै भएको बताएका छन् ।
बिहिबारको औपचारिक संस्मरण समारोहमा प्रधानमन्त्री शिन्जो आबे र हिरोशिमाका मेयर काजुमी माटुसीसँगै जापानका लागि अमेरिकि राजदूत क्यारोलाइन केनेडी उपस्थित थिए ।
आणविक बमले हिरोशिमामा हजारौं हजार मानिस मारेको मात्र होइन जिवितहरुमा व्यक्त गर्नै नसकिने पीडा दिएको थियो । हिरोशिमामा स्थानीय समय अनुसार आठ बजेर पन्ध्र मिनेट जाँदा घन्टी बजाइएको थियो । ठीक त्यहि समयमा सन् १९४५ को अगस्ट ६ तारिकमा एक अमेरिकी विमानले बम खसाल्दा शहरको मध्य भाग जलेर ध्वस्त भएको थियो । सो आक्रमणका कारण तत्कालै ७० हजारले ज्यान गुमाएका थिए । करिब त्यति नै संख्यामा मानिस विकिरणको र विषको प्रभावका कारण मारिएका थिए । उक्त बम विष्फोटनपछि चार हजार डिग्री सेल्सियस राप भएको आगोको पर्खाल बनेको बताइन्छ ।
बम लागेर निधन भएकाहरुको मरणोपरान्त यात्राका लागि भन्दै हजारौं कागजका लालटिनहरु मोटोयसु नदीमा बगाउने बगाइएको छ ।
हिरोशिमामा बम हमलाको केही दिनपछि नागाशाकीमा दोस्रो परमाणु बम हमला भएको थियो । त्यसले कम्तिमा १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो । (एजेन्सी)
प्रतिक्रिया