काठमाडौं, १२ साउन । भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल सोमबार कलामको निधन भएको छ । ८४ वर्षका कलामको सिलोङको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक समारोहलाई सम्बोधन गर्दै गर्दा एक्कासि ढलेका थिए । डा. कलामलाई तत्काल अस्पताल लगेर उपचारका लागि भर्ना गरिए पनि उनलाई अस्पतालले हृदयघात भएको पुष्टि गर्दै अवस्था ‘क्रिटिकल’ रहेको बताएको थियो । त्यसको केही समयपछि नै कलामलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
सन् २००२ देखि भारतको ११औँ राष्ट्रपतिको जिम्मेवारी सम्हालका कलाम सन् २००७ सम्म भारतका राष्ट्रपति थिए । तमिलनाडुको रामेश्वरममा सन् १९३१ मा जन्मिएका डा. कलामले फिजिक्स र एरोस्पेस इन्जिनिङ गरेका थिए । उनले भारतको रक्षा अनुसन्धान तथा विकास संगठनमा रहेर तथा भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्रमा पनि विज्ञान प्रशासकको भूमिका निर्वाह गरेका थिए । उनी भारतको नागरिक अन्तरिक्ष कार्यक्रम तथा सैन्य मिसाइल विकास कार्यक्रममा समेत सहभागी भएर काम गरेका थिए । ब्यालेस्टिक मिसाइल (क्षेप्यास्त्र) निर्माणका कारण उनलाई भारतको ‘मिसाइल म्यान’को नामले समेत चिनिने गर्छ । उनकै संयोजनमा भारतले सन् १९७४मा पहिलोपटक आणविक परीक्षण गरेको थियो भने १९९८मा पाख्रन २ नामक आणविक परीक्षण गरेको थियो ।
सन् २००२मा भातको एघारौँ राष्ट्रपतिमा निर्वाचित हुँदा कलामले सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस दुवैको समर्थन प्राप्त गरेका थिए । सन् २००७ मा कार्यकाल सकेर राष्ट्रपति पदमुक्त भएपछि कलाम, समाज सेवा, शिक्षण र लेखन कार्यमा फर्किएका थिए । उनले प्रतिष्ठित पुरस्कार ‘भारत रत्न’ प्राप्त गरेका थिए ।
प्रतिक्रिया