हिन्दू राष्ट्रको माग गर्दै चक्काजाम

Hindu-Aandolanमोरङ, ११ साउन । नेपाललाई हिन्दूराष्ट्र कायम गराउन शनिबारबाट देशव्यापी आन्दोलन सुरु गरेका हिन्दू साधुसन्त र नगरवासीले आइतबार धार्मिक नृत्यसहित पूर्वको केन्द्र इटहरीमा दुई घण्टा चक्काजाम गरेका छन् ।

हातमा त्रिशूल डमरु र पञ्चेबाजा बजाउँदै सडकमै नृत्य गर्दै निस्किएका धार्मिक गुरुहरू र उपमहानगरवासीहरूले आइतबार मुख्य सडक खण्ड दुई घण्टा चक्काजाम गरेका हुन् । इटहरीको पश्चिम रोड खेतीखोलास्थित महायज्ञको स्थलबाट सयौँको संख्यामा निस्किएका हिन्दूधार्मिक गुरुहरू र स्थानीयले इटहरीको मुख्य चौकमा घेराहाली यातायातका साधनहरू ठप्प बनाएका थिए ।
सडकको चौतर्फी फैलिएका हिन्दू धर्मावलम्बीले हिन्दू राष्ट्रको नाममा चर्को नाराबाजीसमेत गरेका थिए । नाराबाजीसहित आयोजित कोणसभामा वक्ताहरूले नेपाललाई आगामी संविधानमार्फत धर्म निरपेक्षता राष्ट्र बनाउन लागिएको भन्दै नेपाल सरकारको चर्को आलोचना गर्दै हिन्दूराष्ट्र कायम नभए धार्मिक युद्ध चर्काउने चेतावनी दिएका थिए । कोणसभामा बोल्दै आन्दोलनका संयोजककुमार थापाले मुलुकमा सरकारले धार्मिक युद्ध निम्त्याएको बताएका थिए । नेपाललाई हिन्दूराष्ट्र कायम गराउन ज्यानको बाजी लगाउने संयोजक थापाले बताएका छन् । आन्दोलनरत हिन्दु धर्मावलम्बीहरूले नेपालमा गौहत्या बन्द गरिनुपर्ने, धर्म परिर्वतन बन्द गरिनुपर्नेजस्ता मागहरू राख्दै आन्दोलनमा उत्रिएका छन् ।
यता हिन्दू धर्मावलम्बीहरूको चक्काजामका कारण सयौँ यात्रुहरूको बिचल्ली भएको थियो भने सार्वजनिक सवारीसाधनहरू बिच बाटोमै अलपत्र परेका थिए ।

प्रतिक्रिया