काठमाडौं । अग्लो कद, सुन्दर अनुहार, बलिष्ठ शरीर, उनलाई जोकोहीले हेर्दा पनि कुनै फिल्मको भिलेन नै हो कि भन्ने ठान्छन् । तर, उनी आफू भने फिल्ममा भिलेन नभई हिरो बनेर अभिनय गरिरहेका छन् । उनी अर्थात, दिनेश केसी ‘दोलखेली ठिटो’, जो दुई वर्ष अघिबाट फिल्म क्षेत्रमा हिरो बनेर अघि बढिरहेका छन् ।
सानैदेखि नै फिल्ममा हिरो बनेर अभिनय गर्ने सपना बुनेका उनी अहिले आएर त्यही सपनालाई मूर्तरूप दिइरहेका छन् । ‘मलाई सानैदेखि नै फिल्ममा हिरो बनेर काम गर्ने चाहना थियो, खासगरी फिल्ममा लभर ब्वाई र एक्सन हिरोको रूपमा दर्शकमाझ देखिने चाहना थियो,’ उनले भने, ‘तर भिलेन प्रति कुनै रुची जागेन, फिल्ममा भिलेन बनेर देखिँदा दर्शकको आफू प्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बन्ला कि भन्ने छ ।’ त्यसो त उनलाई २/३ वटा फिल्मबाट भिलेनका लागि अफर आए पनि त्यो अफरलाई उनले अस्वीकार गरे ।
उनले कलाकार तथा निर्देशक दिनेश शर्माले निर्देशन गरेको फिल्म ‘दानव’बाट रजतपटमा डेब्यु गरेका थिए । यसपछि उनले ‘आइ एम क्रेजी’, ‘माया आपै हुँदो रहेछ’, ‘खतरनाक’, ‘बादशाह’लगायतका फिल्ममा काम गरिसकेका छन् । कोरियोग्राफर भूवन श्रेष्ठसँग डान्स र अभिनय प्रशिक्षक वीरेन्द्र हमालबाट अभिनयको कक्षा लिएका उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले शिशिर योगीको ‘तिमी फूल भयौ’ बोलको गीतको म्युजिक भिडियोबाट मोडलिङमा डेब्यु गरेका थिए । ‘म फिल्म क्षेत्रमै आफ्नो जीवन बिताउन चाहन्छु,’ उनले खुलाए, ‘फिल्ममा पनि अभिनयबाहेक अन्य विधामा हात हाल्दिनँ किनकी मेरो चाहना नै अभिनय हो ।’ (सौस)
प्रतिक्रिया