काठमाडौं । टेलिभिजन कलाकर्मी मञ्च नेपालले टेलिभिजन कलाकर्मको क्षेत्रमा आफ्नो जीवनलाई पूर्ण समर्पित गर्दै अतुलनीय योगदान पुर्याएकामा वरिष्ठ टेलिभिजनकर्मी तथा कलाकार नीर शाहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । मञ्चले राजधानीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चकी अध्यक्ष दीपाश्री निरौलाले शाहलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिसहित सम्मान गर्न लागेको बताइन् ।
उनका अनुसार नीरलाई आगामी असार २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिनेछ । त्यसैगरी, कार्यक्रममा टेलिभिजन कलाकर्ममा अनवरत रूपमा काम गरिररहेका तीन विशिष्ट टेलिभिजनकर्मीलाई ‘विशेष सम्मान’, लामो समयसम्म टेलिभिजन कलाकर्मीमा योगदान पुर्याइरहेका ८ जना कलाकर्मी तथा टेलिभिजन कार्यक्रमलाई ‘विशेष योगदान सम्मान’, टेलिभिजन कलाकर्मसँग सम्बद्ध दुईवटा संस्थालाई ‘संस्थागत सम्मान’ र टेलिभिजनबाट प्रसारण हुने विविध कार्यक्रममध्ये ११ विधा कायम गरी विधाका लोकप्रिय कार्यक्रम वा कलाकर्मीलाई पनि पुरस्कृत गरिनेछ ।
अध्यक्ष दीपाले आपूूहरूले यो कार्यक्रमलाई वैशाखमै गर्ने तयारी गरे पनि भूकम्पका कारण उक्त समयको कार्यक्रम रद्ध गरेर आगामी आइतबार आयोजना गर्न लागिएको बताइन् । उनले मञ्चको कार्यसमिति तथा सल्लाहकार समितिले योगदान तथा लोकप्रियताको मापदण्डलाई आधार मानेर छनोट गरी पुरस्कृत गर्न लागिएको खुलाइन् ।
मञ्चका उपाध्यक्ष श्रीप्रसाद थापाले टेलिभिजनमा प्रसारण हुने विभिन्न कार्यक्रमका विषयवस्तु र प्रस्तुति हेरेर विधागत अवार्ड प्रदान गरिने जानकारी दिए । उनका अनुसार कार्यक्रममा कलाकारको नृत्य तथा प्रहसन पनि हुनेछ ।
मञ्चले यसअघि ‘टेलिसम्मान– २०६६’, ‘टेलिअवार्ड– ०६७’, ‘टेलिभिजन सम्मान तथा पुरस्कार २०६९’लगायत कार्यक्रम सम्पन्न गरिसकेको छ । (सौस)
प्रतिक्रिया