धनकुटामा भूकम्पले ठूलो क्षति

Sindhupalcधनकुटा, १६ वैशाख । गत शनिबारदेखि दैनिक पटकपटक आइरहेको भूकम्पको धक्काले धनकुटामा पनि ठूलो धनजनको क्षति भएको छ ।

भूकम्पले धनकुटामा दुई जना घाइते भएका छन् । त्यस्तै जिल्ला सदरमुकामसहित विभिन्न गाबिसका कम्तिमा दुई सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
शनिबारको भूकम्पका बेला घरबाट हाम फालेर भाग्ने क्रममा धनकुटा–१ हिलेका ५० वर्षीय रमेश रम्तेल गम्भीर घाइते भएका हुन् । त्यस्तै, आइतबार दिउँसो भूकम्प गएका बेला भाग्ने क्रममा लडेर पाख्रिबास–५ का ४० वर्षीय नारायण आले गंभीर घाइते भएका छन् । उनीहरू दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । भूकम्पका कारण केही ब्यक्ती बेहोस भएर जिल्ला अस्पतालमा ल्याइएको थियो । धेरैमा रिंगटा चल्ने, वान्ता हुने जस्ता समस्या देखिएका छन् । सोमबार साँझसम्म प्राप्त जानकारी अनुसार भूकम्पका कारण धनकुटा सदरमुकामसहित विभिन्न गाविसमा कम्तिमा दुई सय घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रमुख प्रदीपकुमार श्रेष्ठका अनुसार धनकुटा सदरमुकामसहित विभिन्न गाविसका ४० घर पूर्णरूपमा क्षति भएका छन् । त्यस्तै पाँच वटा विद्यालयमा पनि क्षति पुगेको छ ।
मूर्तिढुंगाको सिंहदेवी मावी, छिन्ताङको शुभकला निमावी र चानुवास्थित चानुवा उच्च मावी दमारलगायतको भवनमा बढी क्षति पुगेको हो । त्यस्तै, इलाकाप्रहरी कार्यालय छिन्ताङको भवनमा पनि क्षति पुगेको छ । त्यस्तैगरी जिल्ला कारागारको भवन पनि थप जीर्ण बनेपछि कैदी बन्दीलाई अर्कै भवनमा सारिएको छ । यता, भेडेटारस्थित भ्यु–टावर भूकम्पका कारण भत्किन लागेकाले त्यहाँ प्रवेशमा रोक लगाइएको छ ।
धनकुटामा पनि पटकपटक भूकम्पको धक्का महसुस भइरहेको छ । सोमबार करिब ६ः३० बजे पुनः भूकम्पको धक्का महसुस भएपछि जिल्लाबासी थप त्रसित बनेका थिए । भूकम्प पुनः आउनसक्ने डरले सर्वसाधारण घर बाहिर खुला ठाउँमा निस्किएर बसेका छन् । जिल्ला सदरमुकामका अधिकांश घरका मानिस टुँडिखेल, विभिन्न विद्यालयका प्रांगणलगायतमा पाल टाँगेर बसेका छन् ।
यसैबीच जिल्ला दैवी प्रकोप उद्दार समितिको सोमबार दिउँसो बसेको बैठकले मंगलबारबाट राहत वितरणलाई तीव्र बनाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार मंगलबार बिहानबाट कुरुलेतेनुपा, ६ नम्बर बुधबारे, मुढेबास, वसन्तटार, मौनाबुधुकलगायत गाविसका क्षति पुगेका घरलाई राहत वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया