यतिबेला म पृथ्वीभन्दा धेरै टाढा छु, धेरै–धेरै पर र धेरै–धेरै माथि । यो बेला म जुन ठाउँमा छु, त्यहाँबाट धर्ती देखिँदैन, गगन पनि देखिँदैन । यतैकतै नजिक या टाढा सूर्य रहेको अनुभूति हुन्छ किनभने उज्यालोको पूर्ण आभास त भइरहेको छ तर भाष्कर मेरा वरिपरि दृष्टिगोचर हुँदैनन् । सायद म शून्यको गर्भमा छु तर ‘शून्यमा शून्यसरि हराइरहेको’ भने छैन, मात्र छु त अनन्त शून्यमा यात्रारत । मेरा वरिपरि अरू धेरै मानिस छन्, फरक–फरक रूप र फरक–फरक वर्णका र अनेक बान्की परिधानमा सजिएका । कति यताउता हेर्दै टोल्हाए जस्ता देखिन्छन्, कतिा आँखा चिम्लेर बसेका छन्, कोही निदाइरहेका होलान्, कोही निदाउने कोसिसमा होलान्, कोही निदाएको अभिनय गरिरहेका होलान् । कति एकआपसमा कुरा गर्न मस्त छन् । ठीक यति नै बेला, केही समयपहिले जस्तै र घरिघरि आइरहने शृंखलामा, हामी बसेको सिट अगाडि फिट गरिएका कम्प्युटर स्क्रिनहरूमा विमान र नक्सासहित अक्षर देखा पर्छन्… हामी यतिबेला झन्डै बत्तीस हजार फिटको उचाइमा उडिरहेका छौँ ।
बत्तीस हजार फिट अर्थात्, संसारको सबैभन्दा अग्लो टाकुरा, हाम्रै माउन्ट एभरेस्ट, हाम्रै चोमोलोड्ग्मा, हाम्रै सगरमाथाभन्दा तीन हजार फिट अझ माथि !
कोरियन एअरको विशालकाय बोइङ विमान हामी सयौँथरि यात्रुलाई कोरियाकै इन्चियोन विमानस्थलबाट बोकेर संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित डल्लास अन्तर्राष्टिय विमानस्थलतर्फ लगिरहेको छ । काठमाडौँबाट थाई एअरवेजको विमानले बैंककसम्म ल्याएको थियो । तीन÷चार घन्टाको ट्रान्जिटपछि कोरियन एअरकै अर्को विमानले हामीलाई इन्चियोन विमानस्थल पु¥याएको थियो ।
म सानो झ्यालबाट बाहिर हेर्छु, हामीलाई बोकेको विमान सेतै बादलको कुइरीमन्डलभित्र पसेको थियो । लागिरहेको थियो, मानौँ हामी विमान चढेर बादलहरूको उपत्यकामा विचरण गर्न गइरहेका छौँ, मानौँ हामी श्वेत कपासको देशमा जाँदैछौं, जहाँ यत्रतत्र सर्वत्र केवल सेतो कपास मात्र छ, जति परसम्म आँखा पुग्न सक्छ दिगन्तसम्म दूधजस्तै सेतो कपासै कपास मात्र देखिन्छ । मन हुन्छ, भर्खरै पाइलटलाई भनेर विमानको ढोका खोल्न लगाऊँ र फुत्त बाहिर निस्कूँ अनि त्यही कपासको देशमा घन्टौं कपाससित लडिबुडी गरिरहूँ । एक मन त यस्तो पनि सोचिरहेको थियो, विमानको झ्याल उघारेर बादलसित हात मिलाउन पाए कस्तो हुन्थ्यो होला ? अझ, बादलसित हातेमालो गर्न र केहीक्षण भए पनि लुकामारी खेल्न पाए कति राम्रो हुन्थ्यो होला ? उफ, यो मानव विवशता !
उता विमान वेगको तीव्रतालाई हाँक दिइरहेछ, बादललाई चिर्दै र उछिन्दै अगाडि बढिरहेछ, मानौँ आकाशसित भलाकुसारी गर्दै हिँडिरहेछ । र, म त्यही विमानभित्र बसेर पनि फगत कल्पनाका पखेटा फटफटाउन बाध्य छु । अनायास एउटा बालसुलभ जिज्ञासाले मलाई कुत्कुत्याउँछ– कठै, विमान जस्तै बनेर स्वयं मानिस किन उड्न नसकेको होला ? किम्बदन्तीहरू र पुराणहरूमा सुरअसुर वा देवीदेवताहरू उडेझैँ के कुनै बेला आधुनिक मानव पुस्ता पनि आकाशमा उड्न सक्ला ? मानिस विमानमा उड्छ, हेलिकप्टरमा उड्छ, बेलुनमा उड्छ, प्याराग्लाइडिङ पनि उडान नै हो, अझ प्यारासुट जम्पिङ पनि एक किसिमको उडान नै हो । मानिसलाई पृथ्वीबाट चन्द्रमा, मंगलग्रह, अन्तरिक्ष वा यस्तै अर्को कुनै लोकसम्म पु¥याउन विशेष यान नै छ । राइट ब्रदर्सले विमानको आविष्कार गर्नु पहिलेसम्म कल्पनासमेत नगरिएको उडान पछि सम्भव भयो । त्यसो भए के फेरि कुनै अर्का ब्रदर्स वा सिस्टर्स वा कुनै मेल या फिमेल इन्डिभिजुअलले कुनै अद्भूत आविस्कार गरेर मानवलाई चराचुरुंगीसरह उड्न सक्ने बनाउलान् ? त्यसरी नै जसरी सुपरम्यान, स्पाइडरम्यान, क्रिस आदिहरू उड्ने गर्छन् । आखिर पशुहरूको दुरुस्त प्रतिकृति बनाउन क्लोनिङ प्रविधि आविस्कृत र विकसित भइसकेको छ ! मानिसले जस्तै सारा कामकाज गर्न यन्त्रमानव (रोबोट) समेत तयार भइसकेको छ । उसोभए भविष्यमा कुनै एक दिन मानव उडान पो कसो सम्भव नहोला र ?..
आफैँसित हासो पनि उठेर आयो, यस किसिमको कल्पनामा केही समय हराउँदा । कति धेरै फरक छ कल्पना र यथार्थमा ? सायद यही बत्तीस हजार फिटको उचाइमा पृथ्वीभन्दा माथि हामी चढिरहेको विमान उडिरहेछ ? सायद लाखौँ फिट, अझ बेमापन दूरी छ कल्पना र यथार्थबीच । तर, अचेलहुँदो बढ्दै गइरहेका जीवनका विषमता र स्खलित हुँदै गएका मानवीय मूल्य र मान्यताबीचको दुरीभन्दा बरु यो दुरी ज्यादै कम्ती पो छ होला ।
(त्यसो त कल्पनामा आप्mनै किसिमको आनन्द हुन्छ, व्यक्तिपिच्छे इम्याजिनेसनमा मौलिकता हुन्छ, यसका लागि कसैले धेरै अथवा अतिरिक्त शक्ति पनि खर्चिनु पर्दैन, फरक कति मात्र हुन्छ भने कसैको इम्याजिनेसन उर्बर वा सिर्जनशील हुन्छ त कसैको फगत कर्कलाको पानी । सत्य के हो भने कल्पना सधैँ तार्किक हुँदैन, कल्पनाका लागि कुनै आधार चाहिँदैन र कल्पनाका लागि कुनै तर्क खोज्नु पनि हुँदैन ।)
केही निमेषपहिले मात्र त हो, विमान हामीलाई आफूभित्र समेटेर इन्चियोन विमानस्थलको धावनमार्गमा घस्रिन थालेको थियो । पहिले विस्तारै र पछि क्रमशः आफ्नो गति बढाउँदै कानै खाने आवाज निकाल्दै ह्वात्तै जमिन छाडेर आकाशतिर हुइँकिएको थियो । विमान जति–जति आकाशको उचाइ नाप्न हतारिन्थ्यो, तल पृथ्वीमा देखिने आकृति साना मसिना र झन्–झन् साना हुँदै क्रमशः हराउँदै गएका थिए । केही समय तल पृथ्वी र माथि सेता बादलबीच थियो विमान जहाँबाट अलिकता पृथ्वीको हरियाली, केही डाँडाकाँडा र जल मात्र देख्न सकिन्थ्यो । उड्दो विमान झन्–झन् माथि हुँदै क्रमशः बादलको सतहभन्दा माथि पुग्यो । अब हामी रहेको विमानभन्दा माथि केवल निराकार नीलो गगन छ र तल फगत कपासजस्तो बादल । लाग्छ, मानौँ सम्पूर्ण पृथ्वी केवल र केवल मेघाच्छादित मात्र छ ।
मेघ ? सहसा संस्कृतका महाकवि कालीदास र उनको ‘मेघदूत’ को सम्झना आयो । मेघ अर्थात् बादललाई दूत बनाएर कालिदासले विरही प्रेमको सन्देश बोक्न लगाएका छन् । मेघलाई माध्यम बनाइएर अभिव्यक्ति पाएको उक्त कृति विचार, उपमा, भाव, शब्द–सौष्ठव, अलंकार आदि सबै दृष्टिले सौन्दर्य र श्रृंगाररसका सर्वकालीन सर्वश्रेष्ठ रचनाहरूमध्ये एक हुन गएको छ । यस महाकाव्यमार्फत कालिदासले मेघलाई अमर बनाइदिएका छन् । त्यसो त मेघ प्रेमदूत मात्र कहाँ हो र ? यो त मानिसको असल साथी पनि हो । आकाशमा बादल देखेपछि किसानको मन कति खुसी हुन्छ ? पानी पार्ने बादल आकाशमा मडारिएपछि असारे पन्ध्रको रौनकलाई कसले थेग्न सक्छ ? वर्षासँगै मयूर नाचेको देखेर सम्मोहित नहुने को होला र ? कुलो, नहर र सिँचाइको व्यवस्था नभएर वर्षे पानीमा भर पर्ने दुनियाका लागि अम्बरको घनघटाले जीवनको ज्योति लिएर अनि आशाका नयाँ–नयाँ किरण बोकेर आएको हुन्छ ।
उहिले पौराणिक कालमा बादलको गीत– मेघ मल्हार– गाएर पानी पार्थे रे । तर, समय परिवर्तन भइसकेको छ । अचेल मेघमल्हार राग सुनिँदैन, बरु बेलाबखत सुनिन्छ त वर्षाको आराधना गर्दै पूजा गरिएको अथवा भ्यागुताको बिहे गराइदिएका आदिआदि प्रसंग । विज्ञान भन्छ– जमिनको पानी तातेर वाष्प भई बादलमा परिणत हुन्छ, हावाले यता र उता उडाउँदा ती एकआपसमा ठोक्किन्छन् र मेघ गर्जन सुनिन्छ अनि पानी पनि पर्छ । गर्जिने बादल बर्सिंदैन भनिन्छ, तर सत्य कुरा के हो भने भयंकर मेघ गर्जनसहित वर्षा हुँदा पृथ्वीमा जलप्रलय नै आउन बेर लाग्दैन, धेरैपटक आएकै पनि छ ।
(तर, अचेल त विज्ञानले उत्पातै गरिसकेको छ, पानी परेन भने कृत्रिम बादल बनाएर वर्षा गराउने प्रविधि विकास भइसकेको छ । त्यतिले मात्र नपुगेर आफूलाई नचाहिएको बेला वर्षा हुन लागेमा विशेष किसिमको यान प्रक्षेपण गरी बादल नै हटाइदिने प्रविधि पनि विकास भइसकेको छ । केही समयपहिले चीनमा भएको बेइजिङ ओलम्पिक खेलकुदको उद्घाटन र समापन कार्यक्रममा यस्तै रकेट प्रयोग गरेर घना मेघाच्छादित मौसममा पनि पानी पर्ने सम्भावनालाई समाप्त पारिएको थियो) ।
विमान उडिरहेको छ । एउटा ठाउँ विशेष छोड्दै छ, अर्को ठाउँ विशेष पुग्दै छ । विमानसँगै मेरो मन पनि उडिरहेको छ, विमानभन्दा पनि तेज गतिमा । सायद उडिरहेको विमानभित्र यात्रुलाई आफू उडिरहेको अनुभव हुँदैन । गाडी अथवा रेलमा जसरी विमानले हर्न बजाउँदैन, ट्राफिकको चहलपहल पनि आकाश मार्गमा बेहोर्नुपर्दैन । विमान एकलास उडिरहन्छ । यात्रु भित्र बसिसकेपछि र ढोकाहरू बन्द भइसकेर विमान उड्ने तयारीमा लाग्दा, प्रत्येक सिटमा रहेको सुरक्षापेटी(सिटबेल्ट) बाँध्न लगाइन्छ । साथै, विमानभित्र अक्सिजन कम हुन गए के गर्ने, आकस्मिक अवस्थामा के गर्ने, धूमपान कतिबेला गर्ने र नगर्ने आदिसमेत यात्रुलाई आवश्यक हुनसक्ने अनेक जानकारी दिइन्छ । खानपान र शौच आदि सबैको व्यवस्था विमानभित्रै छ । यात्रुलाई विमानले न घुम्ती नाघेको थाहा हुन्छ न विमान यताउता हल्लिएको । बिन्दास आफ्नो सिटमा बसेर यात्रारत भए पुग्यो । यतिमै सुन्दरी परिचारिकाहरू आइपुग्छन्, ननस्टप मुस्कान बर्साउँछन् र यथाशक्य मृदु वाणी झार्छन्, ‘एक्सक्युज मी, यहाँलाई कुन ड्रिंक्स मन पर्छ ?’ अथवा ‘एक्सक्युज मी, के खाना टक्र्याउँ ? भेज कि ननभेज ?’ घरि छेउमा आउँछन् र सोध्छन्, ‘एक्सक्युज मी, टी अर कफी ?’ मेरी बास्सै, पहिलोपटक लामो अन्तर्राष्ट्रिय उडानमा सवार मानिसलाई त यस्तो बेला नौ नारी गलेरै पो आउँछ । के खाने र कसरी खाने, असमन्जसपूर्ण स्थिति पैदा भएको हुन्छ । अलिकति पनि ‘स्मार्ट फस्र्ट टाइमर प्यासेन्जर’ ले त आफ्ना वरिपरि हेरेर, अरू सहयात्रीलाई नियालेर जसोतसो काम चलाइहाल्छ । नत्र त बिजोगै हुन बेर लाग्दैन (त्यसो त यात्रुको अज्ञान अवस्थामा परिचारिकाहरूले पूरापूर सहयोग गर्छन्, तर मानवीय स्वभाव, मानिसले जानेसम्म र मिलेसम्म आफूलाई अज्ञानी देखाउन चाहँदैन) ।
हामीलाई बोकेको विमान ठूलो एअरबस हो, बोइङ ७४७ । (यस्तो कुनै पनि विमान सानाठूला गरेर सत्तरी लाख पाटपूर्जा मिलेर बनेको हुन्छ रे) । यसमा सयौँ यात्री छन् । मसँगैको सिटमा एकजना कोरियन थियो । कुरा गरिरहन मन पराउने ऊ भन्दै थियो, ‘म पहिलोपटक यसरी ठूलो विमानमा हिँड्दा कस्तो अत्तालिएको थिएँ । पेट दुःखेजस्तो भएर शौचालय जान हिँडेको पहिले त शौचालयको ढोकै खोल्न जानिनँ, अरूले नै खोलिदिनु प¥यो । शौच पनि भयो, तर फ्लस गर्दा त कस्तो ठूलो आवाज आउँदो रहेछ भने मेरो त सातोपुत्लो नै उड्यो । कता के भयो भनी डराइ–डराइ हतारिएर ढोका खोलेँ, बाहिर सबै सामान्य थियो । अनि बल्ल मेरो प्राण फर्कियो ।
उ यस्तै अरू पनि के–के भन्दै आफू पनि हास्दै थियो र मलाई पनि हसाउँदै थियो ।
विमान उडिरहेको छ । विमानभित्र बसेको मेरो मन विमानभन्दा तेज उडिरहेको छ र म सोचिरहेको छु । लगातार बाह्र घन्टा लामो उडानपछि विमान आफ्नो गन्तव्यस्थल पुग्नेछ । सबै यात्रु त्यहीँ ओर्लनेछन् । म पनि त्यही यात्री–जत्थाको एक हिस्सा हुनेछु । कुनै पनि यात्रीले आफू र कदाचित् आफूसँगै भएका नातेदार वा इस्टमित्र यात्रु मात्र चिन्नेछन्, अरू सबै यात्री सबैका लागि अपरिचित, अर्कै लोकका यात्री जस्ता मात्र हुनेछन् ।…
जीवन सायद यही हो– अपरिचितहरूबीच अपरिचयको यात्रा । अपरिचयलाई परिचयमा परिणत गर्ने प्रयासमा जीवन अगाडि बढ्छ र जीवन एक गतिशील यात्रा बन्छ, सधैँ बनिरहन्छ । केही समय केही कुराकानी, केही क्रियाकलाप, केही गतिविधि, अनि पूर्णविराम । जगतको सत्य भने पनि जीवनयात्राको सार भने पनि यही हो ।
प्रतिक्रिया