
काठमाडौं । बृहत् नागरिक आन्दोलनले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार सुकुम्वासीहरूप्रति असंवेदनशील बनेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएको छ ।
आज मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनले विकल्प र तयारी बिना नै सुकुम्वासीहरूलाई जबरजस्ती कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सारिएको र त्यहाँ उनीहरू थप संकटमा परेको दाबी गरेको छ । खोला किनारको बसाइ वर्षामा डुबानमा पर्ने तर्क गर्दै सारिएका पीडितहरू होल्डिङ सेन्टरमै डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न गएका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।
होल्डिङ सेन्टर पुगेका माजिद अन्सारी, सरिश्मा थापा र जेनजी समूहका केही अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको र उनीहरूको कानुनी अवस्थाबारे अन्योल सिर्जना गरेको नागरिक आन्दोलनले जनाएको छ ।
सुकुम्वासी राखिएका केन्द्रहरूमा खाना र पानीको अभाव गराएर सरकार गैरजिम्मेवार बनेको र सुकुम्वासी बस्ती हटाउँदा उत्पन्न संकटका कारण हालसम्म ९ जना सुकुम्वासीको असामयिक मृत्यु भइसकेको विज्ञप्तिमा उल्लेख छ । सरकारले नागरिकको जीवन रक्षाका लागि उचित कदम चाल्नुको साटो धरपकड र स्वेच्छाचारिता प्रदर्शन गरी थप मानसिक प्रताडना दिएको आरोप समेत लगाइएको छ ।
भूमि र बासविहीन नागरिकको अविलम्ब कुशल व्यवस्थापन गर्न, पक्राउ गरिएका अभियन्ताहरूलाई तत्काल मुक्त गरी कानुनी अवस्थाको अन्योल अन्त्य गर्न र देशमा गरिखाने वातावरण निर्माण गर्न बृहत् नागरिक आन्दोलनले जोडदार माग गरेको छ । यी मागहरूको तत्काल सुनुवाइ नभएमा आन्दोलन सडकमा ओर्लिन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ।
प्रतिक्रिया