राजमार्ग सूचारु भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, गन्तव्यतर्फ लाग्दै यात्रु

काठमाडौं । हिजो सोमबारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका पृथ्वी राजमार्गलगायतका विभिन्न सडकखण्डहरू सुचारु हुन थालेसँगै काठमाडौंको नयाँ बसपार्कमा चहलपहल बढेको छ ।

बाढी र पहिरोका कारण बीच बाटोमै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेपछि बसपार्क क्षेत्रमा यात्रु र सवारीको चाप पुनः बढेको हो ।

हिजो सोमबारदेखि पूर्ण रूपमा बन्द भएको राजमार्ग आज मंगलबार बिहान १० बजेदेखि खुलेसँगै यातायात सञ्चालन सहज भएको हो । राजमार्ग खुलेलगत्तै लामो दूरीका सवारी साधनहरू नयाँ बसपार्कबाट क्रमिक रूपमा निस्कन थालेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौंमै रोकिनुपरेका र बाहिरबाट आउने तयारीमा रहेका यात्रुहरू बिहानैदेखि बसपार्क पुग्ने क्रम सुरु भएको छ । सडक विभाग र सुरक्षा निकायको निरन्तर प्रयासपछि पहिरो हटाई यातायात सुचारु गरिएको हो ।

राजमार्ग खुलेसँगै लामो समयदेखि जाममा परेका र यात्राको पर्खाइमा रहेका यात्रुहरूले राहत महसुस गरेका छन् । यद्यपि, वर्षाका कारण केही स्थानमा अझै पनि पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया