आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन

काठमाडाैं । आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको अस्पतालले जनाएको छ । उनको ८५ प्रतिशत शरीरमा जलन भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए । अस्पताल प्रशासनका अनुसार गएराति २ बजेतिर उनको निधन भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी ३५ वर्षीय विवेकले गएको शुक्रबार आफ्नै घरमा हुँदा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई त्यही दिन साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि कीर्तिपुर, काठमाडौं ल्याइएको थियो ।

विज्ञान विषयमा स्नाकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए । आर्थिक अभावले उनमा केही समयदेखि मानसिक समस्या देखिएको परिवारका सदस्यले बताएका छन् ।

उनको पारिवारिक स्रोतका अनुसार एमएस्सीको पढाई पूरा गरेपछि उनले केही समय महोत्तरीको गौशालास्थित एक माविमा तीन वर्ष पढाएका थिए । तर, विद्यालय भित्रको राजनीतिक दवावका कारण विवेकले शिक्षण पेशा छोड्नु परेको थियो ।

त्यसयता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन् । विभिन्न विद्यालय र कलेजमा रोजगारीमा समेत प्रयास गरेका विवेकले लोकसेवाको परीक्षा समेत प्रयास गरेका थिए । तर, सबैतिर असफल भए पछि विवेक मानसिक रुपमा कमजोर बन्दै गएका थिए । विवेककै अध्ययनका लागि उनका अभिभावकले वैंकबाट तथा गाउँघरबाट ३५ लाख रुपैयाँ ऋणसमेत लिएको थियो ।

आफू बेरोजगार भए पछि ऋण तिर्न नसकेर घरमा नै बस्नु परेका कारण पनि विवेक तनावमा रहेको परिवारले जनाएको छ । यसअघि मुगुका गणेश नेपाली र काठमाडौंको बुद्धनगरमा व्यवसायी अश्विन राउतको पनि आफैँमा आगो लगाएर निधन भएको थियो ।

प्रतिक्रिया