निगौल गौशाला प्रकरण : नगर प्रहरी पक्राउ परेपछि नगरपालिका नै ठप्प !

महोत्तरी । स्थानीय सरकारसँग समन्वय नै नगरी नेपाल प्रहरीले नगर प्रहरीलाई पक्राउ गरेको र उनीहरूलाई रिहा नगरेसम्म नियमित प्रशासनिक कामकाज सञ्चालन नगर्ने अडान लिएपछि महोत्तरीको गौशाला नगरपालिकाको कामकाज ठप्प बनेको छ ।

गत मंगलबार निगौल गौशालाकी प्रमुख कान्तिकुमारी पाण्डेमाथि हातपात तथा दुव्र्यवहार गरेको आरोपमा गौशाला नगरपालिकाका ८ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । त्यसयता नगरपालिकाको नियमित सेवा प्रभावित भएको छ ।

विवादको सुरुआत संघीय सरकारअन्तर्गत रहेको नेपालकै जेठो निगौल गौशालाको जग्गामा ढल निकास निर्माण गर्ने विषयबाट भएको हो । गौशालाको जग्गा अतिक्रमण हुने भन्दै निर्माण रोक्न पुगेकी प्रमुख पाण्डेमाथि नगर प्रहरीले दुव्र्यवहार गरेको आरोप लागेको छ । घटनाको भिडियोसमेत सार्वजनिक भएको छ ।

भिडियोमा नगर प्रहरी आक्रामक रूपमा पाण्डेतर्फ अघि बढेको र गौशालाका कर्मचारीहरूले उनलाई नगर प्रहरीको नियन्त्रणबाट छुटाएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि पाण्डेले प्रहरीमा जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा ८ नगर प्रहरी पक्राउ परेका हुन् ।

घटनापछि महोत्तरीको राजनीतिक वृत्तमा पनि बहस सुरु भएको छ । यसअघि मेयर–उपमेयर विवादका कारण चर्चामा आउने गौशाला नगरपालिका अहिले स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको दाबी गर्दै नेपाल प्रहरीको कदमको विरोध गरिरहेको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ५६, धारा ५७, अनुसूची–८ र धारा २३२ को मर्मविपरीत स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको उल्लेख गर्दै पक्राउ प्रक्रियाप्रति आपत्ति जनाएको छ । घटनालाई लिएर राजनीतिक दलहरूबीच पनि मत विभाजित भएको छ ।

नेकपाका नेता विष्णु योङजनले संघीयताको मर्मविपरीत नेपाल प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने नागरिकलाई सेवा प्रवाह नै रोक्ने गरी नगरपालिका बन्द गर्नु उचित नभएको भन्दै विज्ञप्तिमार्फत असहमति जनाएको छ ।

अन्य पालिकामा पनि असर

गौशाला नगरपालिकाको घटनाको प्रभाव अन्य स्थानीय तहमा पनि देखिएको छ । भंगाहा नगरपालिकाका कर्मचारीहरूले संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै स्थानीय सरकारसँग समन्वय नगरी नगर प्रहरीलाई पक्राउ गर्नु गलत भएको बताएका छन् । उनीहरूले नेपाल प्रहरीको हस्तक्षेपको भत्र्सना गरेका छन् ।

घटनाले शिक्षा क्षेत्रमा पनि असर पारेको छ । प्यावसन र एनप्यावसन गौशालाले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । निजी विद्यालय सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयको पठनपाठन भने प्रभावित भएको छ ।

विवादको केन्द्रमा रहेको ढल निकास निर्माण योजनाविरुद्ध निगौल गौशालाकी प्रमुख कान्तिकुमारी पाण्डेले जनकपुर उच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा सुनुवाइ गर्दै अदालतले कित्ता नम्बर ८२, ८३ र ८४ गौशालाको जग्गा रहेको र समन्वयबिना ढल निर्माण गर्दा अपूरणीय क्षति पुग्न सक्ने भन्दै ती स्थानमा कुनै पनि संरचना निर्माण नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

असार १७ गते जारी भएको उक्त आदेश कायम रहेकै अवस्थामा नगरपालिका नगर प्रहरीसहित निर्माणस्थल पुगेपछि झडपको अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।

गौशाला–१ का स्थानीय रामनरेश महतोका अनुसार यसअघि पनि उपमेयरले दायर गरेको मुद्दामा अदालतबाट जारी भएका अन्तरिम आदेशको बेवास्ता गर्दै नगर प्रमुखले कानुनी प्रक्रियालाई चुनौती दिँदै आएका थिए । यद्यपि, गौशाला नगरपालिकाले भने ढल निर्माण योजना स्थानीय विकासका लागि आवश्यक रहेको र यो नगरपालिकाको अधिकारभित्रको काम भएको बताउँदै आएको छ ।

प्रतिक्रिया