
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधि लिन आउने सेवाग्राहीहरूले दैनिक सास्ती भोग्नुपरेको छ । यहाँ स्वास्थ्य बिमाअन्तर्गत औषधि लिन सेवाग्राहीको दैनिक भीड देखिन्छ ।
अस्पतालमा नाम दर्ता गराउनेदेखि लिएर चिकित्सकको जाँचपछि औषधि बुझ्नेसम्मको हरेक प्रक्रियामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यताका कारण बिरामीहरूको समय लाइनमै बित्ने गरेको हो ।
नाम दर्तादेखि औषधि वितरण कक्षसम्म पुगेर सेवा लिन न्यूनतम ४० मिनेटभन्दा बढी कुर्नुपर्ने अवस्था रहेको भन्दै सेवाग्राहीहरूले अस्पतालको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । लगातार दुई दिन सार्वजनिक बिदा परेका कारण अस्पताल खुल्ने बित्तिकै बिमा गराउनेहरूको अत्यधिक भीड बढेको अस्पताल प्रशासनको दाबी छ ।
पश्चिम नेपालकै प्रमुख उपचार केन्द्रका रूपमा रहेको यस लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल र आसपासका मात्र नभई १७–१८ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गर्छन् । अस्पतालको दैनिक तथ्यांक अनुसार यहाँ झण्डै २ हजारभन्दा बढी सेवाग्राहीले ओपिडी सेवा लिँदै आएका छन् ।
बिरामीको अत्यधिक चापको तुलनामा जनशक्ति र औषधि वितरण काउन्टर सीमित हुँदा सेवाग्राहीले दैनिक रूपमा सास्ती खेप्नुपरेको गुनासो गरिरहेका छन् ।– तस्विर प्रदीप आचार्य, नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया