
पछिल्लो समय मानिसको जीवनशैली फेरिएको छ । व्यस्त जीवनलाई सरल बनाउन तयारी पोसाकले साथ दिएजस्तै खानामा पनि तयारी खानाले मान्छेको जीवनलाई सरल र सहज बनाउने ठानिन्छ । यद्यपि मान्छेको रोजाइमा रैथाने खाना र बालीप्रति भने चासो बढ्दै छ । तर, हिजो जस्तो हलो कोदालो गरेर उत्पादन भएका अन्न भने खान पाइँदैन । रैथाने बालीमा आधुनिकताले हस्तक्षेप गरेको छ । कोदालीले खनेर कोदो रोप्ने र हलोले जोतेर फापर छर्ने भेटिन गाह्रो छ । यी सबै काममा आधुनिकताले ढाकेको छ ।
स्वादका पारखीहरूका कारण रैथाने खानाको माग बढ्दो छ । उत्पादनमा जाँगर घटे पनि रैथाने खानाको रोजाइ भने बढ्न थालेको पाइन्छ । जानेर वा नजारेर कोदो फापरको ढिँडो सामान्य घरका भान्सादेखि होटलमा समेत पाक्न थालेका छन् । तर, हामीले खोजी खोजी खाने रैथाने खानामा पहिलाको जस्तो स्वाद भने पाइन्न । पछिल्ला दिनमा रैथाने अन्नमा रासायनिक मल र विषादीको प्रयोग नभएको भन्न सकिन्न । आधुनिक मेसिनको प्रयोग खेतीमा हुन थालेको छ । अझ त्यसको कुटानी पिसानी पनि आधुनिक हुँदै छ । जाँतो र घट्टमा पिसेको पिठो पाइन्न ।
कोदो, फापर र चिनो जस्ता रैथाने बालीमा पहिले प्रांगारिक मलबाहेक अरू कुनै पनि बजारिया मल हाल्ने चलन थिएन । र पनि उति बेला फल राम्रो हुन्थ्यो । अहिले भने, रसायनिक मलको प्रयोगले उत्पादन बढे पनि स्वाद र पौष्टिकता भने घटेको पाइन्छ । किसानलाई पनि खेतीपातीमा कीरा देखिन थालेपछि चिन्ता छ । अझ उत्पादन भएका अन्नको प्रशोधनमा प्रयोग हुने मेसिन र औजारले झन् त्यसको पौष्टिता घटाएको छ ।
खाना पेट भर्नका लागि मात्रै कि पौष्टिकताका लागि पनि ? भन्ने प्रश्न उठ्ने गर्छ । हरेक मान्छेका लागि जीवन जिउन खाने आहार, शारीरिक कार्यहरू÷शारीरिक सक्रियता, मनमा आउने÷ल्याउने विचार तथा सामाजिक व्यवहार पर्दछन् । अझ मान्छेको स्वस्थ जीवनका लागि स्वस्थ्य खाना उत्तिकै महत्वपूर्ण छ । तर बढ्दो आधुनिकतासँगै अन्नको प्रशोधनले रैथाने मानेर खाएको खानाको रूप रैथाने भए पनि त्यसको गुण भने रैथाने नभएको पाइन्छ ।
पाइन त बजारमा कोदोदेखि फापरका केक, बिस्कुटदेखि पाउरोटीसम्म पाइन्छ । अझ मःम, नुडल्स जस्ता परिकार पनि कोदो फापरको पाइन्छ । नयाँ खालका खाना नयाँ पुस्ताका लागि रोजाइमा पर्ने गरेको छ । तर, ती खानामा हाम्रा बाबुबाजेले खाएको जस्तो रंग भए पनि स्वाद र गुण भने भेटिन्न । अन्न मात्रै होइन, हिमाली जिल्लामा फल्ने फलमा समेत नाम मात्रैको अर्गानिक भेटिन थालेको छ । जैविक मलको प्रयोग हुन छाडेपछि मनाङ मुस्ताङमा फल्ने स्याउ पनि अर्गानिक पाइन्न । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुने यी स्थानमा जलवायु परिवर्तनको असरका कारण स्थानीय जातको स्याउ पाउनै मुस्किल भएको स्थानीय बताउँछन् । स्थानीय स्याउ बिक्री तथा विभिन्न परिकार बनाउने गरिएको भए पनि अहिले उत्पादन घट्दा विकासे (हाइब्रिड) स्याउ लगाएको प्रशस्त देखिने गरेको छ ।
स्थानीय प्रजातिको अन्न र फलमा पुरानो स्वाद अहिले नपाइने स्थानीय बताउँछन् । स्थानीय जातकै स्याउका दानाको पनि आकार घटेको पाइन्छ । फापरको मिठास, करु, गहुँ, कोलु बोडीको दानाको समेत स्वाद घटेको स्थानीयको गुनासो छ । जलवायु परिवर्तको असरका कारण पहिलाको जस्तो हिउँ समयमा पर्दैन, ती स्थानमा पानीको काम हिउँले गर्ने हो । पर्दा पनि बेमौसममा पर्न थालेको छ । यसरी मौसमका कारण उत्पादन र किसानको समेत समय चक्र फेरिएको छ । जसका कारण नामका अर्गानिक, रैथाने भए पनि स्वाद र गुणमा त्यस प्रकारका पाइन्न ।
अहिले नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने खाद्य बस्तुका लागि यस्त समस्या साझा बनेका छन् । हिजोका दिनमा यहाँका किसानहरू प्रकृतिको लयसँगै बाँच्थे । हिउँ र वर्षाको निश्चित चक्र थियो, जसले माटोलाई भित्रैदेखि भिजाउँथ्यो र पोषणयुक्त बनाउँथ्यो । तर अहिले प्रकृतिको त्यो लय बिग्रिएको छ । त्यसैले किसान उत्पादनमा घाटा चाहँदैन । लगानी गरेपछि त्यसको प्रतिफल खोज्नु अस्वाभाविक होइन । त्यसैले उनीहरूका लागि लगानीमा प्रतिफल खोज्न आधुनिकतासँग जोडिनु बाध्यता भएको छ ।
नेपालका पहाडी र हिमाली जिल्लामा पहिले प्रांगारिक मल प्रयोग हुन्थ्यो, रासायनिक मल वा विषादी हाल्ने चलन थिएन । र पनि अन्न र फल राम्रो हुन्थ्यो । अहिले भने, बिउ हाइब्रिड, मल रसायनिक, अझ कीरा मार्ने विषादी प्रयोग हुँदा उत्पादन धेरै भए पनि स्वाद र पोषिलो भने पाइन्न । त्यसैले ती स्थानमा फल्ने अन्न बाली नामका रैथाने र अर्गानिक भनिए पनि तिनको गुण भने रैथानेमा हुने जस्तो पाइन्न ।
हिमाली क्षेत्रमा विषादीको प्रवेश हुनु आफैँमा एउटा गम्भीर समस्या हो । चिसो हावापानीमा किराको प्रकोप कम हुने विश्वास हिजोका दिनमा थियो तर तापक्रम बढेसँगै नयाँ–नयाँ रोग र कीरा हिमाल र पहाडका पाखाहरूमा प्रवेश गरेका छन् । तिनबाट जोगाउनका लागि रासायनिक मल र विषादीको सहयोग लिन किसान बाध्य छन् । चाहेर पनि रैथाने अन्नमा रैथानेपन दिन सकेका छैनन, हिमालका किसान ।
रैथाने अन्न र स्याउले धानेको हिमाली जिल्लामा पछिल्लो समय गोलभेँडा, काउली, बन्दा, फर्सी, प्याज, लसुन, साग, मुला, गाजरलगायतका तरकारीको उत्पादन हुन थालेको छ । विज्ञहरू यसलाई जलवायु परिर्वतको प्रभाव भन्छन्, ।
हिमाली जिल्लाका रैथाने बालीका रूपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा नगन्य मात्रामा मात्र खेती गर्ने गरेको पाइन्छ । कतिपय स्थानमा भने रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेका छन् । उच्च हिमाली भेगमा हुने यस्ता बालीहरूले त्यहाँको विशिष्ट पहिचान बोकेका हुन्छन् तर ती लोप हुनु भनेको मौलिकता हराउनु हो ।
हिमाली जिल्लामा उत्पादन हुने रैथाने बालीको स्वादमा परिवर्तन आएको किसानको अनुभव छ । गर्मी बढेसँगै खेतीबालीको स्वाद र गुणस्तर नै फेरिएको किसानका बुझाइ छ । स्याउ, आलु, फापरलगायतका कृषिउपजको स्वाद र गुणस्तर नै फेरिए महसुस उनीहरूले छ । पहिलेको जस्तो स्वाद स्थानीय उत्पादनमा पाइँदैन । हिउँले माटोलाई चिस्यान मात्र दिँदैन, यसले माटोभित्रका हानिकारक तत्वहरूलाई निष्क्रिय बनाउन पनि मद्दत गथ्र्यो । तर, अहिले हिउँ बेला कुबेला पर्न थालेको छ ।
तापक्रम, वर्षा र माटोको अवस्थाले बालीको रासायनिक संरचनामा असर पार्न बिज्ञ बताउँछन् । यसले स्वाद, पोषण र गुणस्तरमा परिवर्तन ल्याउन सक्ने बताइन्छ । त्यसैले हिमाली स्थान जहाँ पोषणले भरिपूर्ण रैथाने बाली फल हुन्थ्यो त्यहाको खेती प्रणालीका विषयमा विस्तृत अध्ययन आवश्यक भएको विज्ञ बताउँछन् । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले गर्दा स्थानीय जातहरू लोप हुने अवस्थामा पुगेको छ । किसानहरूले बढी उत्पादन लिन उन्नत जातका बिउहरू प्रयोग गर्दा रैथाने जातहरू विस्थापित भएको हो । फापर, कोलु बोडी, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याङ, गहत, खेसरी, भोगे सिमी, सिलाम, झुसेतिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचीकृत गरिएको छ । तर, तिनका स्वाद र तत्व समयसँगै फेरिएको छ ।
अझ त्यहाँ उत्पादन हुने रैथाले अन्नलाई गरिने प्रशोधनको रैथाने पाइन्न । घट्ट, ढिक्की, जाँतोमा कुटेको पिसेको अन्न पाइन्न । आधुनिक मेसिन प्रयोग गरी गरिने प्रशोधनले रैथाने तत्व हराउने विज्ञ बताउँछन् । हेर्दा कोदो, फापर, जौ, उवा जस्ता अन्न पाइए पनि स्वाद र गुण भने नयाँ र आधुनिक भएको विज्ञ बताउँछन् । रैथाने अन्न र फल हराउँदै गएकोमा भने विज्ञको चिन्ता छ ।
०००
पहिलाको जस्तो रैथाने पाइन्न, रैथाने खानामा त्यसको गुण हराएको छ : डा. उमा कोइराला, पोषणविद्

समयसँगै किसानको उत्पादन प्रणाली पनि फेरिएको छ । पहिला मान्छे आफ्नो लागि मात्रै खेतीपाती गर्थे । अहिले आफ्नालागि मात्रै होइन, अरूका लागि पनि व्यवसायी खेती गर्न थाले । जब मान्छे व्यवसायी बन्छ, त्यहाँ नाफा घाटाको कुरा हुन्छ । त्यसैले हिमाली पहाडी जिल्लामा पहिला पाइने रैथाने जातका अन्न पनि आधुनिक हुन थालेको छ । खेती लगाउनेदेखि त्यसलाई प्रशोधन गरेर बजारसम्म पु¥याउने काममा आधुनिकता भित्रिएको छ । परम्परागत रैथाने बालीको उत्पादन निकै कम हुन्छ ।
खेती लगाउँदा प्रांगारिक मलले नपुग्ने भएको छ । कीरा मार्न गाईको गहुँतले काम गर्न छाडेको छ । प्रांगारिक मलको ठाउँ रासायनिक मल र कीरा मार्न विषादीको प्रयोग हुन थालेको छ । पहिला पहिला तराइमा खेती गर्दा रासायनिक मलको प्रयोग हुन्थ्यो । पहाड र हिमालको तुलनामा तराईमा उत्पादन बढी हुन्थ्यो । तर अहिले रासायनिक मल र विषादी हिमाल पहाडका गह्रा, कान्लामा पुगेको छ । अनि हामीले त्यही पुरानो रैथाने अन्नको रूप पाए पनि स्वाद पाउन सक्दैनौँ ।
यसमा जलवायु परिवर्तको पनि प्रभाव छ । हिमालमा सबै प्रकारका अन्न तरकारी फल्न थाल्यो । किसानले पहिला आफूलाई चाहिने अन्न, तरकारी र फलफूलको बिउ आफैँ राख्थे । अहिले ती बिउबाट उत्पादन हुन छोड्यो । हरेक सिजनमा बिउ किन्नुपर्ने त्यो पनि धेरै उत्पादन कुन हुन्छ त्यही रोजाइमा पर्छ । त्यसरी ल्याइएको बिउबाट रैथाने भनिएको अन्न वा फल पाउन कठिन छ । किसानलाई पनि बाध्यता छ । मल बिउ किनेर खेती गरेपछि त्यसको लगानी उठाउनै प¥यो ।
रैथाने भनेर उत्पादन भएका अन्नहरूको प्रशोधनमा गडबढी छ । चामल आवश्यकताभन्दा बढी फल्ने (चामलको बाहिरी भाग खुर्केर फाल्ने) गरिन्छ । फापर, कोदो, जहुँ जस्ता अन्न आधुनिक मेसिनमा पिस्ने, त्यो पनि धेरै फलेर पिस्ने गरेको पाइन्छ । यसले ती अन्नमा रहेको पोषण तत्व र हामीले बुझेको रैथानेको गुण कमजोर हुन्छ । ती अन्नहरू च्याख्ला बनाएर वा कम फलेर खान पाइयो भने, त्यसमा भएको गुण नष्ट हुँदैन । तर, पिठो पिस्दा आवश्यकताभन्दा बढी बोक्रा फल्नु हुँदैन ।
हाम्रोमा भ्रम छ, धेरै फलेको अन्न राम्रो भन्ने । हुन त त्यसरी बनाएको चामलको भात नरम हुन्छ । तर, त्यसमा भएको पोषण तत्व भने भुसमा जान्छ । पछिल्लो समय मान्छे व्यवसायी भएको छ । चामल, गहुँ धेरै फल्दा भुसा आउने, त्यसको दाना बनाउन पैसा आउने भएर मान्छेको ध्यान त्यता गएको पाइन्छ । कसरी धेरै नाफा लिनेभन्दा पनि बढी प्रशोधनले अन्नमा भएको पोषण तत्व नष्ट भएको पाइन्छ । पहिलाको जस्तो ढिक्की, जाँतो र घट्टमा गरिएको कुटानी पिसानीमा भन्दा आधुनिक मेसिनमा गरिएको कुटानी पिसानीमा धेरै ढुटो निस्कन्छ । त्यसैले हामीले रैथाने भनेर खाइरहेको अन्नमा रैथानेको रूप भए पनि गुण भने पाइन्न । पहिला पहिला पाइने रैथाने अर्गानिक अहिले पाइन्न ।
पहिला पहिला भुस अहिलको जस्तो बिक्री हुँदैन थियो । अहिले दानाका लागि भुसको बजार फराकिलो भएको छ । त्यसकारण मान्छेको ध्यान कसरी धेरै कमाउने भन्ने छ । भुस धेरै निकाले पनि अन्नको मात्रा खासै घट्दैन । दुई तिरबाट नाफा कमाउनका लागि प्रशोधन धेरै गर्न थालियो । अर्को कुरा सफा र नरम धेरै मान्छेको रोजाइ पर्ने गरेको छ । दोष जिब्रोको पनि हो । जिब्रोको रोजाइ मान्छेको प्राथमिकतामा पर्ने गरेको छ । व्यवसायीका लागि आफ्नै नाफाको चिन्ता हुँदो रहेछ । बुझ्नुपर्ने कुरा के हो भने, रैथाने होस् वा अरू अन्नमा भएको बोक्रा धेरै फाल्दा त्यसमा भएको पोषण तत्व नष्ट हुन्छ ।
प्रतिक्रिया