श्रीमती ईश्वरी भुजेलको हत्या गर्ने नेपाली ब्रो र उनकी प्रेमिका प्रतीक्षा आचार्य पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ईश्वरी भुजेल हत्याका अभियुक्त उनका श्रीमान नेपाली ब्रो भन्ने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले थुनछेक आदेश गर्दै दुई जनालाई थुनामा पठाउने र दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरूसँगै पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

गत जेठ २२ गते राति कुमारले चक्कु प्रहार गरेर ईश्वरीको हत्या गरेका थिए । ईश्वरी नेपाली सेनाकी जमदार हुन् । त्यसदिन उनी जागिरबाट घर फर्किँदै थिइन् । उनी नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटीमा कार्यरत थिइन् ।

ईश्वरी र कुमारको सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । ईश्वरीले सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दायर गरे पनि कुमारले मानेका थिएनन् । जिल्ला अदालत काठमाडौंले त्यसलाई मेलमिलापका लागि पठाइदिएको थियो । अदालतले मेलमिलापमा पठाएको दुई दिनपछि ईश्वरीको हत्या भएको थियो ।

कुमार र ईश्वरीबिच केही वर्ष पहिलेदेखि नै विवाद देखिएको थियो । प्रहरीका अनुसार विवादको कारण यही मुद्दाकी सहप्रतिवादी प्रतीक्षा आचार्य देखिएकी छन् । कुमार प्रतीक्षासँग प्रेम सम्बन्धमा थिए ।

यही कारण कुमार र ईश्वरीको झगडा प्रहरी कार्यालयसम्म पुगेको थियो । कुमारले ईश्वरीलाई कुटपिट गर्नुका साथै मानसिक यातना दिएको प्रहरीको निष्कर्ष छ ।

प्रहरी वृत्त बालाजुमा एक पटक र प्रहरी परिसर काठमाडौंमा एक पटक मिलापत्र कागज गराइएको थियो । मिलापत्रमा कुमारले प्रतीक्षालाई छाड्ने र सम्बन्धमा नरहने भनिएको थियो । तर कुमारले उनलाई छाडेका थिएनन् ।

घटना हुनुभन्दा केही समय अगाडिसम्म उनले ईश्वरीलाई अदालतमा दायर मुद्दामा मिलापत्र गर्न दबाब दिइरहेका थिए । तर ईश्वरी त्यसका लागि तयार भएकी थिइनन् । यही कारण कुमारले ईश्वरीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

बयानका क्रममा पनि कुमारले प्रतीक्षासँगको प्रेम सम्बन्ध र ईश्वरीको हत्या गर्ने योजनाबारे खुलासा गरेका छन् । त्यसदिन पनि सुरुमा कुमार घर पुगेका थिए । तर ईश्वरी घर पुगिसकेकी थिइनन् । त्यसपछि कुमार ईश्वरीको हत्या गर्न बाटो ढुकेर बसेका थिए ।

प्रतीक्षा भने त्यतिबेला घटनास्थलमा थिइनन् । तर उनकै कारण घर झगडा भएको र पटक–पटक मिलापत्र गर्दा पनि कुमारबाट अलग नभएको पाइएको छ । उनी कुमारको नुवाकोटस्थित घरमै गएर बसेको पनि खुलासा भएको छ ।

प्रतीक्षासँगको सम्बन्धकै कारण कुमारले ईश्वरीको हत्या गरेको आरोप जाहेरीमा पनि लगाइएको छ । उनका भाइ विक्रम थापा मगरले ईश्वरीलाई तह लगाउन भन्दै उक्साएको आरोप छ ।

त्यसका लागि उनले कति खर्च लाग्छ म दिन्छु भनेको पनि जाहेरीमा उल्लेख छ । उनले कुमार र प्रतीक्षाको अनैतिक सम्बन्ध बारे थाहा पाए पनि त्यसलाई सल्टाउनको सट्टा प्रश्रय दिएको जाहेरीमा आरोप लगाइएको छ ।

पुजन थापा क्षेत्री धनेश्वर अटो मोबाइल्स प्रालिका सञ्चालक हुन् । उनले कुमार र प्रतीक्षालाई भेटघाट गराउने र कुमारलाई यो घटना घटाउने कार्यका लागि प्रोत्साहन गरेको आरोप छ । यो कसुरमा कुमारलाई जन्मकैदको सजाय माग गरिएको छ। अरु तीनजनालाई दुरुत्साहनको कसुरमा सजाय माग गरिएको प्रहरीले जनाएको छ ।
.

प्रतिक्रिया