भयावह बन्दै बालबालिकामा दमको समस्या

प्रदूषण र बदलिँदो जीवनशैलीको असर

रोगले उमेर, उसको आर्थिक अवस्था हेर्दैन । जुनसुकै उमेरका मान्छेलाई कुनै पनि रोग लाग्नु सामान्य जस्तै भएको छ । केही समय अघिसम्म कैयौँ दीर्घरोग पाका मान्छेलाई लाग्थ्यो । तर, अहिले दीर्घरोगहरूले साना केटाकेटीलाई पनि झम्टन थालेको छ । पछिल्लो समय बच्चाहरूमा देखिने सबैभन्दा बढी दीर्घकालीन समस्या मध्ये एक हो दम (आस्थमा) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा करिब ३० करोड जनसंख्यामा आस्थमाको समस्या छ । त्यसमा सबैभन्दा बढी संख्या बच्चाको रहेको पाइन्छ । बालबालिकामा हुने आस्थमालाई बाल दम पनि भनिने गरिन्छ । विज्ञका अनुसार ठुला व्यक्तिमा हुने दम र बालबालिकामा हुने दम फरक हुन्छ ।

आस्थमाका रोगीको संख्या वृद्धि हुनुको कारण मध्ये एक हो, यसको उपचार तथा रोकथामबारे सचेतनाको कमी । यसबारे सचेत गराउन हरेक वर्ष विश्वभर ‘आस्थमा डे’ मनाउने पनि गरिन्छ । तर, समस्या भने, बढदो छ । अस्थमाबाट हुने मृत्युदर घटाउन ग्रामीण र विकट क्षेत्रहरूमा दमबारे जानकारी र उपचारको अभावलाई सहज बनाउन जरुरी छ ।

एउटा समय थियो, आस्थमा वा दम पाका मान्छेमा मात्रै हुन्छ भन्ने । हुन पनि धेरैजसो पाका मान्छेमा यो रोगको समस्या रहेको पाइन्थ्यो । तर, अहिले भने जन्मँदै रोग बोकेर धर्तीमा पदार्पण गर्ने अवस्था बढ्दो छ । शिशुसँगै जन्मने र हुर्कने कतिपय दीर्घ रोगका कारण रोगी र उनको परिवारलाई ठुलो समस्या पार्ने गरेको छ । अझ एकपटक लागेपछि नछोड्ने यस प्रकारका रोगले निकै सास्ती दिने गरेको छ ।

००००

के हो बाल दम ?

विज्ञका अनुसार बाल दम बालबालिकामा हुने एक दीर्घकालीन श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । यसले श्वासनलीमा पार्ने असरले सुन्निने र साँघुरो बनाउने गर्छ । यसले कतिपय अवस्थामा सास फेर्न गाह्रोसमेत पार्छ । खोकी लागेर छातीमा चाप महसुस हुन्छ । लामो समयसम्म यसको उपचार भएन भने श्वासनली बिग्रँदै जाने, फोक्सोका भागहरू खुम्चिने, फोक्सोको संक्रमण जस्ता जटिलता आउन सक्छ । दमको आक्रमण अचानक ट्रिगर भएर गम्भीर रूप लिन सक्छ, जसले तत्काल चिकित्सकीय उपचार आवश्यक पर्न सक्छ ।

कारणः धुलो, धुवाँ, परागकण, जनावरको रौँले पनि आस्थमालाई बढवा दिन्छ । सहरी क्षेत्रको प्रदूषित हावाले आस्थमाको जोखिमलाई थप बढाउँछ । अहिले प्रदूषणको प्रकोप बढिरहको बेलामा गाउँको भन्दा तुलनात्मक रूपमा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा दमको बिरामी बढ्ने देखिन्छ । त्यसैगरी, चुरोटको धुवाँले झन् गम्भीर असर गर्छ । चुरोटको धुवाँले वायुमार्गमा पोल्ने र अवरोध पैदा गर्छ । गर्भावस्थामा धूमपान गर्ने आमाबाट जन्मिएका बच्चामा आस्थमाको जोखिम बढी हुन्छ । बाल्यकालमा बारम्बार हुने श्वासप्रश्वास संक्रमणले दीर्घकालीनरुपमा आस्थमा निम्त्याउन सक्छ । अर्कोकुरा परिवारमा कसैलाई दम छ भने, बच्चामा यो रोग हुने सम्भावना ३ देखि ६ गुणा रहने विज्ञ बताउँछन् । यो वंशानुगत रोग भएकाले पनि बच्चामा यसको असर बढी हुन सक्छ ।

०००

बढ्नुको कारणः पछिल्ला अधिकांश अध्ययनले बालबालिकाहरूमा आस्थमाको समस्या तीव्र रूपमा बढ्दै गएको देखाएका छन् । धुलो, वायु प्रदूषण र चुरोटको धुवाँजस्ता एलर्जी निम्त्याउने तत्वहरूसँग बालबालिका सम्पर्कमा रहनु प्रमुख कारण हो । यसकासाथै, बाल्यकालमा रोगप्रतिरोधी क्षमतको कमीले पनि यो समस्यालाई बढावा दिएको छ । प्रतिरोधी क्षमता कम हुँदा पनि यो समस्या देखिन्छ । अध्ययनले देखाए अनुसार पछिल्लो समय बालबालिकालाई पर्याप्त समय स्तनपान गराउने प्रवृत्ति घट्दो छ । स्तनपानको दरमा कमी आउँदा बच्चालाई पर्याप्त पोषण नपुगेर रोगप्रतिरोधात्मक प्रणाली कमजोर हुँदै जानुले पनि दमको जोखिमलाई थप बढाएको छ ।

जोखिमका कारकः व्यापक प्रदूषण, एलर्जी, कम तौलमा जन्मिनु, गर्भमा रहँदा वा जन्मिसकेपछि सुर्तीजन्य पदार्थयुक्त वातावरणमा बढी रहनु । परिवारमा कसैलाई यो समस्या पहिले नै थियो भने पनि सन्तानमा हुने जोखिम हुन्छ ।


लक्षण : दमका लक्षणहरू सामान्यदेखि गम्भीरसम्म हुन सक्छन् । गम्भीर देखिए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने विज्ञ बताउँछन् ।

सामान्य हिँडडुल गर्दा पनि सास फुल्ने समस्या ।

छातीबाट घ्यार घ्यार आवाज आउनु ।

इनहेलर (औषधि भित्र पु¥याउने उपकरण) प्रयोग गर्दा पनि सुधार नहुनु ।

छातीमा असहज अनुभव हुनु वा मांसपेशी खुम्चिनु ।

अत्यधिक पसिना आउनु ।

अनुहार, ओठ वा नङ निलो हुनु ।

चिकित्सकले शंका लागेमा केही थप परीक्षण गर्न सुझाव दिन सक्छन् । जस्तो फोक्सोको कार्य परीक्षण । यी परीक्षणहरूले बच्चाको फोक्सोमा हावाको मात्रा र उनीहरूले कति छिटो सास फाल्न सक्छन भनेर मापन गर्छ । यसबाट आएको रिर्पोटले बच्चाको आस्थमाको गम्भीरता निर्धारण गर्न चिकित्सकलाई मद्दत गर्छ । त्यस्तै एलर्जी छाला परीक्षण र रक्त परीक्षणले कुनै एलर्जीले पो बच्चाको रोगप्रतिरोधी प्रणालीमा प्रतिक्रिया निम्त्याइरहेको छ कि ? भनेर पहिचान गर्न मद्दत गर्छ ।

त्यसैगरी दमले छातीमा समस्या पनि देखिन सक्ने सम्भावितका लागि छातीको एक्स–रे लगायत अन्य इमेजिङ परीक्षण गरिन्छ । वयस्क वा ज्येष्ठ नागरिकको जस्तो बच्चामा भने पल्मोनरी कार्य परीक्षण गर्न नसकिने विज्ञ बताउँछन् । विज्ञका अनुसार आस्थमाको औषधि प्रयोग गरेर बच्चाले कति राम्रो प्रतिक्रिया दिन्छ भनेर परीक्षण गर्नुपर्ने हुनसक्छ ।

००००

उपचार

दम पूर्णरूपमा निर्मूल हुने रोग होइन । यसको उपचार भनेको उचित व्यवस्थापनले यसलाई नियन्त्रण गर्नु मात्र हो । चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा ‘इन्हेलर’ प्रयोग गर्नाले श्वासनली सुन्निएको र साँघुरिएको छ भने यसलाई फुकाउन र सुन्निएको कम गर्न मद्दत गर्छ ।

यसैगरी ‘रिलिभर’ एकदम गाह्रो भएको बेलामा तुरुन्तै आराम दिने औषधि हुन्छ भने अर्को लामो समयसम्म श्वासप्रश्वास नलीमा सुन्निने समस्या कम गर्ने औषधि उपयोग गर्न सकिन्छ । यसमा खाने औषधिको धेरै साइड इफेक्ट हुने भएकाले बढीजसो सिधै श्वासनलीबाट लिने औषधि प्रयोग गरिन्छ । केही बच्चामा वर्षमा एकपटक दम हुन्छ भने खाने औषधिले काम गर्दछ हुन्छ । तर, घरीघरी गम्भीर रूपमा बिरामी हुने बच्चामा श्वासप्रश्वासको माध्यमबाट औषधि पनि दिनुपर्छ ।

दम रोगबाट बच्न धुलो, धुवाँ, चिसो हावा वा एलर्जी गराई ट्रिगर गराउने तत्व पहिचान गरी टाढा रहनु महत्तवपूर्ण छ । ट्रिगरहरू पहिचान गर्न चिकित्सकसँग परामर्श लिन सकिन्छ । यसका साथै नियमित व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन र धूम्रपानबाट टाढा रहनाले दमलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यसैले हामीले आफ्ना आहार र व्यहावहारलाई ठिक राख्नुपर्छ ।

विज्ञका अनुसार कतिपय दमको समस्या भएका व्यक्तिले सधैँभरी औषधि प्रयोग गरीरहनु पर्दैन । केही समयको नियन्त्रणपछि यो निको हुने सम्भावना हुन्छ । ५ वर्षभन्दा सानो उमेरमा देखिएको दम ५ वर्षपछि कम हुन्छ । औषधिले नियन्त्रण गरेमा कम हुँदै जाने र निको हुने सम्भावना हुन्छ । तर यी सबै कुरामा मानिसको जीवनशैली कस्तो छ ? भन्ने कुरा महत्वपूर्ण रहन्छ । यदि लापरवाही गरियो, खानापानमा ध्यान दिइएन र दम बढाउने खालका आहारविहार जारी राखेमा यसले छुटकारा दिनेभन्दा जीवन नै समाप्त पार्न सक्छ ।

००००

बालबालिकामा दम : वातावरण र जीवन शैली सुधार्नुपर्छ – डा.गणेश कुमार राई, निर्देशक, कान्ति बाल अस्पताल

डा.गणेश कुमार राई, निर्देशक, कान्ति बाल अस्पताल

दम(आस्था) भनेको पहिलो कुरा वंशाणुगत रोग हो । यसका साथै दम हुनमा वातावरणले धेरै असर पार्छ । वंशाणुगतका साथै वातावरणले पनि दममा असर पार्दे लैजान्छ । पहिला पहिला त दम भन्न पनि गाह्रो थियो । तर, अहिले यसका पनि नयाँ नयाँ औषधि आएकाले उपचारमा सहज भएको छ ।

पहिला पहिला दम भनेको पाको उमेर भएकालाई मात्रै लाग्छ भन्ने थियो । तर त्यस्तो होइन, दम बंशानुगत भएकाले पनि साना साना बालबालिकामा पनि देखिने क्रम बढ्दो छ । तथ्यांक अनुसार प्रत्येक १० वर्षमा ५० प्रतिशतले र प्रत्येक ३० वर्षमा त्यसको दोब्बर दमको रोग बच्चामा भइरहेको छ भन्छ । पहिला बच्चाले घ्यार घ्यार गर्छ भन्थे । त्यसको उपचार गरेर पठाउने गरिन्थ्यो । धेरैजसो घ्यार घ्यार गर्ने बच्चालाई दमको समस्या हुन्छ ।

दम हुनका लागि स्वासको नली खुम्चिएको हुन्छ । रुघाखोकी लागेपछि श्वासको नली खुम्चिन्छ । कतिपयलाई खोकी मात्रै लागेर पनि खुम्चिने वा ज्वरो आएका कारण पनि खुम्चिने हुन्छ । यसमा हाम्रो दुषित वातावरणले पनि दम बनाउन र बढाउन सहयोग गर्छ । गाडीबाट आउने दूषित धुवाँ, डिजल पेट्रोलको गन्धले पनि असर गर्छ । यसका साथै वायुप्रदूषण, घरमा प्रयोग हुने रसायन, लामखुट्टे मार्न प्रयोग हुने धूप वा केमिकलले पनि असर पु¥याउँछ ।

हामीले स्वास्थ्य र पोषणका लागि भनेर खाइरहेको साग, सब्जी र फलफूल स्वच्छ नहुँदा पनि असर पुग्छ । ती खानेकुरामा हुने केमिकलका कारण पनि असर पार्छ । अहिले हामीले प्रयोग गर्ने धेरै कुरा प्राकृतिक छैनन् । अप्राकृतिक खानपान र जीवन शैलीका कारण पनि बालकालिकामा दम रोग बढ्दो छ । यसका साथै विभिन्न प्रकारका औषधि प्रयोगले पनि असर पु¥याउँछ । बालबालिकामा दम बढ्नुका विभिन्न कारणहरू छन् । यसको व्यवस्थापन र उपचार पनि राम्रोसँग भएको अवस्था छैन ।

दम छ भन्दा धेरैले विश्वास गर्देनन् । अहिले पनि बच्चालाई पनि दम हुन्छ र भन्ने धेरै छन् । कतिपय ठाउँमा दमको रोगीलाई निमोनिया भनेर पनि उपचार भइरहेको अवस्था थियो । तर, निमोनिया हुने बच्चालाई दम हुन्छ भन्ने होइन । निमोनिया दमको लक्षणचाहिँ हुन सक्छ । सानोमा निमोनिया भएकालाई दम हुन्छ भन्ने होइन ।

बच्चालाई दम छ भने, उसको बाबुआमालाई दम वा एलर्जी छ कि छैन यकिन गर्नुपर्छ ? नाक बन्द भइरहने, नाक स्याक स्याक गर्ने, आँखा रातो हुने छातीमा कडा महसुस हुने, शरीर चिलाउने, मसिना घाउहरू आउने भयो भने दम हुन सक्छ । मसिना घाउ वा बिबिरा आयो भने घमौरा भन्ने गरिन्छ । तर ती सबै घमौरा नहुन सक्छ । दम र एलर्जी दाजुभाइ हुन भनिन्छ । दम हुनेलाई एलर्जी हुने सम्भावना हुन्छ, एलर्जी हुनेलाई दम ।

यसबाट बच्न सबैभन्दा पहिला व्यक्तिगत रूपमा सुरक्षित राख्नु पर्छ । त्यसका लागि वातावरण सफा हुनपर्छ । अर्को भनेको दम गराउने चिज घरमा हुन्छन्, तिनलाई नियन्त्रण गर्नुपर्छ । जस्तो राडी, गुन्द्री, पाखी, कम्बल राख्ने गरिन्छ । दम एलर्जी हुने गरेमा यी कुरा राख्नु हँुदैन । यसका साथै, घरमा शृंगारका सामानले पनि असर पार्छ । लामखुट्टे मार्न प्रयोग हुने धूप वा केमिकलले पनि दमलाई असर गर्छ । घरमा कुकुर बिरालो पाल्दा पनि त्यसले असर गर्छ । धुवाँ, धुलो र गन्ध आउने बस्तुले पनि दमलाई असर गर्छ ।

अहिले सबैको घरमा हुने साङलाले पनि दमलाई धेरै नै असर पार्छ । साङला धेरै नै एलर्जी गर्ने चिजमा पर्छ । यसका साथै मुसा, छुचुन्द्रोको गन्धले पनि एलर्जी गराउँछ । घरमा भएका पर्दामा धुलो हुन भएन, यी यस्ता कुरामा ध्यान दिनपर्छ । चुरोट, बिँडी खैनी जस्ता बस्तुबाट टाढा रहनुपर्छ । घरमा यी बस्तु प्रयोग भएमा त्यसले बच्चालाई धेरै असर पु¥याउँछ । धूमपान गरेको मान्छेले दम वा एलर्जी भएका बच्चालाई २–३ घण्टा पछि भेट्दा पनि असर पु¥याउँछ । यी यस्ता कुराबाट टाटा भएमा दमबाट धेरै हदसम्म बच्न सकिन्छ ।

खानपानले पनि दम रोकथाममा सहयोग गर्छ । माथि भनिएका कुराका साथै जंगफूटबाट बच्ने हो भने, ४०–५० प्रतिशत कम हुन्छ । यसका साथै बाहिर हिँड्दा माक्स प्रयोग गर्नुपर्छ । दूषित वातावरण स्वस्थ्य पार्न सरकारले पनि कडाइ गर्नुपर्छ । वातावरण र जीवनशैली सुधार भएमा कम हुन्छ ।

प्रतिक्रिया