
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले राजश्व छलीसम्बन्धी मुद्दाका फरार एक कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका– १ घर भई हाल काठमाडौँको बौद्ध बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरत कुमार थापा क्षेत्रीका अनुसार लामालाई असार १७ गते बुधबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ५ नारायणटारबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।
गत भदौ २३ र २४ गते तत्कालीन सरकारविरुद्ध गरेको जेनजी आन्दोलन तथा प्रदर्शनको फाइदा उठाउँदै लामा भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुनधाराबाट फरार भएका थिए ।
कारागारबाट भागिसकेपछि काठमाडौंका विभिन्न वडाहरूमा लुकीछिपी बस्दै आएका लामाको बारेमा विशेष सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई फेला पारेको जनाएको छ । पक्राउ परेका लामालाई थप सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुनधारा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया