वायुसेवा निगमको उतारचढाव र पुनरुत्थानको आवश्यकता

राजनीतिक हस्तक्षेप र वित्तीय अनियमितताका कारण संकटमा परेको निगमको पुनरुत्थानका लागि व्यावसायिक व्यवस्थापन, रणनीतिक साझेदारी र पुनर्संरचना अपरिहार्य छ । राष्ट्रिय संकटमा महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रिय ध्वजावाहकको साख जोगाउन सरकारी स्तरबाटै इमानदार प्रयास हुनुपर्छ

हरिगोपाल प्रधान

आजभन्दा ७ दशकपहिले अर्थात् विक्रम सम्वत् २०१५ सालमा स्थापना भएको नेपाल वायुसेवा निगम अहिले निकै कमजोर बन्न पुगेको छ । २०२७ सालसम्मको अवधिमा २ वटा बोइङ ७२७, २ वटा बोइङ ७५७ तथा १२ वटा ट्विनअटर खरिद गरेर दक्षिणपूर्वी एसियाका सशक्त हवाई कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको निगम त्यसको ३ दशकपछिदेखि शिथिल हुन थालेको हो । धेरै नाफामा चलिरहेको निगमलाई राजनीतिकरण गरेर आ–आफ्ना स्वार्थका लागि प्रयोग गरिएका हुनाले स्थापनाकालको ३४ वर्षपछि अर्बौं रुपैयाँ ऋण बोक्नुपरेको छ ।

निगम कमजोर बन्दै गएपछि यसका उडान क्षेत्रहरू कटौती गरिए र जहाजको संख्या पनि घटाइयो । यात्रु संख्या घटेको कारण देखाई युरोपका फ्र्यांकफर्ट, पेरिस र लन्डन तथा ढाका, पटना, माल्दिभ्स, श्रीलंका, कलकत्ता, सिंगापुर, सांघाई, ओसाका र दुबई जस्ता महत्वपूर्ण गन्तव्यका उडानहरू कटौती गरिएका थिए । निगम स्थापना भएको सुरुआती दुई दशकपछि मात्र यसका लागि दुर्भाग्यका दिनहरू सुरु भएका थिए, जसका कारण व्यावसायिक रूपमा राम्रो सम्भावना बोकेका यी उडानहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो ।

सरकारी लगानी ३८ करोड रुपैयाँबाट यात्रा आरम्भ गरेको निगमले आजभन्दा डेढ दशकअघिसम्म पनि आफ्नो लगानी उठाई १५ अर्बभन्दा बढी रकम आर्जन गरेको थियो । त्यस बेला १७ वटाभन्दा बढी अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गरिन्थ्यो भने नेपालभित्रका ४२ स्थानमा हवाई सेवा उपलब्ध गराइएको थियो । तर अहिले केवल ११ वटा अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र उडान सीमित छ र नेपालभित्रका १७ स्थानमा मात्र हवाई सेवा उपलब्ध छ । यसरी निगमको अन्तर्राष्ट्रियतर्फ ७ वटा र राष्ट्रिय उडानतर्फ २५ वटा क्षेत्र कटौतीमा परेका छन् ।

स्थापनाकालको ३१ वर्षपछिदेखि ओरालो लागेको निगमको स्थिति अहिलेसम्म पनि उकालो लाग्न सकिरहेको छैन । पहिले २ वटा बोइङ ७२७ बेचिए । त्यसपछि जहाजको अभावलाई पूर्ति गर्ने बहानामा धमिजा काण्ड, जेटभाडा काण्ड, चाइना साउथ वेस्ट काण्ड, लाउडा काण्ड जस्ता अनेकौँ वित्तीय घोटालाहरू भए । यी काण्डहरूबाट प्राप्त करोडौँ रकमबराबरको सम्पत्ति केही व्यक्तिको निहित स्वार्थमा केन्द्रित भयो, जसले निगमलाई धराशयी बनायो । विमान खरिद, बिक्री, भाडामा ल्याउँदा र फिर्ता पठाउँदासमेत चौतर्फी कमिसनको जालोमा बेरिएपछि २४ वटा जहाज भएको निगमसँग अहिले १३ वटा मात्र जहाज बाँकी छन् । जसमध्ये ५ वटा चिनियाँ विमानहरू प्राविधिक र आर्थिक कारणले ग्राउन्डेड भएर बसेका छन् भने ४ वटा ट्विनअटरमध्ये २ वटा मात्र सञ्चालनमा छन् ।

नेपाल वायुसेवा निगमलाई दुहुनु गाई बनाएर प्रयोग गर्ने प्रवृत्ति व्याप्त देखियो । पदीय जिम्मेवारी बिर्सेर निजी स्वार्थमा अल्झिने नेतृत्वका कारण निगमले निरन्तर घाटा सहनुपरेको कुरामा कसैको विमति हुन सक्दैन । नीति निर्धारण र व्यवस्थापन दुवै क्षेत्रमा देखापरेको कमजोरीले गर्दा निगम दयनीय स्थितिमा पुग्यो । यसको अवस्था सुनको फुल पार्ने कुखुरीलाई एकैचोटि धेरै सुन कमाउने लोभमा काटेर मारेजस्तै व्यवहार गरिएका कारण सिर्जना भएको हो । निजी हवाई सेवाहरूको तीव्र प्रतिस्पर्धा र निगममा भएको विमानको चरम अभावका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निगमले समुचित सेवा दिन सकिरहेको छैन ।

तर अहिले परिस्थिति केही फेरिएको छ र राजनीतिक वातावरण पनि सङ्लिएको छ । निगमसँग विमान अपुग भए तापनि नयाँ गन्तव्य विस्तारको प्रयास भइरहेको छ । निगमले दुबई र हालसालै साउदी अरबको दमाममा उडान थालेको छ । विश्वका ठुला वायुसेवा कम्पनीहरूले उडान गर्ने दुबई र दमामसँग सिधा हवाई सम्पर्क स्थापना भएकाले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको छ । यसले गर्दा पर्यटकहरूको संख्यामा वृद्धि हुने आशा पलाएको छ । खाडी राष्ट्रहरूमा श्रम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो सिधा उडानले ठुलो सुविधा पु¥याएको छ । दोहा, दुबई र रियादसँग सिधा हवाई सम्पर्क भएकाले विदेशी पर्यटकहरूले भारत वा अन्य मुलुक हुँदै नेपाल आउनुपर्ने बाध्यता हटेको छ, जुन राष्ट्रका लागि ठुलो उपलब्धि हो ।

अहिले फेरि निगमको सुधार र पुनर्संरचनाका विषयमा विभिन्न चर्चाहरू चल्न थालेका छन् । निगमको वित्तीय क्षमता विकास गर्ने, रणनीतिक साझेदारीमा जाने र व्यावसायिक क्षमताको अभिवृद्धि गर्दै मितव्ययी संगठन संरचना सुधार गर्ने योजनाहरू अगाडि सारिएका छन् । यसले गर्दा निगमप्रति फेरि एकपटक झिनो आशा पलाउन थालेको छ । धेरै लामो समयपछि भए पनि निगम पुनर्जीवित हुने संकेत देखा परेको छ । यसबाट नेपालको राष्ट्रिय ध्वजावाहक विमानको साखमा वृद्धि हुने र राष्ट्रको प्रतिष्ठासमेत बढ्ने विश्वास गरिएको छ ।

विदेशी मुद्रा आर्जनमा प्रमुख भूमिका निर्वाह गर्ने निगमको विकास वास्तवमा सक्षम र व्यावसायिक व्यवस्थापनबाट मात्र सम्भव छ । निगमको विकास हुनु भनेको नेपालको समग्र पर्यटन क्षेत्रको विकास हुनु हो ।
राम्रो व्यवस्थापनका साथ अघि बढ्ने हो भने नेपाल वायुसेवा निगम राष्ट्रिय अर्थतन्त्रको सबल मेरुदण्डका रूपमा स्थापित हुन सक्छ । निगमलाई भ्रष्टाचारको अखडा वा राष्ट्रिय सम्पत्ति ब्रम्हलुट गर्ने स्थानका रूपमा नभई राष्ट्रिय पहिचान र ध्वजावाहक संस्थाका रूपमा हेरिनुपर्छ । अनि मात्र निगमले ऋण र त्यसको ब्याज तिरेर, आन्तरिक खर्च धानेर पनि नयाँ विमानहरू खरिद गर्न सक्छ । निगमलाई साधन, स्रोत, पुँजी र यात्रुको खाँचो परेको होइन, केवल इमानदार, सक्षम र राष्ट्रप्रेमी व्यवस्थापकको खाँचो परेको मात्र हो ।

विगतमा देश संकटमा पर्दा निगमले उदाहरणीय भूमिका निर्वाह गरेको छ । महाभूकम्प र कोरोना (कोभिड–१९) महामारीको समयमा निगमले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन र नेपालमा अड्किएका विदेशीहरूलाई गन्तव्यमा पु¥याउन महत्वपूर्ण योगदान दियो । महामारीका बेला औषधिजन्य सामग्री तथा खाद्यान्न ढुवानी गरेर देशलाई ठुलो संकटबाट बचायो । देशमा हवाई इन्धनको अभाव हुँदा निगमको विमानले विदेशबाट इन्धन ढुवानी गरी आन्तरिक उडानका अन्य निजी विमानहरूलाई समेत इन्धन वितरण गरेर राष्ट्रिय संकटकै निवारण गरेको थियो । त्यसैले निगमको व्यवस्थापन पक्षले अब अधिकतम आय र न्यूनतम खर्चको सिद्धान्तलाई प्राथमिकता दिनुपर्छ र कर्मचारीहरूको मनोबल उच्च राख्नुपर्छ । यति मात्र गर्न सकियो भने निगमको पुनरुत्थान हुन धेरै समय लाग्ने छैन । सरकारले पनि अब निगमको व्यवस्थापन सुधारका लागि इमानदार प्रयास गर्नु अपरिहार्य देखिएको छ ।

प्रतिक्रिया