
चापाबोटे आधारभूत विद्यालयको बाल विकास कक्षामा अध्ययनरत विद्यार्थी विशाल तामाङ (नाम परिवर्तन) की अभिभावक रिमा तामाङ (नाम परिवर्तन) को सोच र व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । अभिभावक शिक्षा सत्रमा सहभागी हुनपूर्व रिमाले विशाललाई गाली गरेर, हप्काएर वा डर देखाएर सिकाउने गर्थिन् । उनको विचारमा बालबालिकालाई पढाउने जिम्मेवारी विद्यालय र शिक्षकको मात्र हो, अभिभावकले घरमा सिकाउन आवश्यक छैन भन्ने धारणा थियो ।
विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ताले नियमित रूपमा करिब पाँच महिनासम्म सञ्चालन गरेको अभिभावक शिक्षा सत्रहरूमा सहभागी भएपछि उनको बुझाइमा आमूल परिवर्तन आएको छ। उक्त कार्यक्रममा सहभागी भएपछि बालबालिकाको सिकाइ घरबाटै सुरु हुने रहेछ र दैनिक घरायसी कामको क्रममा पनि उनीहरूलाई सिकाउन सकिने रहेछ भन्ने कुरा बुझेर उनी आफू मात्र बदलिएकी छैनन्, अन्य अभिभावकहरूलाई समेत सिकाउन थालेकी छिन्।
प्रारम्भिक बाल विकास तहलाई विद्यालय तयारीको आधारभूत चरणका रूपमा लिइन्छ, जहाँ बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ । यही तथ्यलाई आत्मसात् गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारी तथा बंगलादेश, क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र र शिक्षाका लागि विश्वव्यापी साझेदारी, ज्ञान तथा नवप्रवर्तन आदानप्रदानको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूसँगको समन्वयमा नुवाकोट र धादिङ जिल्लाका चार स्थानीय तह अन्तर्गतका चौबीस वटा विद्यालयहरूमा बालबालिका, अभिभावक र शिक्षक त्रिपक्षीय साझेदारीद्वारा विद्यालय तयारीको अन्तराल हटाउने र विस्तार गर्ने अनुसन्धानात्मक परियोजना सञ्चालन भइरहेको छ।
उक्त परियोजना अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र तालिम शाखा (भक्तपुर) र राष्ट्रियस्तरका प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरूसँगको सहकार्यमा ‘प्रारम्भिक बाल विकास र समावेशी शिक्षा सम्बन्धी सहजकर्ता तालिम सहजीकरण पुस्तिका’ र ‘अभिभावक शिक्षा सहजीकरण पुस्तिका’ विकास गरिएको थियो ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय, जिल्ला र स्थानीय स्तरमा तालिम सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण तयार गरिएको थियो । सोही सहजीकरण पुस्तिकाको आधारमा प्रारम्भिक बाल विकास सहजकर्ताहरूलाई आवश्यक तालिम प्रदान गरिएको थियो ।
तालिम प्राप्त सहजकर्ताहरूले प्रत्येक दुई हप्ताको अवधिमा नौ वटा अभिभावक शिक्षा सत्र सञ्चालन गरी विद्यालय तयारी सम्बन्धी अभिभावकहरूको ज्ञान, सीप र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहजीकरण गरेका थिए । अभिभावक सत्रमा प्रारम्भिक बाल विकास पाठ्यक्रममा केन्द्रित रही बालबालिकाको विद्यालय तयारीस भाषिक, गणितीय, सामाजिक तथा संवेगात्मक सीप विकासमा अभिभावकको भूमिका र जिम्मेवारी, सकारात्मक अभिभावकत्व र समावेशी शिक्षा सम्बन्धी विभिन्न विषयवस्तुहरू समेटिएका थिए ।

यसै सन्दर्भमा बच्छला माध्यमिक विद्यालयकी अभिभावक सीमा पाठक (नाम परिवर्तित) भन्नुहुन्छ, ‘मेरो छोरीमा बोलाइ सम्बन्धी समस्या थियो । पहिले उनी आफ्नो नाम भन्न नसक्ने र आफूले भन्न खोजेको कुरा व्यक्त गर्न नसक्ने थिइन् । स्वभावले उनी अत्यन्त चञ्चले थिइन्—कक्षामा पटक्कै नबस्ने, निरन्तर यताउता डुलिरहने र कुनै पनि गतिविधिमा लामो समय ध्यान केन्द्रित गर्न सक्दिनथिन् । साथै, खाजा आफैँ खान सक्दिनथिन् र साथीहरूसँग घुलमिल भएर खेल्न रुचाउँदिनथिन् । यस कारण म उनको व्यवहार र सिकाइप्रति निकै चिन्तित थिएँ ।’
उहाँ अगाडि थप्नुहुन्छ, ‘अभिभावक शिक्षा सत्रमा नियमित रूपमा सहभागी हुने अवसर पाएपछि मैले त्यहाँ सिकेका सीपहरूलाई आफ्नो व्यवहारमा प्रयोग गर्न थालेँ । हाल गाली गर्नु, रिसाउनु वा झर्को मान्नुको साटो उनको भावना बुझ्ने, उनले भन्न खोजेको कुरा ध्यानपूर्वक सुन्ने र गल्ती हुँदा सजाय दिनुको सट्टा कारण बुझाएर महसुस गराउने तथा प्रोत्साहन गर्ने गर्दछु । साथै, उनलाई खेल, कथा, गीत र दैनिक क्रियाकलापमार्फत सिकाउनेतर्फ आकर्षित गर्ने प्रयास गर्दछु । घरमा पनि आफ्नै काम आफैँ गर्न उत्प्रेरित गर्दछु र साथीहरूसँग घुलमिल हुन प्रोत्साहन दिन्छु । परिणामस्वरूप मेरो छोरीमा उल्लेखनीय सुधार आएको छ। हाल उनी आफ्नो नाम स्पष्ट रूपमा भन्न सक्छिन्, कक्षामा बसेर सिकाइ गतिविधिमा सहभागी हुन्छिन्, पहिलेको जस्तो अत्यधिक चकचक गर्दिनन् र शिक्षकको निर्देशन पनि पछ्याउन थालेकी छिन् । साथीहरूसँग खेल्न रुचाउने, आफ्ना आवश्यकताहरू व्यक्त गर्न सक्ने र दैनिक क्रियाकलापमा बढी आत्मनिर्भर बन्ने प्रयास गरिरहेकी छिन् । मेरो छोरीमा आएको यस परिवर्तनले मलाई अत्यन्त खुसी र आशावादी बनाएको छ ।’
हाल अभिभावकको व्यवहारमा आएको परिवर्तनले गर्दा बालबालिकाको सिकाइमा मात्र नभई समग्र बाल विकास शिक्षकको बुझाइ तथा अभिभावकसँगको सम्बन्धमासमेत ठुलो सुधार आएको देखिन्छ । बागेश्वरी माध्यमिक विद्यालयकी बाल विकास सहजकर्ता माया न्यौपाने भन्नुहुन्छ, ‘पहिले अभिभावकहरूले बालबालिकालाई विद्यालयमा भर्ना गर्ने बित्तिकै लेख्न र पढ्न जानैपर्छ भन्नुहुन्थ्यो, कति जनाले त गुनासो पनि गर्नुहुन्थ्यो । तर यो अभिभावक शिक्षाको नौ सत्रसम्म आइपुग्दा उहाँहरू बालबालिकाको विकास र सिकाइबारे धेरै जानकार भइसक्नुभएको छ र अहिले उहाँहरूको गुनासो कम भएको छ ।’

अभिभावक शिक्षाको प्रभावकारिता घरमा मात्र नभएर बाल विकास कक्षाकोठामा पनि देखिन थालेको छ । अभिभावकहरू समय–समयमा विद्यालय आउने, बालबालिकाको पढाइ कस्तो भइरहेको छ भनी बुझ्ने र सामग्री निर्माणमा समेत सहयोग गर्ने गरेको थाक्रेस्थित लाटीदेवी माध्यमिक विद्यालयकी बाल विकास सहजकर्ता सीता कुँवरले बताउनुभयो ।
उहाँ थप्नुहुन्छ, ‘अभिभावकहरूले आफ्नो बालबालिका प्रति सकारात्मक व्यवहार विकास गर्नुका साथै उनीहरूलाई कक्षाकोठामा सिकाउन सकिने स्थानीय सामग्रीहरू जस्तैः डोको, डालो, काठका औजारहरू आदि बनाएर समेत ल्याइदिने गर्नुभएको छ । यसले गर्दा कक्षाकोठाका बालबालिकाहरूलाई वास्तविक सामग्री देखाएर सिकाउन धेरै सजिलो भएको छ ।’
यस परियोजनामार्फत हालसम्म तीन सय अठतीस जना प्रारम्भिक बाल विकास कक्षाका अभिभावकहरूले अभिभावक शिक्षा प्राप्त गरिसकेका छन्, जसमध्ये पन्ध्र जना अपांगता भएका बालबालिकाका अभिभावकहरू समेत सहभागी थिए। यसका साथै परियोजना अन्तर्गत शैक्षिक सरोकारवालाहरूसँग नियमित सुपरीवेक्षण, अनुगमन तथा कक्षाकोठा अवलोकनका गतिविधिहरू सञ्चालन गर्दै आइएको छ, जसले कार्यक्रमको गुणस्तर अभिवृद्धि र प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यो एक अनुसन्धानात्मक परियोजना हो र यसको विस्तृत परिणाम तथा उपलब्धिहरूका बारेमा अध्ययन र विश्लेषण भइरहेको छ ।
(लेखक गोल्डेन कम्युनिटीका वरिष्ठ शिक्षा संयोजक हुन्)
प्रतिक्रिया