
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ को महत्वपूर्ण खेलमा पोर्चुगलले नेपाली समयअनुसार मंगलबार राति १०ः४५ बजे अमेरिकाको ह्युस्टन स्टेडियममा प्रतियोगिताको नवप्रवेशी टोली उज्बेकिस्तानको सामना गर्दै छ । पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोर्चुगल जित निकाल्दै विश्वकप यात्रालाई सही दिशामा अघि बढाउने लक्ष्यमा रहेको छ भने उज्बेकिस्तान लगातार दोस्रो हारबाट बच्दै प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्न चाहन्छ । विश्वकप उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको पोर्चुगलले आफ्नो पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग १–१ को बराबरी खेलेपछि टोलीमाथि दबाब बढेको छ । खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर कंगोका योआने विस्साले बराबरी गोल फर्काउँदै पोर्चुगललाई अंक बाँड्न बाध्य पारे ।
उक्त खेलपछि सबैभन्दा बढी चर्चा टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको प्रदर्शनलाई लिएर भएको छ । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने रोनाल्डोले पुरा ९० मिनेट खेले पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन् । उनले गरेको ३ प्रयासमध्ये कुनै पनि प्रहार गोलपोस्टको दिशामा जान सकेन । केही विश्लेषकहरूले रोनाल्डोको उपस्थितिले टोलीको आक्रमणलाई अपेक्षित गति दिन नसकेको टिप्पणी गरेका छन् । ५ पटकका बालोन डी’ओर विजेता रोनाल्डोले पछिल्ला २ विश्वकप संस्करणमा १ मात्र गोल २०२२ को विश्वकपमा घानाविरुद्ध पहिलो खेलमा गरेका थिए । त्यो पनि उनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका थिए । त्यसयता विश्वकपमा उनको गोल गर्ने क्षमता र प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ । यद्यपि प्रशिक्षक रोबर्टो मार्टिनेजले अझै पनि आफ्नो कप्तानमाथि विश्वास कायम राखेका छन् र उज्बेकिस्तानविरुद्ध पनि रोनाल्डोले सुरुआती रोजाइमा स्थान पाउने सम्भावना बलियो छ ।
अर्कोतर्फ, उज्बेकिस्तानले आफ्नो पहिलो विश्वकप सहभागिताको सुरुआत हारबाट गरेको थियो । कोलम्बियाविरुद्धको खेलमा उज्बेकिस्तान ३–१ ले पराजित भएको थियो । खेलभर दबाबमा देखिएको टोलीले दोस्रो हाफमा विश्वकप इतिहासकै पहिलो गोल गर्न सफल भएको थियो । खेलको करिब १ घण्टापछि डोस्टोनबेक खाम्दामोभले गरेको क्रसमा एल्डोर शोमुरोदोभले प्रहार गरेका थिए । उक्त प्रहार रक्षापंक्तिबाट फर्किएपछि अब्बोसबेक फायजुल्लाएभले खाली पोस्टमा बल छिराउँदै उज्बेकिस्तानका लागि विश्वकप इतिहासकै पहिलो गोल गरेका थिए । तर त्यो खुसी लामो समय टिक्न सकेन । केवल ५ मिनेटपछि कोलम्बियाले तीव्र प्रतिआक्रमणमार्फत पुनः अग्रता लियो । गुस्ताभो पुर्टाले दिएको पासमा लुइस डियाजले गोल गर्दै उज्बेकिस्तानको आशामा धक्का दिएका थिए ।
उज्बेकिस्तानको कमजोर सुरुआतको झल्को पहिलो हाफको तथ्यांकबाट पनि देखिन्छ । टोलीले पहिलो ४५ मिनेटमा विपक्षीको पेनाल्टी क्षेत्रमा एकपटक पनि बल छोएन । यस विश्वकपमा यस्तो अवस्था भोग्ने उनीहरू एकमात्र टोली बनेका छन् । पहिलो हाफमा उनीहरूको अपेक्षित गोल (एक्सजी) केवल ०.०२ थियो । यद्यपि विपक्षी बक्सभित्रको पहिलो स्पर्शमै गोल गर्न सफल हुनु टोलीका लागि सकारात्मक पक्ष मानिएको छ । इटालियन प्रशिक्षक फाबियो कानाभारोको नेतृत्वमा रहेको उज्बेकिस्तान अब पोर्चुगलविरुद्ध चामत्कारिक नतिजा निकाल्ने लक्ष्यमा छ । यदि टोलीले लगातार दोस्रो हार बेहोरेमा विश्वकपबाट बाहिरिने खतरा लगभग निश्चित हुनेछ ।
पोर्चुगलका लागि रक्षापंक्तिका अनुभवी खेलाडी रुबेन डियासको उपलब्धता अझै अनिश्चित छ । पहिलो खेलमा उनी पूर्णरूपमा फिट नभएका कारण टोलीबाहिर रहेका थिए । हाल स्वास्थ्य अवस्थामा सुधार आएको बताइए पनि प्रशिक्षक मार्टिनेजले उनलाई जोखिममा नराख्ने सम्भावना रहेको छ, किनकि आगामी खेलमा कोलम्बियाजस्तो बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्नेछ । पोर्चुगलको सम्भावित सुरुआती टोलीमा गोलरक्षक डियोगो कोस्टा रहनेछन् । रक्षापंक्तिमा जोआओ कान्सेलो, अराउजो, भेइगा र नुनो मेन्डेस रहने अनुमान गरिएको छ । मध्यपंक्तिमा जोआओ नेभेस, भिटिन्हा र ब्रुनो फर्नान्डेस खेल्ने सम्भावना छ भने आक्रमणमा बर्नार्डो सिल्भा, पेड्रो नेटो र क्रिस्टियानो रोनाल्डो रहने अपेक्षा गरिएको छ ।
उज्बेकिस्तानतर्फ गोलपोस्टको जिम्मेवारी उत्किर युसुपोभले सम्हाल्नेछन् । रक्षापंक्तिमा अब्दुकोदिर खुसानोभ, अब्दुल्लाएभ र रुस्ताम आशुरमातोभ रहने सम्भावना छ । मध्य तथा अग्रपंक्तिमा करिमोभ, मोजगोभोय, शुकुरोभ, नस्रुल्लाएभ, फायजुल्लाएभ, उरुनोभ र कप्तान एल्डोर शोमुरोदोभले स्थान पाउने अपेक्षा गरिएको छ । समूह ‘के’ को अंकतालिकामा हाल पोर्चुगल तेस्रो स्थानमा रहेको छ । विश्वकप जित्ने लक्ष्यसहित प्रतियोगितामा आएको टोलीका लागि उज्बेकिस्तानविरुद्धको खेल अत्यन्त महत्वपूर्ण बनेको छ । अर्कोतर्फ, पहिलो सहभागितामै इतिहास रच्ने सपना देखेको उज्बेकिस्तानका लागि यो खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ ।
यसअघि यी २ राष्ट्रबीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन । त्यसैले यो खेल इतिहासकै पहिलो भेट हुनेछ । पोर्चुगलले एएफसी (एसियाली फुटबल महासंघ) का टोलीविरुद्ध विश्वकपमा पछिल्ला २ खेल जित्न नसकेको तथ्यले पनि खेललाई थप रोचक बनाएको छ । यस्तै, बुधबार बिहान अन्य ३ खेल पनि हुनेछन् । बिहान १ः४५ बजे हुने खेलमा इंग्ल्यान्डले घानाको सामना गर्नेछ । समूह ‘एल’ अन्तर्गतको यो खेल जितेमा इंग्ल्यान्ड नकआउट चरणमा पुग्नेछ । ४ः४५ बजे यसै समूहका पनामा र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । बिहान ७ः४५ बजे कोलम्बिया र कंगोबीच पोर्चुगल रहेको समूह ‘के’ को अर्को भिडन्त हुनेछ ।
प्रतिक्रिया