अर्जेन्टिनाको नजर नकआउट चरणमा, अस्ट्रियासँगको चुनौतीपूर्ण भिडन्तको प्रतीक्षा

फिफा विश्वकप

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार हुने समूह ‘जे’ को महत्वपूर्ण खेलमा आज (सोमबार) राति नेपाली समयअनुसार १०ः४५ बजे अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्ने भएको छ । अमेरिकाको डलास स्टेडियममा हुने यस खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसी आफ्नो टोलीलाई नकआउट चरणमा पु¥याउने लक्ष्यसहित मैदान उत्रनेछन् । समूह चरणको आफ्नो दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित हासिल गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । उक्त खेलमा मेसीले शानदार ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाएका थिए । अर्कोतर्फ अस्ट्रियाले जुन १७ मा जोर्डनलाई ३–१ ले पराजित गर्दै ३ अंक जोडेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

मेसीको ऐतिहासिक कीर्तिमानको सम्भावना

अल्जेरियाविरुद्धको खेलमा ३ गोल गरेपछि ३८ वर्षीय मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् । जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोड्न मेसीलाई अब मात्र १ गोल आवश्यक छ । यद्यपि व्यक्तिगत उपलब्धिभन्दा टोलीलाई नकआउट चरणमा पु¥याउनु अहिले उनको प्राथमिकता रहने अपेक्षा गरिएको छ ।

३ पटकको विश्वविजेता अर्जेन्टिनाले अस्ट्रियामाथि जित निकालेमा राउन्ड अफ ३२ मा स्थान सुनिश्चित हुनेछ । बराबरीले पनि टोलीलाई समूहको शीर्ष ३ भित्र रहने सम्भावना बलियो बनाउनेछ । यदि अर्जेन्टिना समूह विजेता बन्छ भने उसले राउन्ड अफ ३२ मा समूह ‘एच’ को उपविजेतासँग खेल्नेछ । हाल उक्त समूहमा साउदी अरेबिया, स्पेन, उरुग्वे र केप भर्डे सबै समान १–१ अंकसहित प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट लयमा अर्जेन्टिना

मुख्य प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिना पछिल्ला खेलहरूमा निकै प्रभावशाली देखिएको छ । टोलीले पछिल्ला ८ खेल लगातार जितेको छ र ती खेलमध्ये केवल २ मा मात्र क्लिन सिट कायम राख्न सकेन । प्रतिस्पर्धात्मक खेलहरूको तथ्यांक हेर्दा अर्जेन्टिनाले पछिल्ला ८ खेलमध्ये ६ जित, १ बराबरी र १ हारको नतिजा निकालेको छ । सोमबारको खेल जित्न सफल भएमा विश्वकपमा लगातार आठौँ जित हुनेछ, जुन उनीहरूको अघिल्ला १४ विश्वकप खेलमा प्राप्त जित बराबर हुनेछ ।

अस्ट्रियाको आत्मविश्वास पनि उच्च

अस्ट्रियाले पहिलो खेलमा जोर्डनमाथि ३–१ को जित निकाले पनि त्यो जित सहज भने थिएन । खेलको ७६औँ मिनेटमा जोर्डनका याजन अबु अल–अरबको आत्मघाती गोलमार्फत अस्ट्रियाले २–१ को अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा मार्को अर्नाउटोभिचले पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । प्रशिक्षक राल्फ राङनिक आफ्नो टोलीको रक्षात्मक प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट छैनन् ।

जोर्डनले ५०औँ मिनेटमा बराबरी गोल गर्दा अस्ट्रियाको बायाँ रक्षापंक्ति निकै कमजोर देखिएको थियो । उच्च प्रेसिङ गर्ने प्रयासमा टोलीले अनावश्यक खाली स्थान छाडेको थियो । यद्यपि अस्ट्रियाको पछिल्लो रक्षात्मक रेकर्ड उत्साहजनक छ । टोलीले पछिल्ला १८ खेलमध्ये केवल १ खेलमा मात्र १ भन्दा बढी गोल बेहोरेको छ । साथै पछिल्ला ६ प्रतिस्पर्धात्मक खेलमध्ये ४ खेलमा कम्तीमा २ गोल गर्न सफल भएको छ ।

ऐतिहासिक उपलब्धिको खोजीमा

अस्ट्रिया सन् १९८२ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने संघारमा उभिएको छ । अझ महत्वपूर्ण कुरा के भने २०२६ को संस्करण सन् १९९८ पछि अस्ट्रियाको पहिलो विश्वकप सहभागिता हो । त्यसैले नकआउट चरणमा प्रवेश गर्नु अस्ट्रियाली फुटबलका लागि ठुलो उपलब्धि मानिनेछ । २ राष्ट्रबीच अहिलेसम्म केवल २ अन्तर्राष्ट्रिय भेट भएका छन् । सन् १९९० मा भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने सन् १९८० मा अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ ले हराएको थियो ।

यस्तो छ दुवै टोलीको सम्भावित रणनीति

अर्जेन्टिनाको रणनीति मेसीलाई केन्द्रमा राखेर आक्रमण निर्माण गर्ने सम्भावना छ । त्यसका लागि रोड्रिगो डे पाउल, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र थियागो अल्माडाले मिडफिल्डबाट समर्थन गर्ने अनुमान गरिएको छ । दायाँ रक्षक गोन्जालो मोन्टियल ह्यामस्ट्रिङ समस्याका कारण पूर्ण फिट नरहेकाले उनको स्थानमा नाहुएल मोलिनाले अवसर पाउन सक्छन् । केन्द्रीय रक्षामा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको जोडी कायम रहने सम्भावना बलियो छ ।

अस्ट्रियातर्फ दायाँ रक्षक स्टेफन पोस्च जबडाको चोटका कारण खेल्ने–नखेल्ने निश्चित छैन । उनको स्थानमा कोनराड लाइमरलाई उतार्न सकिने बताइएको छ । मिडफिल्डमा निकोलस सिवाल्ड र जाभेर स्लागरले आफ्नो स्थान जोगाउने सम्भावना छ भने कार्नी चुक्वुएमेकाले आक्रामक मिडफिल्डरको भूमिका निर्वाह गर्न सक्छन् । अग्रपंक्तिमा सासा कालाज्ड्जिकले सुरुआत गर्न सक्ने भए पनि पहिलो खेलमा मध्यन्तरअघि नै परिवर्तन गरिएकाले उनले राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ ।

समूह ‘आई’ मा स्पष्ट रूपमा फ्रान्स बलियो

विश्वकपअन्तर्गत समूह ‘आई’ मा फ्रान्स र इराकबीचको खेललाई तुलनात्मक रूपमा एकतर्फी मानिएको छ । प्रतियोगिताको उपाधि दाबेदार टोली फ्रान्स उत्कृष्ट लयमा छ भने इराक आफ्नो दोस्रो विश्वकप सहभागितामा कठिन चुनौतीको सामना गरिरहेको छ । पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो ।

कप्तान किलियन एमबाप्पेले २ गोल गर्दै आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका थिए । ब्राडली बार्कोलाले अर्को गोल थपेका थिए । फ्रान्सका प्रशिक्षक डिडिएर डेसाम्प्सले टोलीलाई सहज जित दिलाउने अपेक्षा गरिएको छ । प्रश्न फ्रान्सले जित्छ कि जित्दैन भन्नेभन्दा पनि कति गोल अन्तरले जित्छ भन्नेमा केन्द्रित देखिन्छ ।

इराकको कठिन परीक्षा

इराकले विश्वकपको पहिलो खेलमा नर्वेसँग ४–१ को हार बेहोरेको थियो । त्यस खेलले टोलीको रक्षापंक्तिमा रहेको कमजोरी उजागर गरेको थियो । अधिकांश खेलाडी घरेलु लिगमा आबद्ध रहेको इराकी टोलीलाई फ्रान्सको स्टार खेलाडीहरूले भरिएको आक्रमण रोक्न निकै कठिन हुने अनुमान गरिएको छ ।

इराकका लागि आयमेन हुसेन मुख्य आशा हुन् । नर्वेविरुद्ध टोलीको १ मात्र गोल उनले गरेका थिए । अली अल–हमादी र जिदान इक्बाल पनि टोलीका महत्वपूर्ण खेलाडी हुन्, तर फ्रान्सको आक्रमणको तुलनामा उनीहरूको अनुभव सीमित छ ।

फ्रान्सको आक्रमण घातक

एमबाप्पे, उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बार्कोलाको आक्रमण पंक्तिले विश्वका कुनै पनि रक्षापंक्तिलाई समस्यामा पार्न सक्छ । मिडफिल्डमा एन’गोलो कान्टे र ओरेलियन चुआमेनीको उपस्थितिले टोलीलाई थप सन्तुलन प्रदान गरेको छ । इराकका अनुभवी गोलरक्षक जलाल हसनमाथि खेलभरि ठुलो दबाब रहने अपेक्षा गरिएको छ । यदि इराकले सुरुदेखि नै व्यवस्थित रक्षात्मक रणनीति अपनाउन सकेन भने ठुलो अन्तरको हारको सम्भावना रहने विश्लेषकहरू बताउँछन् ।

विश्व फुटबलको वर्तमान शक्ति र अनुभवलाई हेर्दा फ्रान्स स्पष्ट रूपमा खेलको प्रबल दाबेदार हो भने इराकले सम्मानजनक नतिजा निकाल्न असाधारण प्रदर्शन गर्नुपर्ने देखिन्छ । मंगलबार बिहान नै हुने अन्य खेलमा नर्वेले सेनेगल तथा जोर्डनले अल्जेरियाको सामना गर्दै छन् । सेनेगल र जोर्डन पहिलो जितको खोजीमा रहँदा यसअघि १ खेल जितिसकेको नर्वेको नजर नकआउट चरणमा हुनेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया