
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । भरतपुरस्थित गेस्टहाउस चउरमा भएको कार्यक्रम सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाहले घन्टी बजाएर संयुक्त रूपमा उद्घाटन गरे । ७ असार, २०७९ मा स्थापना भएको रास्वपाको पार्टी जीवन ४ वर्ष पूरा नहुँदै पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि महाधिवेशन सफलताको शुभकामना दिएका थिए । महाधिवेशनमा उपस्थित ४ हजार २११ जना प्रतिनिधिले १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । यद्यपि, ५१ जना सदस्य सभापतिले मनोनित गर्नेछन् भने ७ प्रदेश सभापति पदेन सदस्य रहनेछन् ।

मित्रराष्ट्रका सत्तारुढ पार्टीहरूको शुभकामना सन्देश
रास्वपाको महाधिवेशनका लागि विदेशस्थित राजनीतिक दलका प्रतिनिधि उपस्थित थिएनन् । मित्रराष्ट्रका सत्तारुढ दलहरूले लिखित रूपमा शुभकामना सन्देश पठाएका थिए । चिनियाँ कम्युनिस्ट पार्टी र भारतीय जनता पार्टीले पठाएको शुभकामना सन्देश अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले उद्घाटन सत्रमै पढेर सुनाएका थिए । त्यस्तै, बंगलादेश, कोरिया, मलेसिया, भुटानलगायतका सत्तारुढ दलहरूले पनि शुभकामना सन्देश पठाएको उनले जानकारी दिए ।
यस्तो छ निर्वाचन कार्यतालिका
रास्वपा महाधिवेशन कार्यतालिकाअनुसार आइतबार बिहान ७ बजे नै महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । सोमबार बिहान ९ बजेसम्मका लागि प्रारम्भिक नामावलीउपर दाबी विरोधका लागि समय दिइएको छ । सोमबार बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । त्यस्तै, सोमबार दिउँसो १ बजेदेखि पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयनका लागि फाराम वितरण सुरु गर्ने, दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका छ ।
नामावली प्रकाशनपछि १ घन्टा उम्मेदवारहरूविरुद्ध दाबीविरोध गर्ने समय दिइएको छ । राति ७ बजेदेखि ९ बजेसम्म दाबीविरोधको जाँचबुझ, राति ९ः१५ सम्म उम्मेदवारी फिर्ता र राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । मंगलबार ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसपछि दोस्रो चरणको निर्वाचनको कार्यतालिका ल्याइनेछ छ । दोस्रो चरणमा केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीका लागि चुनाव हुनेछ ।
देश रास्वपाको हातमा सुरक्षित छ : लामिछाने
‘बल झुक्किएर यता आएछ भने बालनेकै खुट्टामा पु¥याउने जिम्मा मेरो’

रास्वपा सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेकामा निर्धक्क हुन अपिल गरेका छन् । उनले रास्वपाको राजनीतिक लाइनमाथि उठेको प्रश्नको जबाफ दिँदै आफ्नो पार्टी लोकतन्त्रका स्थायी मान्यताहरूबाट बाहिर नजाने बताए । शक्ति पृथकीकरणका सिद्धान्त, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवअधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिताको जगेर्ना गर्ने स्पष्ट पार्दै उनले यसअघिका कुनै पनि आन्दोलनको तिरष्कार गर्ने साहस आफूहरूमा नभएकाले लाइन क्रस नगर्ने बताए ।
सभापति लामिछानेले सरकारको कामलाई पार्टीले निगरानी गरिरहेको बताए । उनले रास्वपाभित्र आपसमा लडाउने र फाटो ल्याउने प्रयास हुने भन्दै पार्टीभित्र भएका सहमतिलाई अक्षरशः इमानसाथ पालना गर्ने बताए । चुनावअघि नै सरकार सञ्चालनका लागि प्रधानमन्त्री वालेन्द्र शाहको खुट्टामा गोल गर्न बल दिइएको भन्दै उनले गोल गर्ने जिम्मा प्रधानमन्त्रीकै भएको बताए । उनले प्रधानमन्त्रीसँग मिलेर काम गर्ने गरी बलियो एकताको सन्देश दिएका छन् । ‘सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा बल पु¥याइसकेको छ । अब गोल गर्ने जिम्मा बालेनजीकै हो । उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ,’ उनले भने, ‘झुक्किएर कतै त्यो बल मतिर आएछ भने पनि म त्यसलाई उहाँकै खुट्टामा पास गर्ने जिम्मा मेरो ।’
उनले कांग्रेस र एमालेलाई आफ्नो पार्टीभित्रको समस्या समाधान गर्न आग्रह पनि गरे । लामिछानेले धेरैको मन जित्न नसकेपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन रहेको भन्दै त्यो प्रचलनको बिउ नरोप्न नेता, कार्यकर्तालाई आग्रह गरे । गुट–उपगुटमा नलाग्न आग्रह गर्दै उनले भने, ‘गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि त्यसले दिने फल बिसालु हुनेछ । त्यो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने हुन्छ । गुट र उपगुटमा नलागीकन विगतका दलहरूका अनुभवलाई हेरेर अघि बढ्ने हो भने रास्वपालाई लडाउने कुनै शक्ति अबको युगमा आउन सक्दैन ।’
०००
रास्वपाले पाएको जनमत दुर्घटनामा नपरोस् : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले स्थापनाको ४ वर्षमै रास्वपाले असाधारण जनमत पाएको भन्दै यस्तो जनमत विगतमा ३–४ पटक आएको भए पनि दुर्घटनामा परेको बताए । नेताहरूको अहंकार र व्यक्तित्वबीचमा टकराव र सत्ता उन्मादमा पलाएको अप्रजातान्त्रिक व्यवहारका कारण विगतको असाधारण जनमत दुर्घटनामा परेको भन्दै उनले रास्वपाले पाएको जनमत स्थिरताका लागि अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस रास्वपाको दुश्मन नभई प्रतिस्पर्धी पार्टी भएको बताए । उनले कांग्रेस रास्वपाभन्दा अग्लो बन्न चाहने भए पनि रास्वपालाई गिराएर नभई मन वचन र कर्मले काम गरेर अग्लो बन्ने बताए । थापाले कांग्रेसले सत्तारुढ दल र सरकारप्रति औँला उठाउनुपर्ने ठाउँमा उठाउने र सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्ने बताए ।
सभापति थापाले विगत १० वर्षमा कांग्रेससमेत संलग्न भएर गरेका काम हेर्दा ग्लानि हुने भन्दै आफ्नो घर र परिवारका लागि सत्ता र शक्तिको दुरुपयोग भएको बताए । सभापति थापाले आफूहरूले नेताहरूलाई भगवान बनाएको फल अहिले भोगिरहेको भन्दै शीर्ष नेताहरूलाई भगवान नबनाई प्रश्न गर्न रास्वपा नेता, कार्यकर्तालाई आग्रह गरे । ‘हामीले दलका नेतालाई भगवान बनाएर, बा बनाएर गल्ती गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । हामीले ढिलो ग¥यौँ र सजाय पनि पायौँ । त्यसबाट सिक्नुहोस्,’ उनले भने, ‘आफ्नै नेताहरूलाई पनि प्रश्न गर्ने साहस गर्नुहोला ।’
०००
पाहुना बनेर गएका अन्य नेताहरूले के भने ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले आन्दोलनभन्दा पनि जनताको मन जितेर र प्रविधिको प्रयोग गरेर यो उपलब्धि हासिल गरेको भन्दै यसलाई क्रान्तिको नयाँ कडीका रूपमा लिनुपर्ने बताए । उनले पुराना राजनीतिक दल र तिनका नेताहरूले रास्वपाको प्रगतिलाई षड्यन्त्रको सिद्धान्तअन्तर्गत उत्तर–दक्षिणलाई मुछ्ने गरेको भन्दै वैकल्पिक राजनीतिको कडीका रूपमा रास्वपा उदाएको बताए । यो पुस्ताले सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने भन्दै त्यसका लागि विश्वकै नमुना बनाउन उनले शुभकामना दिए । रास्वपाले ‘चुपचाप सुशासन र विकास’ भनेर नारा अपग्रेड गर्नुपर्ने उनको भनाइ थियो । रवि–बालेनलाई फुटाउन सक्ने भन्दै नफुटी एकताबद्ध भएर काम गर्न सुझाव दिँदै उनले भने, ‘रवि ठुलो कि बालेन ठुलो भनेर फुटाउन सक्छन् । तपाईंहरूको एकतामै ५ वर्ष भविष्य सुनिश्चित छ । ५ वर्ष तपाईंहरू एकताबद्ध हुनुस् ।’
एमाले नेता प्रदीप ज्ञवालीले रास्वपाले आफ्नो सिद्धान्त, कार्यदिशा र राजनीतिक दर्शन स्पष्ट पार्नुपर्ने बताए । रास्वपाले पाएको जनादेश सुदृढ लोकतन्त्रका लागि कसरी रूपान्तरण हुन्छ भन्ने महत्वपूर्ण हुने भन्दै उनले पाएको जनादेश राष्ट्र निर्माणका निम्ति र लोकतन्त्रको सुदृढीकरणका निम्ति सदुपयोग हुने विश्वास व्यक्त गरे । उनले भूराजनीतिक जटिलता बुझ्दै देशको राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने पनि बताए ।
सरकारको काम गर्ने तीव्र हुटहुटी भए पनि सन्तुलन नमिलेको भन्दै त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै उनले रास्वपालाई सचेत गराए । ‘काम गर्न तीव्र हुटहुटी देखिन्छ, तर मेरो आग्रह छ— गाडीमा एक्सिलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ । ब्रेक र एक्सिलेटरको समुचित सन्तुलन भएन भने एक्सिलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्दै अघि बढ्नुहुनेछ,’ उनको भनाइ थियो । सरकारले लोकतन्त्रलाई बलियो बनाउने आफ्नै बाचापत्रसँग मेल नखाने खालका घटना गराएको उनको आरोप थियो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेकपा र रास्वपाले निरन्तरतालाई क्रमभंगता गरेर अघि बढेको भन्दै २ पार्टीबीच कैयौँ विषयमा समानता रहेको उल्लेख गरे । उनले सुशासन, भ्रष्टाचारको अन्त्य र थिति बसाउने विषयमा एजेन्डा मिलेको भन्दै यस काममा नेकपाको समर्थन रहने बताए । तर, थिति बसाउने काम विधि र संविधानभन्दा बाहिर हुननहुने उनको भनाइ थियो । ‘सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा पूर्ण समर्थन छ । थिति बसाउन चालिएका कदम विधिसम्मत होउन् र संविधानभन्दा बाहिर नहोस्,’ पुनले भने ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपामा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट परेको भन्दै राजा ल्याउने विशिष्ट जिम्मेवारी रास्वपालाई भएको बताए । उनले समस्या हिजोका नेताहरूमा मात्रै नभएर संविधान र व्यवस्थामा पनि भएको भन्दै त्यसको सुधारका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए । ‘प्रधानमन्त्री र सभापतिज्यूलाई थाहा होला— नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईंहरूलाई,’ उनले भने, ‘बालेनले राजा ल्याउँछ भनेर तपाईंहरूलाई भोट दिएका मान्छेहरू छन् । त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी रास्वपाको भएको बताए । उनले संविधानलाई परिमार्जन गरी संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संविधानलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । जनमत पार्टीका अध्यक्ष सिके राउतले जेनजी आन्दोलनको भावलाई नर्बिसिन रास्वपालाई आग्रह गरे । उनले आफूहरूको सपना रास्वपामार्फत् नै पूूरा होस् भन्ने चाहेको बताउँदै हिमाल, पहाड र तराईको अगाध माया प्रधानमन्त्रीले पाएको र यस्तो माया अरू कुनै प्रधानमन्त्रीलाई नदेखिएको उल्लेख गरे ।
एमालेलाई बालेनको जबाफ— एक्स्प्रेस–वेमा हिँडेको गाडी गन्तव्यमा नपुगी ब्रेक लाग्दैन
‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालकै हो, हामीसँग प्रमाण छ’

प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले वर्तमान सरकार एक्स्प्रेस–वेमा हिँडेको गाडी भएकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताएका छन् । एमाले नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सलरेटर मात्रै नहुने भन्दै बेलाबेला ब्रेक पनि लगाउनुपर्ने भनी दिएको अभिव्यक्तिको जबाफमा बालेनले भने, ‘सरकार भनेको त गाडीजस्तै हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको भेटियो । त्यस्तो चिन्ताचाहिँ लोकल रोडमा सीधा गइरहँदा कहिले लेफ्टबाट गाडी, कहिले राइटबाट मान्छे आउँछ । हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन । हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ गन्तव्यमा पुग्नुअघि ब्रेक लाग्नु जरुरी नभएको बताउँदै उनले भने, ‘हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ ।’
जनताको भोट हावाजस्तै हुने र कहिले पूर्व र कहिले पश्चिमबाट बग्न सक्छ भन्नेलाई पनि बालेनले जबाफ दिए । उनले रास्वपाले हावा नल्याएको बताउँदै बाढी ल्याएर खोला नै परिवर्तन गरेको बताए । ‘जनताको भोट भनेको हावाजस्तो हुन्छ– कहिले यताबाट बग्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले बाढी ल्याएर खोला फर्काएका हौँ । खोला एक पटक आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटोमा बगिरहन्छ । हावाजस्तो पूर्व–पश्चिम बग्दैन । चिन्ता लिनुपर्दैन,’ उनले भने ।
महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही दलका नेताहरूले दिएको सुझावलाई पार्टीले गम्भीर रूपले लिएको जनाउँदै प्रधानमन्त्री बालेनले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले रास्वपा विकासवादी पार्टी भएको बताए । ‘रास्वपा लेफ्ट हो कि राइट हो कि सेन्टर हो भन्ने चिन्ता गर्नुपर्दैन । रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन,’ उनले भने । प्रधानमन्त्री बालेनले रास्वपा विगतका कुरामा निहुँ खोजेर बस्ने पार्टी नभएको, तर सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताए । विगतमा भएका फटाइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घन्टामात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने पनि उनले बताए । ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घन्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घन्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियमभन्दा बाहिर जाँदैनौँ,’ उनले भने । उनले आफ्नो पार्टी विकासवादी पार्टी भएको पनि जिकिर गरे । ‘हाम्रो पार्टी विकासवादी पार्टी हो । काम गर्ने पार्टी हो । अघि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना पुराना कुरा लिएर निउँ खोज्दै बस्ने होइन,’ उनले भने ।
‘हाम्रो भूमिको प्रमाण हामीसँग छ’
प्रधानमन्त्री बालेनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ,’ उनले भने, ‘हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ । हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशंका लिनुपर्दैन । मेरो राष्ट्रियताप्रति कसैले शंका गर्नुपर्दैन ।’
‘अर्को चुनावमा नयाँ एजेन्डा लिएर जान्छौँ’
प्रधानमन्त्री बालेनले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने पनि बताए । उनले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’
‘पार्टीमा गुट, उपगुट नगरौँ’
वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट–उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । ‘राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन । समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रूख बनेर बीचबाट फोड्नु नपरोस् । हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ,’ उनले भने । उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पारे । अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘आज, भोलि र पर्सि ३ दिन पार्टीका बारेमा सोचौँ कुरा गरौँ, त्यसपछि ५ वर्ष देशका बारेमा सोचौँ ।’
सदन र सडकबाट उठाइएका कैयौँ प्रश्नको जबाफ बालेनले एकै मञ्चबाट दिए
प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई थर्काएका हुन् ?
सरकारी रकमको दुरुपयोग भएको छ भने त्यहाँ हामी निहुँ खोज्छौँ । त्यस्तो निहुँ खोज्ने क्रममा अख्तियारसँग ५ घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घन्टा मात्र होइन, ५ वर्ष पनि गर्छौँ । ५ वर्षसम्म अख्तियारसँग बसेर सरसल्लाह गरिन्छ । त्यसमा कसैले चिन्ता लिनुपर्दैन । हामी नियम–कानुन मिच्दैनौँ । नियमभित्र बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ ।
सीमा विवादमा बालेनको प्रष्टोक्ति
हामीले सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरूले पनि आपत्ति जनाउनुहुन्छ । हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ । र, त्यो प्रमाण ल्याउन ब्रिटिस शासनकालका अभिलेख खोज्नुपर्छ भने हामी खोज्छौँ । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रा छिमेकीसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ ।
पार्टीभित्र बालेन–रविको गुट छ ?
राम्रो नेता बन्न र राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूहको मायाले हुँदैन । त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला । अहिले नै त्यस्तो बिउ नरोपौँ, जुन भोलि रूख बनेर पार्टीलाई बीचबाट चिरोस् । यस्तो बिउ रोप्ने र यस्तो रूख हुर्काउने काम हामी नगरौँ । पुराना पार्टीहरूबाट हामीले यो पाठ सिकिसकेका छौँ ।
सुकुमवासी समस्या कहीले समाधान हुन्छ ?
सुकुमवासी समस्या समाधान गर्छौँ भनेका छौँ । हामी यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौँ । यही कार्यकालमा सहकारी समस्या पनि समाधान गर्छौँ ।
रास्वपाको विचार के हो ?
हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो कि सेन्टर हो भनेर धेरै चिन्ता गरिराख्नुपर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो । विकास गर्ने र काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो । प्रतिशोध साध्ने र पुराना कुरामा अल्झिएर निहुँ खोज्दै बस्ने पार्टी होइन ।
प्रतिक्रिया