सिटिजन्स बैंकले सञ्चालक समितिमा ४ जना निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ८औँ विशेष साधारण सभा बुधबार काठमाडौंमा रहेको बैंकको कार्यालयमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा बसेको सभाले बैंकको पुँजीगत आधार सुदृढ बनाउन र व्यवसाय विस्तार गर्न २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।

प्राथमिक पुँजीको अनुपात बढाउन र बैंकको जोखिम बहन गर्न सक्ने क्षमता वृद्धि गर्न यस्तो सेयर जारी गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। सभाले सञ्चालक समितिमा ४ जना नयाँ सदस्य निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयर धनीहरूको समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली तथा सर्वसाधारण सेयर धनीहरूको समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी निर्वाचित भए ।

नवनिर्वाचित सञ्चालक ज्ञवालीसँग नेपालका दुई ठूला वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकमा प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओका रूपमा काम गरेको लामो अनुभव छ । त्यस्तै, मैनाली बैंकिङ र उद्योग क्षेत्रका अनुभवी लगानीकर्ता हुन् भने पण्डितसँग नेपाल राष्ट्र बैंकमा २० वर्षभन्दा बढी काम गरेको र अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेको अनुभव छ ।

अर्का सञ्चालक खड्कासँग युएनडिपी, आइएलओ, जीआइजेट र अक्सफाम जस्ता अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा २० वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका आफ्ना २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ९४ शाखारहित बैंकिङ्ग एकाइहरू मार्फत सेवा दिँदै आएको छ ।

बैंकको तथ्यांक अनुसार हालसम्म करिब २० लाख ३२ हजार ग्राहकले यसबाट आधुनिक बैंकिङ सेवा लिइरहेका छन् । सभाले पारित गरेको नयाँ सेयर निष्कासनको निर्णयले बैंकको वित्तीय अवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया