
भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ ।
भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनः निर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनः निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ । समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो । आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ । नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ । सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको बताइएको छ ।
भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो । भक्तपुर दरबार क्षेत्र तथा अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ । चारैतिर बलियो पर्खालले घेरिएको तथा कलात्मक प्रवेशद्वारहरू रहेको यस आयताकार पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर–दक्षिण चौडाइ २४९ फिट र गहिराइ करिब १० फिट रहेको छ ।
नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको प्रारम्भतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना तथा ठूला मानव निर्मित पोखरीहरूमध्ये एक मानिन्छ । प्रारम्भमा ‘इन्द्र दह’ नामले परिचित यस पोखरीलाई १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गराएका थिए। नेपाल एकीकरणपछिको समयमा भीमसेन थापाको कार्यकालमा पुनः निर्माण गरी यसलाई ‘सिद्धपोखरी’ नामकरण गरिएको इतिहास रहेको छ ।
नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी तथा अन्य सम्पदाहरूको नियमित सरसफाइ, मर्मत तथा पुनः निर्माण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी










प्रतिक्रिया