भारतपछि चीन जाने तयारीमा परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने तयारीमा जुटेका छन् । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनाल अब उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ३१ जेठदेखि ३ असारसम्म ४ दिने भ्रमणका लागि मन्त्री खनाल बेइजिङ प्रस्थान गर्ने कार्यतालिका तय भएको छ ।

४ दिने भ्रमणका क्रममा मन्त्री खनालले असार १ र २ मा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नेछन् । भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक क्षेत्रीय विषयहरूमा विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ ।

स्रोतका अनुसार खनालको साथमा चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, सचिवालयका उपसचिव मधुसुधन भट्टराईसहित ५ जना रहनेछन् । खनाल भारत भ्रमणमा जानुअघि नै चीन भ्रमणबारे टुंगो लागेको थियो ।

चीन भ्रमणका क्रममा पूर्वाधार विकास, व्यापार घाटा न्यूनीकरण, कनेक्टिभिटी, सीमापार आवागमन, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरू मुख्य विषय बन्ने अपेक्षा गरिएको छ । चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदाय तथा डायस्पोराका प्रतिनिधिहरूसँग समेत भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ भने उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा अन्य औपचारिक कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री खनालले २२ जेठदेखि ३ दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी एस जयशंकर, सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए भने २ देशको साझा हितको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया