के पोर्चुगलले रोनाल्डोबिना अझ राम्रो खेल्छ ?

विश्वकपअघि बढ्दै बहस

लन्डन । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोको राष्ट्रिय टोलीसँगको यात्रा सन् २००३ अगस्ट २० मा सुरु भएको थियो । काजाकिस्तानविरुद्धको एक सामान्य मैत्रीपूर्ण खेलबाट सुरु भएको त्यो यात्रा २ दशकभन्दा बढी समयपछि पनि विश्व फुटबलको चर्चाको केन्द्रमा छ । त्यतिबेला उत्तरी पोर्चुगलको चाभेसमा भएको उक्त खेलमा केवल ८ हजार दर्शक उपस्थित थिए र मैदानको अवस्था यति कमजोर थियो कि घाँसलाई हरियो देखाउन रंगसमेत लगाइएको थियो । तर त्यही खेल रोनाल्डोको राष्ट्रिय टोलीको पहिलो उपस्थिति बनेर इतिहासमा दर्ज भयो ।
त्यसबेला कसैले पनि अनुमान गरेको थिएन कि माडेरामा जन्मिएका किशोर रोनाल्डो ३ वर्षपछि विश्वकपमा डेब्यु गर्नेछन् । अझ सन् २०२६ को विश्वकपमा आफ्नो छैटौँ विश्वकप खेल्ने खेलाडी बन्ने कल्पना त झन् असम्भवजस्तै थियो । तर अहिले ४१ वर्ष पुगेका रोनाल्डो अर्जेन्टिनाका लियोनेल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै ६ पटक विश्वकप खेल्ने दुर्लभ खेलाडीको सूचीमा उभिएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४३ गोल गर्ने खेलाडी रोनाल्डोले केवल व्यक्तिगत कीर्तिमान मात्र बनाएका छैनन्, उनले पोर्चुगिज फुटबलको मानसिकता नै परिवर्तन गरिदिएका छन् । उनको आगमनपछि पोर्चुगलले आफूलाई विश्व फुटबलको शक्तिशाली राष्ट्रका रूपमा स्थापित गर्न थालेको हो ।

स्पोर्टिङ क्लब र राष्ट्रिय टोलीमा रोनाल्डोसँग काम गरिसकेका जोआँ आरोसोका भन्छन्, ‘हामी सानो देश हौँ, जसको प्रभाव विश्वस्तरमा फुटबलबाहेक अरू क्षेत्रमा सीमित छ । तर रोनाल्डोले हाम्रो देशलाई विश्वभर चिनाएका छन् । उनले पोर्चुगललाई गौरव दिलाएका छन् ।’ तर समयसँगै एउटा नयाँ बहस पनि चर्किंदै गएको छ – के पोर्चुगल रोनाल्डोबिना अझ राम्रो खेल्छ ? लामो समयसम्म रोनाल्डोको राष्ट्रिय टोलीमा स्थानमाथि प्रश्न उठाउनु लगभग राष्ट्रद्रोहसरह मानिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । कतिपय पूर्वखेलाडी, विश्लेषक र समर्थकहरू रोनाल्डोको भूमिकाबारे खुलेर बहस गर्न थालेका छन् । सन् १९६६ विश्वकपमा तेस्रो स्थान हासिल गरेको पोर्चुगल टोलीका सदस्य एन्टोनियो सिमोएसले रोनाल्डोमाथि कडा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘उनी जित्नका लागि होइन, मुख्य पात्र बन्नका लागि खेल्छन् । युसेबियोसँग उनको यही फरक छ । म तथ्यलाई बेवास्ता गर्न सक्दिनँ ।’

यद्यपि, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले यस्ता बहसलाई गम्भीर रूपमा लिएका छैनन् । उनले बारम्बार रोनाल्डोको प्रदर्शनलाई आधार बनाएर उनको चयन उचित रहेको बताएका छन् । मार्टिनेज भन्छन्, ‘हामी सबै समयका महान खेलाडीबारे कुरा गरिरहेका छौँ । उनी अतीतका उपलब्धिका कारण टोलीमा छैनन्, वर्तमान प्रदर्शनका कारण छन् । पछिल्ला ३१ खेलमा उनले २५ गोल गरेका छन्, जुन असाधारण तथ्यांक हो ।’ रोनाल्डोले अहिलेसम्म खेलेका पाँचै विश्वकपमा गोल गरेका छन् । यसपटक पनि आलोचकलाई जबाफ दिने अवसर उनीसँग हुनेछ । उनका नाममा विश्वकपमा ८ गोल छन्, जुन पोर्चुगलका महान खेलाडी युसेबियोको ९ गोलको कीर्तिमानभन्दा केवल १ गोलले कम हो ।

पूर्वपोर्चुगल अन्तर्राष्ट्रिय खेलाडी अबेल जाभियरका अनुसार रोनाल्डोको अनुभव टोलीका लागि अत्यन्त महत्वपूर्ण छ । ‘ठुला क्षणलाई बुझ्ने क्षमता रोनाल्डोमा अरू धेरै खेलाडीभन्दा बढी छ । विश्वकपजस्तो प्रतियोगितामा यस्तो अनुभव निर्णायक हुन सक्छ,’ उनले भने, ‘धेरै मानिसले केवल उनको शारीरिक अवस्थाबारे कुरा गर्छन् । तर मानसिक र प्राविधिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ । युवा खेलाडीहरू उनलाई आदर्श मान्छन् र उनले टोलीलाई निरन्तर ऊर्जा दिन्छन् ।’ सन् २००३ मा रोनाल्डोको पहिलो अन्तर्राष्ट्रिय खेलमा सँगै मैदान उत्रिएका पूर्वगोलरक्षक रिकार्डो पनि यस्तै धारणा राख्छन् । उनले भने, ‘सायद अहिले उनको गति केही कम भएको होला । पहिले २०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन्थे भने अहिले १९५ किमी प्रतिघण्टाको गतिमा दौडिन्छन् । तर त्यो अझै पनि निकै उच्च स्तर हो ।’

मार्टिनेजले सन् २०२३ मा टोली सम्हालेपछि पोर्चुगलले खेलेका ३९ खेलमध्ये ३१ खेलमा रोनाल्डो मैदानमा उत्रिएका छन् । उनको अनुपस्थितिमा पोर्चुगलले केही प्रभावशाली जित पनि निकालेको छ । सेप्टेम्बर २०२३ मा लक्जेम्बर्गलाई ९–० ले पराजित गर्दा रोनाल्डो टोलीमा थिएनन् । त्यसैगरी, गत नोभेम्बरमा आर्मेनियामाथि ९–१ को सानदार जित हासिल गर्दा पनि उनी अनुपस्थित थिए । यी नतिजापछि फेरि प्रश्न उठ्न थाल्यो – के पोर्चुगल रोनाल्डोबिना अझ राम्रो खेल्छ ? फुटबल विश्लेषक सोफिया ओलिभेराले भनेकी छन्, ‘विश्वकप जित्ने लक्ष्य राखेको टोलीका लागि रोनाल्डो अब नियमित सुरुआती खेलाडी हुनुपर्छ भन्ने मलाई लाग्दैन । तर समस्या के हो भने राष्ट्रिय टोलीले अहिलेसम्म त्यसको तयारी नै गरेको छैन ।’

रोनाल्डोजस्ता प्रभावशाली खेलाडीलाई व्यवस्थापन गर्नु कुनै पनि प्रशिक्षकका लागि सजिलो काम होइन । सन् २०२२ को विश्वकपमा तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राखेपछि सामाजिक सञ्जालमा ठुलो विवाद भएको थियो । रोनाल्डोका परिवारका सदस्यहरूले समेत सार्वजनिक आलोचना गरेका थिए । केही समयपछि सान्तोसले पद छाडे । यसै कारण धेरैले मार्टिनेजलाई पनि आवश्यक परे रोनाल्डोलाई बेन्चमा राख्न सक्नुहुन्छ कि सक्नुहुन्न ? भन्ने प्रश्न उठाउने गरेका छन् । तर मार्टिनेजले यस्तो सम्भावनालाई ठुलो विषय मान्न अस्वीकार गरेका छन् ।

पोर्चुगल फुटबल महासंघ (एफपिएफ) का अध्यक्ष पेड्रो प्रोएन्साले समेत हालै रोनाल्डोको प्रभावबारे प्रतिक्रिया दिनुपरेको थियो । यदि मार्टिनेजले पद छाडे भने नयाँ प्रशिक्षक चयनमा रोनाल्डोको भूमिका हुन्छ कि हुँदैन भन्ने प्रश्नको जबाफ दिँदै उनले त्यस्तो कुनै प्रभाव नरहेको स्पष्ट पारे । यद्यपि रोनाल्डोको प्रभाव अझै बलियो देखिन्छ । केही महिनाअघि एफपिएफले रोनाल्डोको स्वामित्व रहेको शारीरिक पुनःस्थापना कम्पनी एभिए सीआर–७ सँग साझेदारी गरेपछि विभिन्न प्रश्न उठेका थिए । महासंघले भने यसमा कुनै स्वार्थको द्वन्द्व नरहेको जनाएको छ । एफपिएफका अनुसार, ‘यो साझेदारी सम्पूर्ण नियमअनुसार गरिएको हो । रोनाल्डो स्वयं कुनै पनि वार्तामा सहभागी थिएनन् ।’

रोनाल्डोको करियर अन्त्यतर्फ अघि बढिरहेका बेला पोर्चुगल फुटबलको भविष्यबारे पनि चर्चा सुरु भएको छ । एफपिएफले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार सन् २०२६–२७ का लागि १६१ मिलियन युरो आम्दानीको लक्ष्य राखिएको छ, जुन इतिहासकै उच्च हुनेछ । अध्यक्ष प्रोएन्साले भने, ‘हामी रोनाल्डोपछि आउने समयका लागि तयार छौँ । तर यसलाई नाटकीय रूपमा हेर्न आवश्यक छैन । रोनाल्डो सधैँ पोर्चुगलसँग जोडिएका रहनेछन् । उनी केवल फुटबलर होइनन्, राष्ट्रिय पहिचानका प्रतीक हुन् ।’

२ दशकभन्दा बढी समय बितिसक्दा पनि क्रिस्टियानो रोनाल्डो पोर्चुगिज फुटबलको केन्द्रमा छन् । आलोचना, समर्थन र बहसबीच अब उनको अन्तिम विश्वकप यात्रा सुरु हुन लागेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा उनले आफ्नो देशलाई पहिलोपटक विश्वकप जिताउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर अब मैदानमै खोजिनेछ । (अल्भेस पोर्चुगिज फुटबल पत्रकार हुन्, जो हाल बिबिसी स्पोर्ट्ससँग आबद्ध छन् ।)

प्रतिक्रिया