
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा युरोपेली शक्ति बेल्जियम, एसियाली प्रतिनिधि इरान, अफ्रिकी राष्ट्र इजिप्ट तथा ओसिनियाको टोली न्युजिल्यान्ड प्रतिस्पर्धामा रहेका छन् । यस समूहलाई विशेष बनाउने पक्ष भनेको चारै टोलीको नेतृत्व अनुभवी तथा विश्व फुटबलमा स्थापित खेलाडीहरूले गरिरहेका छन् । बेल्जियमका केभिन डे ब्रुयने र रोमेलु लुकाकु, इरानका मेहदी तारेमी, इजिप्टका मोहम्मद सलाह तथा न्युजिल्यान्डका क्रिस वुड आफ्नो टोलीका प्रमुख आशा मानिएका खेलाडी हुन् ।
हालको फिफा वरीयताअनुसार बेल्जियम नवौँ स्थानमा रहेको छ । इरान २०औँ, इजिप्ट २९औँ तथा न्युजिल्यान्ड ८५औँ स्थानमा छन् । वरीयता र विगतका उपलब्धिहरूका आधारमा हेर्दा बेल्जियम समूहको सबैभन्दा बलियो टोलीका रूपमा अघि देखिएको छ । विश्वकप इतिहासमा बेल्जियमले सन् २०१८ मा रुसमा सम्पन्न प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो । तर इरान, इजिप्ट र न्युजिल्यान्ड भने अहिलेसम्म विश्वकपको समूह चरणभन्दा माथि उक्लिन सकेका छैनन् ।
यद्यपि यसपटक विश्वकपमा टोलीहरूको संख्या ३२ बाट बढाएर ४८ पु¥याइएकाले प्रतियोगिताको स्वरूप पनि परिवर्तन भएको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने ८ तेस्रो स्थानका टोलीहरू पनि नकआउट चरणमा पुग्ने व्यवस्था भएकाले इरान र इजिप्टका लागि दोस्रो चरणमा पुग्ने सम्भावना पहिलेको तुलनामा बढी देखिएको छ । बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ अर्थात् स्वर्णिम पुस्ताले सन् २०१० को दशकको सुरुआतदेखि विश्व फुटबलमा प्रभाव जमाएको थियो। त्यस टोलीमा इडेन हाजार्ड, भिन्सेन्ट कम्पनी, केभिन डे ब्रुयने, रोमेलु लुकाकु र थिबाउट कोर्टुआजस्ता खेलाडी थिए । अहिले हाजार्ड र कम्पनीले अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिइसकेका छन्, तर डे ब्रुयने, लुकाकु र कोर्टुआ अझै टोलीका मुख्य आधार बनेका छन् ।
बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले समूहका सबै टोलीप्रति सम्मान व्यक्त गर्दै आफ्नो टोलीको लक्ष्य समूह विजेता बन्ने रहेको बताएका छन् । उनका अनुसार इजिप्ट अफ्रिकाको उत्कृष्ट टोलीमध्ये एक हो भने इरान र न्युजिल्यान्डबारे पनि टोलीले गम्भीर अध्ययन गरिरहेको छ । मिडफिल्डर केभिन डे ब्रुयने बेल्जियमका सबैभन्दा प्रभावशाली खेलाडी मानिन्छन् । उत्कृष्ट पास वितरण, खेलको गति नियन्त्रण तथा गोल गर्ने क्षमताका कारण उनी विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये गनिन्छन् ।
क्लब फुटबलमा उनले जर्मनी, इंग्ल्यान्ड र इटालीका विभिन्न लिगहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् । सन् २०१४ यता बेल्जियमको प्रमुख खेलाडीका रूपमा निरन्तर खेलिरहेका डे ब्रुयने टोलीका दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् । अर्कोतर्फ, स्ट्राइकर रोमेलु लुकाकु बेल्जियमको आक्रमणको मुख्य हतियार हुन् । हालै क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गर्दै उनले १ वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय गोलको खाता खोलेका थिए । बेल्जियमका कप्तान युरी टिलेमान्सले उक्त गोललाई विश्वकपअघि टोलीका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।
इजिप्ट : सलाहमाथि ठुलो अपेक्षा
अफ्रिकी फुटबलको महत्वपूर्ण राष्ट्र इजिप्ट विश्वकपमा सहभागी हुने पहिलो अफ्रिकी टोलीसमेत हो । उसले पहिलोपटक सन् १९३४ मा विश्वकप खेलेको थियो । यसपटक इजिप्ट चौथोपटक विश्वकपमा सहभागी हुँदै छ र समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । इजिप्टका सबैभन्दा चर्चित खेलाडी मोहम्मद सलाह हुन् । राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सलाहका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ । त्यसैले उनी आफ्नो देशलाई विश्वकप इतिहासकै पहिलो जित दिलाउने लक्ष्यमा छन् ।
सन् २०१८ को विश्वकपमा चोटका कारण अपेक्षित प्रदर्शन गर्न नसकेका सलाह यसपटक पनि पूर्ण फिटनेसको चुनौतीसँग जुधिरहेका छन् । अप्रिल महिनाको अन्त्यतिर लागेको ह्यामस्ट्रिङ चोटका कारण उनको अवस्थाबारे केही चिन्ता व्यक्त गरिएको छ । तथापि, फिट भएमा उनी इजिप्टका लागि सबैभन्दा ठुलो आशा रहनेछन् । सलाहका साथ आक्रमणमा देखिने ओमार मार्मुश पनि इजिप्टका महत्वपूर्ण खेलाडी हुन् । २७ वर्षीय मार्मुसले सन् २०२५ मा म्यानचेस्टर सिटीमा आबद्ध भएपछि इंग्लिस लिग कप र एफए कप जित्न सफल भएका थिए । उनको गति, प्राविधिक क्षमता र गोल गर्ने शैलीले इजिप्टको आक्रमणलाई थप मजबुत बनाएको छ ।
इरान : इतिहास बदल्ने लक्ष्य
इरान सातौँपटक विश्वकपको अन्तिम चरणमा पुगेको हो । यद्यपि टोलीले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । त्यसका बाबजुद इरानले विश्वकपमा केही सम्झनलायक जितहरू हासिल गरेको छ । सन् १९९८ मा संयुक्त राज्य अमेरिकालाई २–१ ले पराजित गरेको इरानले सन् २०१८ मा मोरक्कोलाई १–० तथा सन् २०२२ मा वेल्सलाई २–० ले हराएको थियो । यसपटक इरान आफ्नो पुरानो इतिहास तोड्दै पहिलोपटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । इरानका मुख्य स्टार खेलाडी मेहदी तारेमी हुन् । गोल गर्ने क्षमताका कारण चर्चित तारेमीले युरोपेली क्लब फुटबलमा पनि सफल करिअर बनाएका छन् ।
उनले पोर्चुगलको पोर्टोसँग रहँदा लिग उपाधिसहित विभिन्न घरेलु प्रतियोगिताहरू जितेका थिए । त्यसपछि इटालीको इन्टर मिलानमा एक सिजन बिताएर सन् २०२५ मा ग्रिसको ओलम्पियाकोसमा आबद्ध भएका थिए । तारेमीलाई सहयोग गर्ने खेलाडीका रूपमा डेनिस दार्घाहीलाई हेरिएको छ । बेल्जियमको शीर्ष डिभिजन क्लब स्ट्यान्डर्ड लिजका फरवार्ड दार्घाहीले इरानको आक्रमणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्ड : पहिलो जितको खोजीमा
न्युजिल्यान्ड तेस्रोपटक विश्वकपको अन्तिम चरणमा पुगेको हो । सन् १९८२ मा पहिलो सहभागितामा उसले ३ वटै खेल गुमाएको थियो भने सन् २०१० मा ३ वटै खेल बराबरी खेलेर प्रतियोगिता समाप्त गरेको थियो । त्यसैले टोली अहिले विश्वकप इतिहासकै पहिलो जितको खोजीमा छ । टोलीका कप्तान तथा मुख्य स्ट्राइकर क्रिस वुड न्युजिल्यान्डका सबैभन्दा भरपर्दा खेलाडी मानिन्छन् । उनले राष्ट्रिय टोलीका लागि ८९ खेलमा ४५ गोल गरिसकेका छन् । इंग्लिस क्लब नटिङ्घम फरेस्टबाट खेल्ने वुडको अनुभव न्युजिल्यान्डका लागि महत्वपूर्ण हुनेछ ।
रक्षक टमी स्मिथ पनि टोलीका अनुभवी सदस्यमध्ये एक हुन् । उनी र क्रिस वुड सन् २०१० को विश्वकपमा खेल्ने वर्तमान टोलीका र्२ मात्र खेलाडी हुन् । त्यसैले उनीहरूको अनुभवले युवा खेलाडीहरूलाई प्रेरणा दिने अपेक्षा गरिएको छ । समग्रमा समूह ‘जी’ मा बेल्जियम स्पष्ट रूपमा सबैभन्दा बलियो टोली देखिए पनि इजिप्ट र इरानले नकआउट चरणमा स्थान बनाउन कडा चुनौती दिने सम्भावना छ । न्युजिल्यान्डले पनि पहिलो विश्वकप जितको लक्ष्यसहित प्रतिस्पर्धा गर्ने भएकाले यो समूह रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया