इतिहास, तथ्यांक र दाबेदार खेलाडीहरूको विश्लेषण

विश्वकपमा गोल्डेन बुट कसले जित्ला ?

काठमाडौँ । फुटबल विश्वकपमा टोलीले जित्ने सबैभन्दा ठुलो पुरस्कार ट्रफी भए पनि व्यक्तिगत रूपमा खेलाडीहरूले जित्न चाहने प्रतिष्ठित पुरस्कारमध्ये ‘गोल्डेन बुट’ प्रमुख मानिन्छ । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो पुरस्कारले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्ने गर्दछ । सन् २०२२ को कतार विश्वकपमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । तर फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पराजित भएपछि पुरस्कार ग्रहण गर्दा उनी मुस्कुराउन सकेका थिएनन् ।

विश्वकपमा धेरै गोल गर्नु मात्रै पर्याप्त हुँदैन, तर उत्कृष्ट गोलकर्ता भएको टोलीसँग उपाधि जित्ने सम्भावना भने बढी रहन्छ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप नजिकिँदै जाँदा गोल्डेन बुटका सम्भावित दाबेदारहरूबारे चर्चा सुरु भएको छ । विगतका विजेताहरूको इतिहास, उमेर, टोलीको प्रदर्शन तथा व्यक्तिगत क्षमताका आधारमा यस पटकका सम्भावित विजेताहरूको विश्लेषण गरिएको छ ।

इतिहास हेर्दा ३० वर्षभन्दा माथिका खेलाडीको दाबेदारी कम

विश्वकप गोल्डेन बुट जित्ने खेलाडीहरूको इतिहास हेर्दा अधिकांश विजेता युवा उमेर समूहका रहेका छन् । अहिलेसम्म ३० वर्ष वा सोभन्दा बढी उमेरमा गोल्डेन बुट जित्ने खेलाडी केवल १ जना मात्र छन् । सन् १९९८ को फ्रान्स विश्वकपमा क्रोएसियाका डाभोर सुकरले ३० वर्षको उमेरमा ६ गोल गर्दै यो उपलब्धि हासिल गरेका थिए । त्यसबाहेक अधिकांश विजेताहरू २० देखि २९ वर्ष उमेर समूहका छन् । इतिहासअनुसार गोल्डेन बुट विजेताको औसत उमेर २४.७ वर्ष रहेको छ । कतार विश्वकपमा २४ वर्षीय एम्बाप्पेले ८ गोल गरे भने ३५ वर्षीय लियोनल मेसी ७ गोलमा सीमित भएका थिए । विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा गोल्डेन बुट जित्ने कीर्तिमान हंगेरीका फ्लोरियन अल्बर्टको नाममा छ । उनले सन् १९६२ को चिली विश्वकपमा २० वर्ष ८ महिनाको उमेरमा संयुक्त रूपमा शीर्ष गोलकर्ताको सम्मान प्राप्त गरेका थिए । यस पटक स्पेनका युवा स्टार लामिन यमालले पनि उक्त कीर्तिमानलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

टोलीको सफलतासँग जोडिएको गोल्डेन बुट

गोल्डेन बुट जित्न व्यक्तिगत प्रतिभा मात्रै पर्याप्त हुँदैन । खेलाडीलाई गोलका अवसर सिर्जना गर्ने बलियो टोली र विश्वकपमा लामो यात्रा तय गर्ने क्षमता आवश्यक हुन्छ । यही कारणले विश्वकपको सफल टोली ब्राजिलले सर्वाधिक गोल्डेन बुट विजेता खेलाडी उत्पादन गरेको छ । ब्राजिलका लियोनिदासले सन् १९३८ मा पहिलो पटक गोल्डेन बुट जितेका थिए भने रोनाल्डोले सन् २००२ मा ब्राजिलका लागि पछिल्लोपटक यो उपलब्धि हासिल गरेका थिए ।

समूह चरणमा धेरै गोल गर्नु महत्वपूर्ण भए पनि नकआउट चरणमा पुग्न नसके गोल्डेन बुट जित्ने सम्भावना कम हुन्छ । उदाहरणका लागि, सन् २०१८ को रुस विश्वकपमा क्रिस्टियानो रोनाल्डोले समूह चरणमै ४ गोल गरे । तर पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि उनी थप गोल गर्न सकेनन् । त्यसै प्रतियोगितामा ह्यारी केनले ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पु¥याएका थिए र गोल्डेन बुट जितेका थिए । यद्यपि, अपवादका रूपमा रूसका ओलेग सालेन्कोको उदाहरण उल्लेखनीय छ । सन् १९९४ को विश्वकपमा उनको टोली समूह चरणबाटै बाहिरिए पनि क्यामरुनविरुद्ध एकै खेलमा ५ गोल गरेपछि उनले कुल ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई फाइदा

विश्वकपअघि क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बुट जित्ने सम्भावना बढी देखिन्छ । जर्मनीका थोमस मुलर यसको उत्कृष्ट उदाहरण हुन् । सन् २०१० को दक्षिण अफ्रिका विश्वकपअघि मुलरले जर्मनीका लागि कुनै गोल गरेका थिएनन् । तर बायर्न म्युनिखमा प्रशिक्षक लुइस भान गालको आगमनपछि उनले नियमित अवसर पाए । उनले त्यस सिजन बुन्डेसलिगामा १३ गोल र ११ असिस्ट गरेका थिए । उत्कृष्ट लयमा रहेका मुलरले विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुट जिते । इतिहास हेर्दा घरेलु लिगमा शीर्ष चारभित्र नपरेका क्लबका खेलाडीले विश्वकप गोल्डेन बुट जितेको घटना निकै दुर्लभ छ । यसले विश्वकपअघि क्लब स्तरमा उत्कृष्ट प्रदर्शनको महत्व स्पष्ट पार्छ ।

गोल मात्र होइन, असिस्ट पनि महत्वपूर्ण

विश्वकपमा शीर्ष गोलकर्ताहरूको संख्या बराबर भएमा विजेता निर्धारण गर्न असिस्टको संख्या गणना गरिन्छ । सन् २०१० विश्वकपमा मुलर, डिएगो फोर्लान, डेभिड भिल्ला र वेस्ली स्नाइडर सबैले ५–५ गोल गरेका थिए । तर मुलरले ३ असिस्ट दिएका कारण उनले गोल्डेन बुट जिते । यदि गोल र असिस्ट दुवै बराबर भएमा कम समय खेलेको खेलाडीलाई विजेता घोषणा गरिन्छ ।

यी हुन् आसन्न विश्वकपका प्रमुख दाबेदार

सन् २०२६ विश्वकपमा गोल्डेन बुट जित्ने सम्भावित खेलाडीहरूको सूचीमा सबैभन्दा अगाडि फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । उनले पछिल्ला २ विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शन गरेका छन् । २०१८ मा ४ गोल र २०२२ मा ८ गोल गरेका एम्बाप्पे फ्रान्सको मुख्य आक्रमणकारी शक्ति हुन् ।

अर्जेन्टिनाका लागि लियोनल मेसी अझै सम्भावित दाबेदार मानिए पनि उनको उमेर चुनौती बन्न सक्छ । यद्यपि अर्जेन्टिनासँग लाउटारो मार्टिनेज र जुलियन अल्भारेजजस्ता बलिया विकल्प पनि छन् । मार्टिनेजले कोपा अमेरिका २०२४ मा ५ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए भने अल्भारेज युरोपका चर्चित स्ट्राइकरमध्ये एक मानिन्छन् ।

अप्रत्याशित दाबेदारहरू पनि मैदानमा

स्पेनका मिकेल ओयारजाबालले युरो २०२४ को फाइनलमा निर्णायक गोल गरेका थिए । विश्वकप छनोटमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । लामिन यमाल र निको विलियम्सजस्ता रचनात्मक खेलाडीको साथ पाए उनी गोल्डेन बुटको प्रतिस्पर्धामा देखिन सक्छन् । स्विडेनका अलेक्जेन्डर इसाक र भिक्टर ग्योकेरेस पनि सम्भावित दाबेदार हुन् । चोटका कारण प्रभावित सिजनपछि ताजा अवस्थामा विश्वकप खेल्न पाउनु उनीहरूको फाइदा बन्न सक्छ । नर्वेलाई २८ वर्षपछि विश्वकपमा पु¥याएका अर्लिङ हालान्डलाई पनि गोल्डेन बुटको दाबेदार मान्न सकिने आधार छ । उनले छनोट चरणको लय विश्वकपमा कायम राख्न सकेमा उनले गोल्डेन बुट जित्न सक्छन् ।

ब्राजिलका राफिन्हा, भिनिसियस जुनियर र इगोर थियागो पनि गोलको खोजीमा रहनेछन् । विशेष गरी राफिन्हाले चोटका बाबजुद उत्कृष्ट आक्रमण क्षमता देखाएका छन् । फ्रान्सका माइकल ओलिसेले बायर्न म्युनिखका लागि पछिल्लो सिजन २२ गोल र ३० असिस्ट गरेका छन् । उनी मुख्यतः अवसर सिर्जना गर्ने खेलाडी भए पनि फ्रान्सले बनाउने धेरै अवसरका कारण गोल्डेन बुट प्रतिस्पर्धामा देखिन सक्छन् ।

त्यसैगरी बेल्जियमका रोमेलु लुकाकुलाई पनि पूर्ण रूपमा बेवास्ता गर्न सकिँदैन । बेल्जियमसँग सशक्त मिडफिल्ड र आक्रमण संयोजन रहेको छ । यदि समूह चरणमा उनले कुनै खेलमा धेरै गोल गर्न सके भने उनी पनि शीर्ष गोलकर्ताको दौडमा आउन सक्छन् । विश्वकप इतिहासले देखाएको छ कि गोल्डेन बुट जित्न प्रतिभा, उत्कृष्ट टोली, राम्रो लय र प्रतियोगितामा लामो यात्रा आवश्यक हुन्छ । सन् २०२६ मा यी सबै गुण कसले प्रदर्शन गर्छ भन्ने प्रश्नको उत्तर भने प्रतियोगिता सुरु भएपछि मात्र स्पष्ट हुनेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया