
काठमाडौँ । काठमाडौँ–नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले नेपाललाई थप ५ अर्ब ७० करोड जापानी येन ऋण सहायता उपलब्ध गराउने भएको छ । बुधबार नेपाल सरकार र जापान सरकारबीच नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापानी येन ५ हजार ७०० मिलियन अर्थात करिब ५ अर्ब २६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौता भएको हो । ऋण सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा.धनीराम शर्माले तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरे ।
यस ऋणको ब्याजदर वार्षिक १.९५ प्रतिशत रहनेछ, भने परामर्श सेवाका लागि उपयोग हुने रकममा वार्षिक ०.५५ प्रतिशत ब्याजदर लाग्नेछ । ऋण भुक्तानी अवधि २० वर्ष तथा ग्रेसअवधि १० वर्ष रहने व्यवस्था रहेको छ ।
नयाँ ऋण सहायता स्वीकृत भएसँगै नागढुंगा सुरुङमार्ग आयोजनामा जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ । यसअघि सन् २०१६ डिसेम्बरमा जापानले उक्त आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो ।
आयोजना कार्यान्वयनका क्रममा मूल्य समायोजन, सुरुङ निर्माण कार्यको परिमाण तथा डिजाइनमा परिवर्तन, थप निर्माण कार्यको आवश्यकता, कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा विनिमय दरमा आएको परिवर्तन लगायतका कारण आयोजनाको लागि थप बजेट आवश्यक परेको अर्थ मन्त्रालयले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै अर्थसचिव डा. घनश्याम उपाध्यायले नेपाल–जापानबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउन यस ऋण सहयोगले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले नागढुंगा सुरुङमार्गले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन, सडक सुरक्षा तथा व्यापारिक आवागमनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए । जापानी राजदूत महामहिम तोरु मायेदाले नेपालको पूर्वाधार विकासमा जापान सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोजना सफलतापूर्वक छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
सन् २०१९ मा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङ परियोजनामध्ये एक हो । राजधानी प्रवेशद्वारमा पर्ने यस सुरुङ सञ्चालनमा आएपछि काठमाडौँ–नागढुंगा खण्डको यातायात व्यवस्थापन सहज हुने, यात्रा समय घट्ने तथा सवारी जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सरकारले आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै आगामी साउन महिनादेखि सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । आयोजना सम्पन्न भएपछि काठमाडौँ उपत्यका र देशका अन्य भागबीचको सडक आवागमन थप सुरक्षित, छिटो र व्यवस्थित हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया