अब ५०० रुपैयाँसम्मको सामानमा भन्सार छुट

काठमाडौँ । सरकारले लामो समयदेखि जारी रहेको व्यवस्था परिवर्तन गर्दै स्थल मार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिले ल्याउन र लान पाउने वस्तुमा पाउने भन्सार छुुटको सीमा बढाएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६६÷६७ देखि लागू गरिएको १०० रुपैयाँ मूल्य बराबरको सामान ल्याउँदा र लैजाँदा भन्सार नलाग्ने सीमा बढाएर ५०० रुपैयाँ बनाएको हो । राजपत्रमा प्रकाशित सूचनामा ५०० रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ । स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था छ ।

यसअघिको व्यवस्थामा स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिले १०० रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै कुनै पनि स्थल नाकाबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएको थियो । जसकारण सरकारले आलोचना र प्रशंसा दुवै खेप्नुपरेको थियो । यसअघिका सरकारले १०० रुपैयाँभन्दा बढी रकमको सामान ल्याउँदा वा लैजाँदा भन्सार लाग्ने व्यवस्था कार्यान्वयनमा ध्यान दिएका थिएनन् ।

तर, वर्तमान सरकारले उक्त व्यवस्था कार्यान्वयन गर्दै भन्सारमा कडाइ गरेपछि विशेषगरी भारतसँग सीमा जोडिएका नाकापारिका बजार सुनसान र नेपालतर्फ चहलपहल बढेको थियो । उक्त व्यवस्था कार्यान्वयनमा कडाइ गर्नुपूर्व भारतीय बजार नेपाली उपभोक्तामै निर्भर थिए । पुरानै व्यवस्था कार्यान्वयन गर्दा भारतीय बजार सुनसान हुँदा प्रधानमन्त्री बालेनविरुद्ध भारतीय व्यापारीहरूले विरोध प्रदर्शन नै गरेका थिए । यता नेपालतर्फका व्यापारी भने खुसी थिए ।

सीमाबाट हुने अवैध कारोबार र राजस्व चुहावट रोक्न यो कदम आवश्यक रहेको भन्दै नयाँ सरकारले नियम कार्यान्वयनमा कडाइ गरेको थियो । यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचनाअनुसार सीमा नाकामा १०० रुपैयाँभन्दा माथिको वस्तु भन्सार नतिरी भित्र्याउन नपाउने नियम राखिएको थियो । सो नियम कार्यान्वयन गर्दा केही साताअघि सीमा नाकामा तनाव भएको थियो । यो विषय सडकदेखि संसद्मा समेत पुगेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो नियम अघिल्ला सरकारले बनाएको भन्दै यस पटक छुट सीमा बढाउने आश्वासन दिएका थिए ।

नयाँ व्यवस्था लागू गर्न कुनै समस्या नभएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए । उनले भने, ‘निजी प्रयोजनका लागि ल्याउनेलाई एक पटकका लागि छुट दिन सकिन्छ । तर, पटकपटक ल्याउने साथै चोरी तस्करी प्रयोजनका लागि हो भन्ने शंका लाग्नेबित्तिकै समातिन्छ ।’
धेरै वस्तु आयात हुने तथा राजस्व संकलन पनि धेरै हुने नाका वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह बिष्टका अनुसार स्थलगत रूपमा आवतजावत गर्नेहरूले दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन् । उनले भने, ‘तस्करी हो वा निजी प्रयोजनका लागि ल्याइएको भन्ने छुट्याउन समस्या हुने गरेको छ ।’

यता, उपभोक्ता अधिकारकर्मीहरूले भने आफूहरूले त्यसरी ल्याउन पाउने सामानको सीमा ५ हजार रुपैयाँ राख्दा उपयुक्त हुने सुझाव दिइए पनि ५०० मात्रै राख्दा आममानिसलाई कुनै राहत नहुने बताएका छन् । कतिपयले त सरकारले गरिब जनतालाई संकटमा पार्ने काम गरिरहेको भन्दै विरोधसमेत जनाएका छन् । नेपालमा महँगीले आकाश छोएको अवस्थामा निम्न आय हुनेका लागि सरकारले केही सहज गरिदिनुपर्नेमा ५०० को सीमा राख्दा कुनै राहत नहुने उनीहरूको गुनासो छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा कतिपय खाद्यान्न, चिनीलगायत दैनिक उपभोग्य वस्तुको भाउ नेपाली रुपैयाँमै ठिक आधा पर्ने हुँदा सर्वसाधारणको रोजाइमा भारतीय बजार पर्ने गरेको छ ।

प्रतिक्रिया