श्रीखण्ड कि खुर्पाको बिँड !

डा. भोला थापा, सिमरन परियार

‘मेड इन नेपाल’ फर्निचरलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सकियो भने, नेपालले निर्यातमार्फत ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्छ । नेपाली काठको हस्तकला र मौलिक डिजाइन विश्व बजारमा फरक पहिचान बनाउन सक्ने क्षमता राख्छ ।


बिहानीको मदानी र स्मृतिमा गढेको काठको सुगन्ध


नेपाली ग्रामीण समाजको बिहानी केवल सूर्यको किरणसँगै मात्र सुरु हुँदैनथ्यो, त्यो त ‘घार्र… घुर्र…’ गर्ने मदानीको लयसँगै सुरु हुन्थ्यो । हामीमध्ये धेरैजना मदानी र ठेकीको काठको सुगन्ध सुँघ्दै हुर्कियौँ । काठको त्यो ठेकीमा जब दही मन्थन हुन्थ्यो, त्यसले केवल नौनी मात्र दिँदैनथ्यो, एउटा जीवन्त संस्कृति र प्रविधिको परिचय पनि दिन्थ्यो । काठसँगको हाम्रो सम्बन्ध केवल भौतिक मात्र छैन, यो भावनात्मक र आध्यात्मिक पनि छ । बच्चाको न्वारनमा गर्ने हवन होस् वा मृत्युपश्चात् दिइने अन्तिम दागबत्ती, काठबाटै बनेको सुरोे प्रयोग हुन्छ । खेलौनादेखि सुरक्षित घर, पानीमा तैरिने डुंगा र कलात्मक फर्निचरदेखि भव्य मन्दिरसम्म जे पनि काठको प्रयोग भएको पाइन्छ । ठेकी बनाउन मोही पारेको जस्तै हातैले डोरी तान्दै काठको मुढा घुमाएर गोलाइ काटनुपथ्र्यो । पानीको स्रोत भएको ठाउँमा पानीघट्ट जस्तै मदानीलाई पानीले घुमाएर अझै गोलाइ काटिन्छ । अर्कोतर्फ पानीघट्टको मदानी नै काठबाट बन्छ । यो काठ र यन्त्र एकअर्काका परिपुरक भएको उदाहरण हो । हाम्रो मूल अध्ययन र अनुसन्धान पानीघट्टजस्तै टर्वाइन बनाउन हो । हाम्रो दैनिकी यसकै लागि काठमाडौँ विश्वविद्यालयको टर्वाइन टेस्टिङ ल्याबमा बित्छ, फलाममा मात्र होइन, काठमा पनि प्रविधि र कला सृजन गर्न ।


निर्माणमा बाहेक नेपालका वास्नादार र औषधीय गुण भएका रूखहरू जस्तै चन्दन, धुपी, सतीसाल आदिको प्रयोग टीका लगाउन र धुप बाल्न मात्र होइन, त्यसबाट कलात्मक र उपयोगी बस्तु बनाई काठको मूल्य अभिवृद्धि गर्नु हाम्रो सपना हो ।
काठको बहुउपयोगीता हुँदाहुँदै हाम्रो उखान छ, ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’। काठका प्रकार र वास्नादार गुणका कारण त यो उखान ठिकै होला, तर काठको शिल्प र इन्जिनियरिङको सन्दर्भमा यो उखान मिल्दो छैन । कामै नलाग्ने काठको ठुटोलाई बिँडमा बदल्नु सीप मात्र होइन, यो इन्जिनियरिङ पनि हो । एउटा औजारको सफलता पछाडि त्यसको बिँडको ठुलो योगदान हुन्छ ।


काठसँग नेपालीको आत्मीयता


नेपालका विभिन्न जातजाति र समुदायहरूको आफ्नै विशिष्ट काष्ठ–परम्परा रहेको छ । पहाडी क्षेत्रका मानिसहरू ओखर र सालका काठलाई आफ्नो जीवनशैलीसँग गहिरो रूपमा जोडेर प्रयोग गर्छन् भने तराईका समुदायहरूले सिसौ, साल जस्ता काठ प्रयोग गर्ने गरेका छन् । अन्य प्रकारका काठलाई कुकाठ नै भने पनि, तिनका उपयोग विविध प्रयोजनका लागि हुन्छ ।
पुराना घरहरूका काठबाट बनेका खम्बा, थाम र दलिन केवल घर थाम्ने स्ट्रक्चरल संरचना मात्र थिएनन्, झ्याल ढोकाहरूमा प्रशस्त कला घुसेका हुन्थे । घरको मूल ढोकामा लगाइने काठको आग्लो, तगारोदेखि टुडाँल, आँखीझ्यालका जटिल बुट्टाहरूले हाम्रो सुरक्षा र सम्पदाको इतिहास बोकेका छन् । नेपालका उच्च हिमाली क्षेत्रका घरहरूमा ढुंगा वा जस्तापाताको विकल्पमा काठलाई छानाको रूपमा प्रयोग गर्ने अद्भुत परम्परा छ । यो प्रविधिले काठको बहुआयामिक प्रयोग र हाम्रा पुर्खाहरूको स्थानीय स्रोतसाधन उपयोग गर्ने कुशलतालाई प्रष्ट पार्छ ।


राउटे र काठ


नेपालमा नेवार समुदायका स्थापित र शिल्पकारहरूले काठको कामलाई परम्परागत जातीय पेसाको रूपमा अंगीकार गरेका छन् । उनीहरूका लागि काठ केवल सामग्री नभई एक सजीव क्यानभास जस्तै हो । आफूलाई ‘जंगलको राजा’ भन्ने नेपालको फिरन्ते समुदाय राउटेको जीवन र पहिचान काठको सीपसँग पनि जोडिएको छ । उनीहरूले काठबाट कोशी (कचौरा), मधुस (बाकस), पाथी र पिर्का जस्ता सामग्री बनाउँछन् र तिनलाई आवश्यक वस्तुसँग साटेर जीविकोपार्जन गर्छन् । कुनै आधुनिक मेसिन प्रयोग नगरी केवल बञ्चरो र बसिलाको सहायताले काठका आकर्षक वस्तु तयार पार्छन् । उनीहरूले प्रयोग गर्ने बसिलाको आकार अन्य सामान्य सिकर्मीले प्रयोग गर्ने भन्दा फरक छ । राउटे युवाहरू केवल घरायसी सामान निर्माणमै सीमित छैनन, उनीहरूले काठकै क्रिकेट जस्तै देखिने ब्याट र बलसमेत बनाउन थालेका छन् । परम्परागत आनीबानीमा रमाउने राउटेहरूलाइ बिस्तारै आधुनिकताले छोएको हुनु पर्छ । यदि उनीहरूको यो मौलिक सीपलाई आधुनिक तालिम, औजार र प्रविधिसँग जोड्न सकियो भने, उनीहरू वस्तु साट्ने परम्पराबाट अघि बढेर राम्रो आम्दानी गर्ने आर्थिक रूपमा सक्षम समुदाय बन्न सक्छन्, जसले परम्परागत सीप जोगाउनसमेत मद्दत पुर्याउन सक्छ ।


प्राचीन स्मारक र नेपाली काष्ठ मूर्तिहरू


काष्ठकलाको इतिहासमा नेपालका केही मूर्तिहरूले विश्वलाई नै चकित पारेका छन् । विशेष गरी काठमाडौँको रत्नेश्वर महादेव मन्दिरमा रहेका काठका बुट्टाहरू र भक्तपुरको पुजारी मठको झ्यालमा कुँदिएको प्रसिद्ध ‘मयूर झ्याल’ १५औँ शताब्दीको उत्कृष्ट काष्ठकलाको नमूना हो । चांगुनारायण मन्दिरका संरचनाहरूले प्राचीन नेपाली काष्ठकलाको उच्च स्तरलाई झल्काउँछन् । काठमाडौँ नगरीको नाम नै ऐतिहासिक सम्पदा काष्ठमण्डपबाट रह्यो । लिच्छवीकालदेखि नै नेपालमा व्यवस्थित सहरी वास्तुकला, मन्दिर निर्माण र काठको कार्भिङ परम्परा स्पष्ट देखिन्छ भने मल्लकाल यसको स्वर्णयुग मानिन्छ ।


तर यी सबै काठका सामग्री उत्पादनअगाडि फलामका औजारहरूको विकास कहिले र कसरी भएको थियो होला ? आज जसरी काठका संरचना र काष्ठकलाको विकास भइरहेको छ, त्यसपछाडि टुल्स टेक्नोलोजीको महत्वपूर्ण योगदान छ । हिजो असम्भव लाग्ने काठको काम आज तिनै टुल्स टेक्नोलोजी र इन्जिनियरिङमार्फत् सम्भव भइरहेको छ ।


सातौँ शताब्दीको जापानको ‘होर्यू–जी’ मन्दिरलाई विश्वकै सबैभन्दा पुरानो जीवित काष्ठ स्मारक मानिन्छ । त्यस्तै, नर्वेको ‘उर्नेस स्टेभ चर्च’ काठको प्रयोग गरी बनाइएको निकै पुरानो र अद्वितीय संरचना हो । चीन, कोरिया जस्ता देशहरूमा प्रशस्त प्राचीन बौद्ध सम्पदाहरू छन् । यी संरचनाहरूले प्रमाणित गर्छन् कि काठ केवल अस्थायी वस्तु होइन, यो हजारौँ वर्षसम्म इतिहास थाम्ने बलियो आधार पनि हो ।


काष्ठ–इन्जिनियरिङ र शिल्प


इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा काठको छनोट त्यसको घनत्व, लचकता र प्रयोग हुने स्थानमा भर पर्छ । इन्जिनियरिङको हिसाबले सालको काठलाई यसको भारवहन क्षमता र ओस सहने शक्तिका कारण मख्य रूपमा प्रयोग गरिन्छ । अर्कोतर्फ, मूर्तिकारहरूका लागि ओखरको काठ उत्तम मानिन्छ, किनकि यसको ‘टेक्स्चर’ नरम र लचिलो हुन्छ, जसले गर्दा बुट्टाहरू कुँद्दा काठ फुट्दैन र सूक्ष्म कार्भिङ जीवन्त देखिन्छ । नेपाली कालिगढ र मूर्तिकारहरूले काठलाई मुख्यतया हार्डउड र सफ्टउडका रूपमा वर्गीकरण गरी प्रयोग गर्छन् । फर्निचरका लागि सिसौ र टिकको प्रयोग गरिन्छ भने भान्साका सामग्रीका लागि दारको काठ रोजिन्छ, जसमा भएको प्राकृतिक तेलले दुग्धजन्य पदार्थलाई बिग्रन दिँदैन । नेपाली शिल्पकारहरूले काठको ‘फाइबर डाइरेक्सन’ र ‘ग्रेन’लाई बुझेर गरिने यस्तो वैज्ञानिक छनोटले नै हाम्रा संरचनाहरू शताब्दीयौँसम्म बलियो र सुन्दर रहन सफल भएका हुन् । अन्ततः काष्ठकलाको सबैभन्दा रोचक पक्ष ‘जोर्नी’ हो, जहाँ पुरानो नेपाली परम्परामा फलामका काँटीहरू प्रयोग नगरी ‘चुले–प्वाल’ जस्ता विधिबाट काठका टुक्राहरूलाई मजबुत रूपमा जोडिन्थ्यो । यही अद्भुत प्रविधिका कारण सयौँ वर्ष पुराना दरबार र काठका संरचनाहरू आजसम्म पनि भूकम्पसँग जुधेर मजबुत रूपमा उभिएका छन् ।


सिर्जनाको विज्ञान


सबै काठ सबै कामका लागि उपयुक्त हुँदैनन्, त्यसैले सही छनोट र काठको प्रशोधन जरूरी छ । यसमा ‘सिजनिङ’ प्रक्रिया महŒवपूर्ण छ । परम्परागत रूपमा काठलाई सजनिङ गर्न पानीमा डुबाउने वा महिनौँसम्म घाम र धुवाँमा सेकाउने विधि प्रचलनमा थियो, जसले काठलाई खुम्चिन वा बांगिनबाट त जोगाउँथ्यो, तर यो प्रक्रिया अत्यन्तै ढिलो र मौसममा निर्भर हुन्थ्यो । आधुनिक इन्जिनियरिङले ‘किल्न सिजनिङ’जस्ता प्रविधिमार्फत समाधान दिएको छ । जसमा अटोमेटेड चेम्बरमा तापक्रम, ह्युमिडिटी र हावाको बहावलाई नियन्त्रण गरिन्छ । महिनौँ लाग्ने कामलाई यी मेसिनहरूले केहीदिनमै सम्पन्न गर्छन् । आधुनिक भ्याकुम सिजनिङ र सौर्य ऊर्जामा आधारित प्रविधिहरूले ऊर्जाको बचत गर्दै काठको प्राकृतिक गुणलाई मजबुत बनाउन मद्दत पुर्याएका छन् ।


नेपाली काष्ठकलालाई आधुनिकतासँग जोड्न काठमाडौँ विश्वविद्यालयका शिक्षक र अनुसन्घानकर्ताहरूबाट डा.पिटर फ्रेरेको नेतृत्वमा प्रवद्र्धित ‘कापेग’ संस्थामार्फत वैज्ञानिक सिजनिङ चेम्बर बनेपाको शान फर्निचरमा निर्माण गरी दुई दशकअघि नै योगदान पुर्याएको छ । यस प्रविधिबाट उत्साहित भई शान फर्निचरले परम्परागतबाहेक बांगाटिंगा काठका कलात्मक टेबलहरू बनाएर धुलिखेल वरपरका होटेलहरूमा बिक्रीको सुरुआत गरेको थियो । काठको गुणस्तर र टिकाउपनलाई अन्तर्राष्ट्रिय स्तरको बनाई काठमाडौँ विश्वविद्यालयसँग इन्जिनियरिङ र कलाको मितेरी लगाइदिएको पनि युगौँ भएछ । काठमाडौँ विश्वविद्यालयका गुरुयोजनाका डिजाइनर आर्किटेक्ट नील एक्सेल फर्निचर डिजाइनमा पनि विशेषज्ञ थिए । उनले काठमाडौँ विश्वविद्यालयका प्रारम्भिक फर्निचर डिजाइन गरेका छन् र उनले स्थानीय सिकर्मीहरूलाई सल्लाका किफायती तर आकर्षक कक्षाकोठा र कार्यालयका फर्निचरहरू निर्माण गर्न सिकाइ सक्षम पनि बनाएका छन् ।


काष्ठ–इन्जिनियरिङ औजारको प्रेरणा उडपिकर चरा


काष्ठकलामा काम गर्ने कारिगरको कार्यशैलीलाई ‘काठफोर चरा’सँग तुलना गर्न सकिन्छ । जसरी उडपिकर चराले आफ्नो बलियो चुच्चोले निरन्तर काठलाई खोपेर भित्री संरचनासमेत निर्माण गर्छ, त्यसैगरी काष्ठकला गर्ने कारिगरले पनि आफ्नो औजार, सीप, धैर्य र निरन्तर प्रयासले काठलाई सुन्दर र अर्थपूर्ण कलामा रूपान्तरण गर्छन् ।


परम्परागत रूपमा काष्ठकलामा बञ्चरो, बसिला, रामो, छेनी र करौँती जस्ता औँजारहरू प्रयोग गरिन्थे । यी औँजारहरू केवल शारीरिक श्रमका साधन मात्र नभई गहिरो सीप, अनुभव र धैर्यको माध्यम थिए । पहिला प्रत्येक काठको टुक्रालाई आकार दिन लामो समय र मिहिनेत आवश्यक हुन्थ्यो । तर आधुनिक समयमा काष्ठ इन्जिनियरिङले यस प्रक्रियालाई तीव्र र प्रभावकारी बनाएको छ । आज काठ काट्न पावर स, प्वाल बनाउन इलेक्ट्रिक ड्रिल, सतह मिलाउन ग्राइन्डिङ मेसिन, तथा जटिल डिजाइन निर्माणका लागि प्रिसिजन मेसिन, लेजर मेसिन र सिएनसी आधारित उपकरणहरू प्रयोग गरिन्छ । यी आधुनिक मेसिन र टुलहरूले काठको उत्पादन प्रक्रियालाई छिटो मात्र बनाएका छैनन्, बरू उच्च गुणस्तरीय र जटिल डिजाइनहरू सम्भव बनाएका छन् ।


काठको चमक र दीर्घायुको आधार


काष्ठ सामग्री केवल तयार गर्नु मात्र पर्याप्त हुँदैन; त्यसलाई दीर्घकालसम्म आकर्षक, टिकाउ र सुरक्षित राख्न सर्फेस फिनिसिङ अत्यावश्यक हुन्छ । खाक्सीले घोटेर सतह चिल्लो बनाई वार्निस, लाहा वा तेल जस्ता कोटिङहरू प्रयोग गरी काठलाई किरा, ओस र विकिरणबाट सुरक्षित गरी सुन्दरसमेत बनाइन्छ । कार्पेन्ट्रीसँगै सर्फेस टेक्नोलोजी पनि काष्ठकालमा इन्जिनियरिङको देन हो ।


फर्निचर एस्थेटिक्स : पत्थर र काठको संगम


मानिसहरू फर्निचरमार्फत् घरमा जीवन्त कथा चाहन्छन् । यसले आधुनिक फर्निचरमा ‘एस्थेटिक्स’ को परिभाषा बदलिएको छ । स्विडिस कम्पनी इकियाले फर्निचरमा सस्तो, उपयोगी र सुन्दर ‘डेमोक्रेटिक डिजाइन’ को अवधारणा ल्यायो । अन्तर्राष्ट्रिय बजारमा अहिले ‘काठ र ढुंगा’को फ्युजन फर्निचर ठुलो ट्रेन्डका रूपमा उदाएको छ, जसलाई नेपालमा पनि निकै उत्साहका साथ अगाडि बढाउन सकिन्छ । काठको प्राकृतिक न्यानोपन र ढुंगाको चिसोपन बीचको तालमेलले कोठालाई एउटा छुट्टै ‘अर्गानिक लुक्स’ प्रदान गर्छ ।


हाम्रो देश नेपाल ढुंगा र काठ दुवैमा धनी छ । यहाँका स्थानीय ढुंगाहरू र परम्परागत काष्ठकलालाई मिसाएर यस्ता आधुनिक फर्निचर निर्माण गर्ने हो भने, यसले विश्वस्तरीय गुणस्तर र मौलिकता दिई नेपाली आन्तरिक सजावटलाई नयाँ उचाइमा पुर्याउन सक्छ ।


आधुनिक काष्ठकलाको एउटा रोचक पक्ष भनेको ‘लेगो’ वा ‘पजल’ जस्तै काठका टुक्राहरू जोडेर फर्निचर बनाउनु हो । मेसिनबाट शुद्धताका साथ काटिने यी भागहरूलाई पछि सजिलै जडान गर्न सकिन्छ । यसको मुख्य विशेषता ‘फ्ल्याट–प्याक’ सुविधा हो, जसले गर्दा सामानलाई सानो बाकसमा प्याक गरी ढुवानीलाई सहज र सस्तो बनाउँछ ।


प्रकृति कलाको चमत्कार


‘ओपलाइज्ड वुड’, लाखौँ वर्षअघि जमिनमुनि पुरिएका रूखहरू बिस्तारै खनिज (सिलिका) सँग प्रतिक्रिया गरी ढुंगाजस्तै चम्किलो र रंगीन काठमा बदलिनु प्राकृतिक कला हो । यस्ता जादुमयी सिर्जना अदभुत र सीमित छन्, त्यसैले महँगा छन् । आजकलका काष्ठकलामा चर्चित ‘रेजिन आर्ट’को माध्यमबाट ओपलजस्तै चम्किलो र आकर्षक प्रभाव कृत्रिम रूपमै सिर्जना गर्न सक्छौँ । खोक्रो, बेकार भनिएका काठहरूमा रंगिन ‘इपोक्सी रेजिन’ भरेर विभिन्न कलाकृति सृजना गरेर लाखौँ मूल्यका फर्निचरमा रूपान्तरण गरिएका छन् ।


काष्ठकलाको एउटा विशिष्ट विधा ‘जरा कला’ हो, जहाँ प्रकृतिको इन्जिनियरिङ र मानवीय सिर्जनाको मिलन हुन्छ । यस विधालाई काठमाडौँका नरेन्द्रबहादुर श्रेष्ठ र सिन्धुलीका विश्वम्भर लामिछानेजस्ता दिग्गजहरूले उचाइमा पुर्याएका छन् । यसैगरी, दोलखाका सुजन खड्काले लकडाउनको समयदेखि जरालाई ‘क्यानभास’ बनाएर बुद्धका आकृति र सामाजिक विषयवस्तुमा आधारित मूर्तिहरू निर्माण गर्दै यसलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाएका छन् । जराहरू जमिनमुनि विभिन्न कोणमा फैलिने हुनाले तिनलाई सफा गर्न र बुट्टा भर्न विशेष प्रिसिजन टुल र रोटरी मेसिनहरूको प्रयोग गरिन्छ । जरालाई कीराबाट जोगाउन र मजबुत बनाउन आधुनिक सिजनिङ र केमिकल ट्रिटमेन्टको प्रक्रिया अपनाउने गरिन्छ ।


काठको चिनो


नेपाल घुम्न आउने पर्यटकहरूले सानो ‘आँखीझ्याल’ र ‘बुद्धको मूर्ति’ जस्ता काठका उपहार मायाको चिनोका रूपमा लैजाने गर्छन् । तर हामी यस्ता उपहारहरूलाई अझ बढी सुन्दर र आकर्षक बनाउन सक्छौँ । विशेष गरी प्रकृतिबाट प्रेरित आकृतिहरूजस्तै बाघ, मयूर, हात्ती, माछा, चराहरू, फूल, र हिमालका रूपहरूबाट बनाइने काष्ठ उत्पादनहरू पर्यटकहरूका लागि नयाँ र आकर्षक उपहारको विकल्प हुन सक्छन् ।


कुशल कारीगरहरूले काठको प्राकृतिक आकार र ‘ग्रेन’ लाई हेरेर त्यसमा बाघको शक्ति, मयूरको सुन्दरता वा हात्तीको गरिमा झल्किने मूर्तिहरू कुँद्ने गर्छन् । विशेष गरी ‘शार्दुल’ (काल्पनिक सिंह) जस्ता आकृतिहरूले नेपाली काष्ठकलाको विशिष्टता झन् उजागर गर्छन् । काष्ठ उपहारहरूले नेपालको हस्तकला र काष्ठकलाको सूक्ष्मता मात्र देखाउँदैनन्, आर्थिक विकासमा पनि महŒवपूर्ण योगदान पुर्याउन सक्छन् ।


काष्ठकलाको अर्को महत्वपूर्ण पाटो वातावरणीय संरक्षण हो । रूखले आफ्नो जीवनभर सोसेको कार्बन काठको रूपमा सञ्चित भएको हुन्छ । यदि हामीले काठलाई दाउराको रूपमा जलायौँ भने, त्यसले वायुमण्डलमा कार्बन–डाइअक्साइड उत्सर्जन गर्छ, जसले जलवायु परिवर्तनमा नकारात्मक असर पार्छ । त्यसैले, काठलाई जलाउनुको सट्टा त्यसलाई फर्निचर, कलाकृति वा संरचनाको रूपमा सुरक्षित राख्न सकिन्छ । काठलाई लामो समयसम्म प्रयोगमा ल्याउनु भनेको कार्बनलाई ‘लक’ गरेर राख्नु हो, जसले वातावरण जोगाउन मद्दत गर्छ । काठको पुनः प्रयोग र संरक्षण नै दिगो भविष्यको आधार हो । त्यसैले पर्यटकलाई काठका कला खरिद गरि ग्रिन हाउस ग्याँस उत्सर्जन नियन्त्रणमा योगदान गर्न प्रोत्साहित गर्न सकिन्छ ।


आर्थिक सफलता र भविष्यको बाटो


नेपालमा फर्निचर उद्योगको सम्भावना व्यापक भए तापनि वार्षिक अर्बौँ रूपैयाँको फर्निचर विदेशबाट आयात हुनु विडम्बनापूर्ण छ । यसलाई रोक्न सरकारले विदेशी फर्निचरको आयातमा कडाइ गर्ने वा पूर्ण प्रतिबन्ध लगाउने नीति लिनु आवश्यक देखिन्छ । साथै, सरकारी कार्यालयहरूमा विदेशी फर्निचरको प्रयोगलाई निरूत्साहित गर्दै अनिवार्य रूपमा स्वदेशी काष्ठजन्य उत्पादन मात्र प्रयोग गर्ने नीति ल्याउनु पर्छ । यदि देशभित्रकै स्रोत र दक्ष कालीगढहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने हो भने, यो क्षेत्र अर्थतन्त्रको बलियो आधार बन्न सक्छ । यसले एकातिर व्यापार घाटा कम गर्छ भने अर्कोतिर ग्रामीणदेखि सहरी क्षेत्रसम्म ठुलो संख्यामा रोजगारी सिर्जना गरी युवाहरूलाई वैदेशिक पलायन हुनबाट रोक्न ठोस मद्दत पुर्याउँछ ।


नेपालको फर्निचर उद्योगमा ठुलो सम्भावना ‘डिस्कार्डेड उड’ अर्थात् प्रयोग भइसकेका वा फालिएका काठको पुनः प्रयोगमा पनि छ । खोलाले बगाएर ल्याएका मुढाहरू, पुराना भत्किएका घरका काठ, वा प्रयोगबाट बाहिरिएका काठका टुक्राहरूलाई रिसाइकल गरेर उच्च मूल्यका सजावटी सामग्री बनाउन सकिन्छ । यसले वातावरणीय दिगोपनमा योगदान दिनुका साथै काठको अधिकतम उपयोग सुनिश्चित गर्छ । हाल नेपाली बजारमा विदेशी ल्यामिनेट पार्केटको दबदबा रहे तापनि, स्वदेशमै उपलब्ध सिसौ र साल जस्ता काठबाट निर्मित पार्केटलाई प्रवद्र्धन गर्दा हाम्रो पैसा विदेशिनबाट जोगिन्छ भने अर्कोतर्फ नेपाली पूर्वाधारले दीर्घकालीन र कलात्मक स्वरूप पाउँछ ।


काठको भविष्य


‘मेड इन नेपाल’ फर्निचरलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सकियो भने, नेपालले निर्यातमार्फत ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्छ । नेपाली काठको हस्तकला र मौलिक डिजाइन विश्व बजारमा फरक पहिचान बनाउन सक्ने क्षमता राख्छ । विशेष गरी हस्तनिर्मित र कलात्मक ‘आर्ट स्ट्रक्चर’ जस्ता उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा उच्च माग र मूल्य रहेको पाइन्छ । नेपाली वनको विविधता र पुख्र्यौली काष्ठकलाको अनुपम संगमबाट आधुनिक र कलात्मक फर्निचर तयार गर्दै नेपाली बजारमा एउटा छुट्टै ब्रान्ड बनाउनु आजको आवश्यकता हो ।


यसका लागि सरकारी नीति, सहुलियत ऋण, प्रविधिमा लगानी र दक्ष जनशक्ति विकास अत्यन्त आवश्यक छन् । तालिम केन्द्रहरू स्थापना गरी परम्परागत कारीगरहरूलाई आधुनिक प्रविधिसँग जोड्न सकियो भने उत्पादन क्षमता र गुणस्तर दुवै बढ्नेछ । साथै, काठ उद्योगलाई दिगो वन व्यवस्थापनसँग जोडेर कच्चा पदार्थको दीर्घकालीन सुनिश्चितता गर्नुपर्छ ।
यदि हामीले हाम्रा पुराना सीपलाई नयाँ प्रविधिसँग जोड्न सक्यौँ भने, नेपाली काष्ठकलाले विश्वको ध्यान खिच्ने मात्र होइन, देशको अर्थतन्त्रलाई नै नयाँ उचाइमा पुर्याउनेछ । काठलाई माया गरौँ, कलालाई बचाऔँ ।

प्रतिक्रिया