मध्यपूर्व द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । मध्युपूर्वमा बढेकामे भू–राजनीतिक तनावको असर नेपालका अन्य क्षेत्रहरूका अतिरिक्त पर्यटन क्षेत्रमा पनि देखिएको छ । अमेरिका, इजरायल र इरानमा जारी द्वन्द्व र अस्थिरताको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको हो । नेपालमा पर्यटकीययाम सुरु भए पनि मध्यपूर्वमा जारी तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले पनि भ्रमणको योजना पछि सारेका पाइएको छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्र मध्यपूर्वको द्वन्द्वको मारमा परेको हो ।

नेपाल पर्यटन बोर्डका अनुुसार सन् २०२५ को मार्चको तुलनामा सन् २०२६ को मार्चमा नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२६ को मार्चमा भने १ लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ र फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल भित्रिएकामा यस वर्षको जनवरीमा ९२ हजार ५७३ र फेब्रुरीमा १ लाख ५ हजार ४४१ पर्यटक नेपाल भित्रिएका थिए ।

युद्धको कारण संयुक्त अरब इमिरेट्स, कतार र टर्कीजस्ता ‘ट्रान्जिट प्वाइन्ट’मा समेत तनाव बढेकोले उडान अनिश्चित हुँदा नेपाल आउने पर्यटकको संख्यामा कमी आएको नेपाल एसोसियसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष सिएन पाण्डेले बताए । एकातिर उक्त द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ, भने अर्कातर्फ नियमित र छोटा उडान पनि अव्यावहारिक र निकै लामो एवं झन्झटिलो ट्रान्जिटका साथ हुने गर्नाले उडान पनि कम हुने गरेका छन् । यसरी पर्यटकीय सिजनको मुखमा हवाई इन्धनको मूल्य बढ्दा टिकटको दरसमेत उच्च भएका कारण नेपालमा अपेक्षाअनुसारको पर्यटक आउन नसकेको नाट्टाका पूर्वअध्यक्ष पाण्डेले बताए ।

नेपालदेखि हङकङ हप्ताको सातैदिन उडान भर्दै आएको क्याथे प्यासिफिक एयरलाइन्स नेपालकी प्रमुख जुनु मलेखुले इन्धनको मूल्य बढेसँगै हवाई टिकट बढ्दा यात्रुलाई ठुलो समस्या परेको बताइन् । उनले भनिन्, ‘मध्यपूर्वको द्वन्द्व सुरु हुनुपूर्व नेपालदेखि हङकङ हुँदै नेपाल आएको ८० देखि ८५ हजार भाडा लाग्ने गरेकामा द्वन्द्वपछि इन्धनको मूल्य बढ्दा भाडा सस्तो टिकटको १ लाख ५ हजार पुगेको छ, यसले गर्दा ट्राभल गर्नुपर्ने व्यक्तिबाहेक अन्यले टिकट ‘क्यान्सिल’ गरेको अवस्था छ ।’

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कुमारमणि थपलियाले हवाई इन्धनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा परेको बताइन् । पछिल्लो समय मध्यपूर्वको द्वन्द्व केही शान्त भए पनि हवाई भाडा बढ्दा नेपाल भित्रिने पर्यटकमा कमी आएको उनको भनाइ छ ।

हवाई इन्धन र हवाई भाडा बढ्दा यसको असर लामो समयसम्म पर्छ कि भन्ने चिन्ता थपिएको सदस्य थपलियाले बताए । कतिपय एयरलाइन्सले उडान मार्ग परिवर्तन गर्नुका साथै टिकट दर बढाएका कारण यात्रु अन्य गन्तव्य रोज्न बाध्य भएका छन् । युरोप, अमेरिकालगायत मुलुकमा नेपालको सिधा हवाई सम्पर्क नहुँदा नेपाल आउने पर्यटकमा अन्यौलता थपिएको छ । जसका कारण होटल बुकिङ, ट्रेकिङ प्याकेज तथा साहसिक पर्यटन गतिविधिमा प्रत्यक्ष असर परेको छ ।

ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुयालले मध्यपूर्वको द्वन्द्वका कारण पर्यटक यामको मुखमा धमाधम होटल बुकिङ ‘क्यान्सिल’ हुँदा होटल व्यवसायी मारमा परेको बताए । उनले भने, ‘एकातर्फ इन्धनको मूल्यवृद्धिका कारण हवाई भाडा महँगो अर्कोतर्फ ट्रान्जिट क्षेत्रमा भएको तनावका कारण जुन ‘रेसियो’मा पर्यटक आउनुपर्ने हो, त्यो आउन सकेका छैनन् ।’ मध्यपूर्वको द्वन्द्वका कारण नेपालमा इन्धनलगायतका सामग्रीको मूल्य बढ्दा होटल सञ्चालनमा थप समस्या परेको उनले बताए । मध्यपूर्व क्षेत्रमा तनाव दीर्घकालीन रूपमा रहिरह्यो भने नेपालको पर्यटन पुनरुत्थानमा थप चुनौती थपिन सक्ने उनको भनाइ छ ।

नेपालको मुख्य पर्यटकीय सिजनका रूपमा मार्च, अप्रिल र मे महिनालाई लिइन्छ । अहिले पर्यटकीय सिजन सुरु भएको छ । पर्यटकीय सिजनको समयमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा भने गत वर्षको तुलनामा यसवर्ष कम मात्रामा पर्यटक आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमला गतवर्षको तुलनामा यसवर्ष ठमेल आउने पर्यटकको संख्यामा कमी आएको बताए । ठमेलमा काठमाडौँ इको होटलसमेत सञ्चालन गरिरहेको धमलाले पर्यटकीय सिजनमा होटलमा जम्मा ५० देखि ६० प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको बताए । ठमेलका गल्लीहरूमा समेत गत वर्षभन्दा यस वर्ष कम मात्रामा पर्यटक देखिएका छन् ।

प्रतिक्रिया