नेपाल र चीनबीच सहायता सम्झौतामा हस्ताक्षर

काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माणका लागि चीन सरकारले उक्त अनुदान उपलब्ध गराउने भएको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चीन सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने दोस्रो खण्डको मुख्य सडक चिनियाँ पक्षले निर्माण गर्नेछ । यो खण्डका लागि चीन सरकारले ५६६ मिलियन आरएमबी लाग्ने अनुमान गरेको छ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा गरिएको बताए । त्यसैगरी, चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार नेपालको तर्फबाट उक्त खण्डमा गर्नुपर्ने सडक सीमासम्बन्धी काम, साविकमा रहेका विद्युत्, खानेपानी, टेलिफोन तथा अन्य संरचना हटाउने, रूख कटान गर्ने काम भइसकेको छ । त्यस्तै, दुवैतर्फ सर्भिस ट्र्याक निर्माण अन्तिम चरणमा छ । पहिलो चरण (कोटेश्वर–कलंकी खण्ड) १०.४ किलोमिटर २०६९ साल (सन् २०१२) मा सुरु भई ६ वर्षमा निर्माण भएको थियो । उक्त खण्ड बीचमा मुख्य लेन र दायाँबायाँ सर्भिस लेन गरी ८ लेनमा विस्तार गरिएको थियो । उक्त सडक चीन सरकारले नेपाल सरकारलाई सन् २०१९ जनवरी ८ मा हस्तान्तरण गरेको थियो । सोही वर्ष सम्झौता भएको चक्रपथको दोस्रो खण्डको स्तरोन्नति भने अघि बढ्न सकेको थिएन ।
दोस्रो खण्ड विस्तारका लागि २०७५ सालमा नेपाल र चीन सरकारबीच द्विपक्षीय सम्झौता भएको थियो । चिनियाँ टोलीले सर्भे र डिजाइनको काम गरे पनि साइट क्लियर (बिजुलीका पोल, ढल, रूख र घरहरू) गर्ने काममा ढिलाइ हुँदा र कोभिड–१९ को माहामारीका कारण यसको निर्माणमा ढिलाइ भएको थिमो । काम अघि बढ्न नसकिरहेको अवस्थामा २०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबीच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै, २०८१ मंसिर १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङलगायतसँग बेइजिङमा गरेको उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो । २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा ४ लेनको चक्रपथ निर्माण भएको थियो । तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ विस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया