ताराखोलाको चिया मुलुककै उत्कृष्ट

बागलुङ । ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मंगलबार इलाममा सम्पन्न ‘टी टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टी–इस्टेट प्रालिका २ प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा ४ विधामा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले २ विधामा बाजी मारेको हो । नेपालमा ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रिनिस अर्थोडक्स, गोल्डेन–टी, ह्वाइट–टी र ग्रिन–टी विधामध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन– टी प्रथम भएको चियाकफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले जानकारी दिए ।

कम्पनीका सञ्चालक शिशिर घर्तीमगरले ताराखोलाको चिया उत्कृष्ट बन्नु गौरवको विषय भएको बताए । उनले ताराखोलामा करिब १०० रोपनी क्षेत्रफलमा चियाखेती गरेका छन् । समुद्र सतहदेखि करिब २ हजार २०० देखि २ हजार ४०० मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको बताइएको सुवेदीले बताए ।

प्रतिक्रिया