
सुर्खेत । वैशाख महिना लागेसँगै कर्णालीका पर्यटकीय स्थलहरूमा पर्यटकको चाप बढेको छ । अरूबेला सुनसानजस्तै देखिने कर्णालीका पर्यटकीय स्थलमा यतिबेला भिड लाग्ने गरेको छ । यो सिजनमा अधिकांशको रोजाइमा रारा तालसम्म पुग्न र कर्णालीको शीतलतामा आनन्द लिन पर्यटकहरू कर्णाली आउने गरेका छन् । कर्णालीका अधिकांश पर्यटकीय स्थल पहाडी र हिमाली जिल्लामा भएकाले तराईमा गर्मी बढेसँगै गर्मी छल्न पनि कर्णालीमा आएको पर्यटकहरू बताउँछन् ।
कर्णालीको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमै बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै र सहिद पार्कजस्ता पर्यटकीय स्थलले पर्यटक आकर्षित गरिरहेका छन् । वीरेन्द्रनगरमै घन्टाघरको आँगनमा पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । बुलबुले पार्कमा बोटिङ गर्ने, फोटो खिचाउनेको उत्तिकै भिड देखिन्छ । विद्यालयहरूमा भर्ना अभियान चलिरहेको र पठनपाठन सुरु भइनसकेकाले पनि आन्तरिक पर्यटक कर्णालीमा ओइरिएका छन् ।

चाडपर्वहरूमा मात्र चहलपहल देखिने सुर्खेतका काँक्रेविहार, बुलबुले र सहिद पार्कमा आजभोलि दिनहुँ मानिसको घुँइचो लाग्ने गरेको छ । यसले पर्यटकीय स्थलको आन्तरिक आम्दानीसमेत बढाएको छ । दैनिक २ हजारदेखि २ हजार ५ सय रुपैयाँको टिकट बिक्री हुने बुलबुले तालमा वैशाख लागेपछि दैनिक ५ हजारभन्दा बढीको टिकट बिक्री भइरहेको छ । बुलबुले प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै प्रतिव्यक्ति २० रुपैयाँको टिकट लाग्ने कर्णाली प्रादेशिक सहिद पार्क र काँक्रेविहारमा पनि उत्तिकै भिडभाड छ ।
९ महिनामा १४ हजार पर्यटक रारा पुगे
चालु आवको ९ महिनामा झन्डै १४ हजार पर्यटक रारा ताल पुगेका छन् । चैत मसान्तसम्म रारा पुग्ने पर्यटकको संख्या १३ हजार ८८३ छ । यीमध्ये अधिकांश आन्तरिक पर्यटक छन् । सार्क राष्ट्रका पर्यटक ६९ र अन्य देशका पर्यटक १३३ जनाबाहेक अरू आन्तरिक पर्यटक रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हाल दैनिक सरदर ३५ जना पर्यटक आइरहेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । पहिले अधिकांश पर्यटक जहाजमै ताल्चा विमानस्थलमा झरेर राराताल पुग्ने गर्थे । तर, अहिले जहाजको भाडा निकै महँगो भएकाले समूह मिलेर गाडी रिजर्भ गरेर घुम्न आउने गरेका छन् ।
०००

पुग्न सास्ती, पुगेपछि मस्ती !
यतिबेला कर्णालीको पर्यटकीय गन्तव्य रारा ताल पुग्नेको संख्या पनि ह्वात्तै बढेको छ । सल्यानको कुपिण्डे दह, डोल्पाको शे–फोक्सुण्डो, रुकुम पश्चिमको स्यार्पु ताललगायत स्थान पर्यटकको रोजाइमा पर्ने गरेका छन् । काठमाडौँकी इलिजा तुलाधर पहिलो पटक शे–फोक्सुण्डो घुम्न आइन् । इलिजालाई डोल्पाको प्राकृतिक सौन्दर्यले जति आनन्दित बनायो, उनलाई त्यहाँ पुग्दा पाएको दुःखले उति नै पिरोल्यो ।
काठमाडौँबाट नेपालगन्ज भएर हवाईजहाजमा डोल्पा जान लागेकी उनलाई टिकट पाउनै निकै सास्ती खेप्नुप¥यो । ‘शेफोक्सुण्डो तालको प्राकृतिक सुन्दरता र यहाँको हावापानीले मन निकै आनन्दित बनायो,’ उनले भनिन्, ‘जिन्दगीमै पहिलो पटक वैशाखको महिना डोल्पा पुगेर हिउँमा रमाउन पाउनु मेरो जीवनकै अविस्मरणीय क्षण हो ।’ जागिरको सिलसिलामा तराईका विभिन्न जिल्लामा बसेको बताउने उनले डोल्पाको प्राकृतिक सौन्दर्यले उत्साहित बनाएको बताइन् ।
‘तर, तालको छेउमा पुगेपछि बाटोको सास्ती सबै भुलिनेरहेछ,’ इलिजाले डोल्पा अनुभव सुनाइन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको हिमाली क्षेत्रमा राज्यको लगानी नपुगेको उनको गुनासो छ । ‘तालसम्म पुग्ने बाटो फराकिलो बनाउन सके, सहज रूपमा डोल्पाका लागि टिकट पाउने वातावरण भए धेरै पर्यटक शे–फोक्सुण्डो जाने अवस्था रहन्थ्यो होला,’ उनले भनिन्, ‘तालआसपास टेलिफोन र इन्टरनेटको पहुँच भए शे–फोक्सुण्डो तालको प्रचारप्रसारमा अझ टेवा पुग्ने थियो ।’ इजिलाजस्तै कर्णालीका विभिन्न पर्यटकीय स्थल पुग्ने पर्यटकको भोगाइ यस्तै छ ।
इलामका विजय तामाङ पहिलो पटक मुगुस्थित रारा ताल पुग्दा अचम्मित भए । सुनेको रारा र देखेको राराबीच आकाश–पातालको भिन्नता पाएको बताए । इलामबाट गाडी रिजर्भ गरेर लामो यात्रापछि रारा पुगेका उनले बाटोको सबै थकान बिर्सिएको बताए ।
‘रारा एकपटक पुग्नैपर्ने ठाउँ रहेछ,’ उनले भने, ‘राराको सुन्दरता र ताल वरिपरिको हरियाली, चिसो हावाले प्रकृतिको काखमै पुगेको अनुभूति हुन्छ ।’ उनले रारा जाने सडकको हालत देख्दा भने सरकारले ध्यान नदिएको अनुभूत भएको बताए । रारा पुग्ने बाटोको स्तरोन्नति गरी पर्यटक आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्ने उनले सुझाए ।
‘सडकको हालत खराब छ । यात्रुले बाटोमा बहुतै सास्ती भोग्दै रारा पुग्नुपर्छ,’ उनले भने, ‘यहाँको सडक, होटल, सञ्चार, सुरक्षा तथा पर्यटक सेवाका लागि सरकारले आवश्यक कार्यक्रम बनाउन जरुरी छ ।’ नाग्म–गमगढी सडक र कर्णाली राजमार्गलाई पूर्ण रूपमा कालोपत्र गरी पर्यटक आगमन बढाउन सकिने उनको बुझाइ छ ।
प्रतिक्रिया