अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान : रेमिट्यान्स एक्लैको हिस्सा एकतिहाइ !

काठमाडौँ । चालु आव २०८२–८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने भएको छ । राष्ट्रिय लेखाको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष जिडिपीको आकार करिब ४ खर्बले बढ्ने अनुमान गरेको हो । गत आवमा पनि अर्थतन्त्रको आकार करिब ४ खर्बले बढेको थियो । आव २०८०–८१ मा ५७ खर्ब ६० अर्ब रहेको अर्थतन्त्रको आकार आव २०८१–८२ मा ६१ खर्ब ९९ अर्ब पुगेको थियो । चालु आव २०८२–८३ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान ६ देखि ८ महिनासम्मका उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको हो । बाँकी ६ देखि ४ महिना अवधिको अनुमानका लागि तथ्यांकीय विधि प्रयोग गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने जानकारी दिए ।

तथ्यांक कार्यालयका अनुसार आव २०८२–८३ मा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । आव २०८१–८२ मा ३.८० प्रतिशत हुने संशोधित अनुमान र आव २०८०–८१ मा ३.३८ प्रतिशत कायम भएको थियो । चालु आव २०८२–८३ मा जिडिपीमा प्राथमिक क्षेत्रको २४.५ प्रतिशत, द्वितीय क्षेत्रको १३.७ प्रतिशत र सेवा क्षेत्रको ६१.८ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रले २४.०३ प्रतिशत र व्यापार क्षेत्रले १४.०९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

यो वर्ष जिडिपीमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै हिस्सा विद्युत् क्षेत्रको २०.९३ प्रतिशत हुने र जिडिपीमा योगदान २.०८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । नयाँ आयोजनाबाट विद्युत् उत्पादन भई उत्पादन क्षमता वृद्धि भएको, प्रसारण संरचनाका साथै उपभोग विस्तार भएका कारण यस क्षेत्रको मूल्य वृद्धिदर उल्लेख्य रहेको प्रतिवेदनमा उल्लेख छ । आव २०८१–८२ मा यस क्षेत्रको कुल मूल्य वृद्धिदर १२.७१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ११.६१ प्रतिशत थियो ।

त्यस्तै, वित्तीय तथा बिमा क्षेत्र (९.१६ प्र्रतिशत) दोस्रोमा रहने प्रक्षेपण गरिएको छ । सार्वजनिक प्रशासन तथा सुरक्षा (०.२३ प्रतिशत) र शिक्षा क्षेत्र (१.५० प्रतिशत) को वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान छ । पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन (०.४० प्रतिशत) र खानी तथा उत्खनन (०.४३ प्रतिशत)ले तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने अनुमान गरिएको छ ।

उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत

यस वर्ष जिडिपीमा उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत रहने अनुमान छ । खासगरी सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, भटमासको कच्चा तेल, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ तार, जुट, बियरलगायतको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान छ । साथै, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयात वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले उल्लेख गरेको छ ।

रेमिट्यान्सको योगदान ६ प्रतिशतले बढ्ने

अर्थतन्त्रको टेकोका रूपमा रहँदै आएको रेमिट्यान्सको योगदान यो वर्ष झन्डै ६ प्रतिशतले बढ्ने आकलन छ । चालु आवमा जिडिपीको ३३.०२ प्रतिशत रेमिट्यान्स प्राप्त हुने प्रारम्भिक अनुमान छ । गत आवमा जिडिपीको २७.८० प्रतिशत प्राप्त भएको संशोधित अनुमान छ । आव २०८०–८१ मा २५.०९ प्रतिशत प्राप्त भएको थियो ।

धान उत्पादन ४.१६ प्रतिशतले घट्ने

आव २०८२–८३ मा कृषि उत्पादनको समग्र प्रवृत्ति मध्यम वृद्धि देखिन्छ । तर, धान उत्पादन ४.१६ प्रतिशतले ऋणात्मक हुने र मकै, गहुँ, कोदो, दलहन तथा औद्योगिक बालीमा सामान्य वृद्धि हुने अनुमान छ । त्यसैगरी, पशुजन्य उत्पादनतर्फ मासु, अन्डा तथा माछामा पनि सामान्य वृद्धि हुने अनुमान छ । फलफूल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा अतिन्यून वृद्धि हुने अनुमान छ ।

अन्य प्रमुख आर्थिक सूचक

आव २०८२–८३ मा आधारभूत मूल्यको कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ हुने कुल स्थिर पुँजी निर्माण जिडिपीको २६.२६ प्रतिशत, अन्तिम उपभोग खर्च ९०.२९ प्रतिशत, वस्तु तथा सेवा निर्यात ९.९७ प्रतिशत र आयात ३४.५२ प्रतिशत हुने अनुमान गरिएको छ । यो वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर हुने अनुमान गरिएको छ । आव २०८२–८३ मा प्रतिव्यक्ति जिडिपी (जिडिपीलाई कुल जनसंख्याले भाग गर्दा आउने औसत रकम) १ हजार ५१३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा उत्खनन क्षेत्रले जिडिपीमा ०.४३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ । यो आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आवको तुलनामा ३.५२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

आव २०८२–८३ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनरुत्पादनका क्रियाकलाप क्षेत्रको योगदान ०.४० प्रतिशत रहनेछ । त्यस्तै, निर्माण क्षेत्रको ५.५२ प्रतिशत योगदान रहने अनुमान छ । निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको आन्तरिक उत्पादनमा सामान्य वृद्धि देखिन्छ । सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन नसकेका कारण निर्माण क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसक्ने अनुमान छ । आव २०८१–८२ मा यस क्षेत्रको वृद्धिदर ०.९६ प्रतिशत रहने संशोधित अनुमान छ । त्यसैगरी, आव २०८०–८१ मा वृद्धिदर २.२० प्रतिशतले ऋणात्मक थियो ।

वित्तीय तथा बिमा क्षेत्रको योगदान ६.७२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, निर्जीवन बिमा तथा जीवन बिमाको नवीकरण बिमाशुल्क प्रिमियम कलेक्सनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष तथा धितोपत्र कारोबार व्यावसायिक तथा मर्चेन्ट बैंकहरूको आयमा समेत वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान छ । घरजग्गा क्षेत्रको योगदान ८.०७ प्रतिशत रहने अनुमान छ । घरजग्गा कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आव २०८१–८२ मा यस क्षेत्रको वृद्धिदर २.७७ प्रतिशत रहने अनुमान गरिएको छ । आव २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर २.२० प्रतिशत कायम भएको छ ।

पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको जिडिपीमा ०.९५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.२७ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । जिडिपीमा प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान ०.७४ प्रतिशत रहनेछ । पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा विदेशी तथा आन्तरिक पर्यटकहरुको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान ७.९२ प्रतिशत र शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान छ । आव २०८१–८२ को तुलनामा आव २०८२–८३ मा सरकारी शैक्षिक संस्थाका विद्यार्थी संख्या घटेको तथा निजी शैक्षिक संस्थाका विद्यार्थी न्यून मात्रामा वृद्धि भएको र यस क्षेत्रमा सरकारी खर्चमा कमी आएका कारण कुल मूल्य अभिवृद्धिमा सामान्य मात्र वृद्धि हुने अनुमान छ ।

स्वास्थ्य तथा सामाजिक कार्यसम्बन्धी क्षेत्रको योगदान १.७८ प्रतिशत रहने अनुमान छ । आव २०८१–८२ को तुलनामा आव २०८२–८३ मा स्वास्थ्य सेवा लिनेमध्ये अन्तरंग सेवा लिनेको संख्या घटेको र बहिरंग सेवा लिनेको संख्या बढेकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान छ । यस्तै, जिडिपीमा अन्य सेवाका क्रियकालाप क्षेत्रको ०.७२ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान छ । मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको निरन्तर वृद्धिले यस क्षेत्रको उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया