१ वर्षमा साढे ४ अर्बको चिया निर्यात हुँदा ९ करोडको मात्र आयात

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ मा साढे ४ अर्बको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा पछिल्लो ७ वर्ष यताकै धेरै चिया निर्यात भएको हो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले गत आवमा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । यसअघिका वर्षहरू आर्थिक वर्ष २०७५–०७६ मा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख केजी चिया निर्यात भएको थियो ।

त्यसयताका वर्षहरूमा आव २०७६–०७७ मा २ अर्ब ७८ करोड रकम बराबरको १ करोड ११ लाख केजी, आव २०७७–०७८ मा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख केजी, आव २०७८–०७९ मा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख केजी, आव २०७९–०८० मा ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ६५ लाख केजी र आव २०८०–०८१ मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख केजी चिया निर्यात भएको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०८१–०८२ मा ९ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार केजी चिया नेपालमा अयात भएको छ । बोर्डको तथ्यांकअनुसार आयात घट्दै गएको छ । पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७–०७८ मा १५ करोड १३ लाख रुपैयाँ बराबरको ३ लाख ४६ हजार केजी चिया आयात भएको थियो ।

१६३ वर्ष पुरानो चिया खेतीको इतिहास, ६० हजार रोजगारी

नेपालमा चिया खेतीको इतिहास १६३ वर्ष पुरानो रहेको छ । १९२० सालमा इलामका तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाले इलाममा चिया कमान स्थापना गरेपछि नेपालमा चिया खेती सुरु भएको मानिन्छ । बोर्डको आव २०८१–०८२ को तथ्यांकअनुसार नेपालमा कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया रोपण गरिएको छ । गत आर्थिक वर्षमा कुल २ करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार १३२ जना चिया कृषकहरू रहेका छन्, भने १७० वटा टी–स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार रोजगारी सिर्जना गरेको अनुमान गरिन्छ ।

विभिन्न चुनौतीहरूका बाबजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी–व्यवसायी, सरोकारवाला संघसंस्थाहरू एवं विशेष गरी निजी क्षेत्रको अथक प्रयासका कारण नै नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताए ।

पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा नेपाली चिया क्षेत्रले केही चुनौतीहरूको सामना गर्नु परिरहेको उनले बताए । उनले भने, ‘नेपालले गरेको चियाको कुल निर्यातमध्ये ८६ प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतीय बजार नेपाली चियाको सबैभन्दा ठुलो बजार रहेको कुरामा दुईमत छैन । तसर्थ, बजार विविधीकरणमा आवश्यक पहलकदमी अझ सघन रूपमा गर्न आवश्यक छ । त्यसैगरी नेपालमा खाद्य प्रविधि प्रयोगशालाको सबलीकरण गरी निर्यात प्रवद्र्धनमा सहयोग गर्न जरुरी छ ।’

आज ३०औँ राष्ट्रिय चिया दिवस मनाउने कार्यक्रम

आज वैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजनामा ३०औँ राष्ट्रिय चिया दिवस मनाउन लागेको छ । यस वर्षको चिया दिवसको औपचारिक कार्यक्रम सूर्योदय नगरपालिका, फिक्कल, इलाममा सञ्चालन हुन लागेको हो । कार्यक्रमको प्रमुख आकर्षणको रूपमा विभिन्न ७ वटा विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीहरूलाई सम्मान गरिनेछ भने टी च्याम्पियन प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया