
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वर नगरपालिकामा तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वडा नं. ८ स्थित हनुमान चोकमा हुने जनाइएको छ ।
एक समारोहका बीच आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवबारे जानकारी दिए । उनका अनुसार महोत्सवको मुख्य उद्देश्य उपभोक्ताहरूलाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै स्थानीय प्रतिभा र उत्पादनको प्रवर्द्धन गर्नु रहेको छ ।
महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री रहने छ । साथै पर्यटनसँग सम्बन्धित विविध गतिविधिहरू पनि समावेश गरिने छन् ।
करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, पिङ, रेल, ड्रागन, रोटे पिङ लगायतका खेल सामग्रीहरू रहने छन् । साथै विभिन्न परिकारसहितको खाना महोत्सव, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र ‘गोकर्णेश्वर डान्स आइडल’ कार्यक्रमसमेत आकर्षणका रूपमा रहने छ ।
महोत्सवमा करिब १२० वटा स्टल रहने छन् । स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवका संयोजक रामकृष्ण श्रेष्ठ, सह–संयोजक सिताराम दाहाल रहेका छन् भने सम्पूर्ण महोत्सवको निर्देशकको जिम्मेवारी प्रेम प्रसाद दाहाल (दिपक) ले सम्हाल्ने छन् ।
प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरूले सहुलियतका लागि परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया