शेखर गोल्छा प्रकरण : पर्याप्त प्रमाणबिना कठोर कदम नचाल्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालैको घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाइमाले कुनै पनि व्यक्तिमाथि अनुसन्धान गर्दा वा कानुनी प्रक्रिया अघि बढाउँदा पर्याप्त स्पष्टीकरण दिने अवसर र विधिको शासनलाई पालना गर्नुपर्नेमा जोड दिएको छ ।

निजी क्षेत्रको मनोबलमा असर पुग्ने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा निजी क्षेत्रको योगदान सर्वविदितै छ, यस्तो अवस्थामा पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि कठोर कदम चाल्दा समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्छ ।’

नाइमाले राज्यका निकायहरूलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलताको निरन्तरता कायम राख्ने गरी नीतिगत सन्देश दिन समेत आग्रह गरेको छ ।

यस्ता छन् नाइमाको आधिकारिक धारणाका मुख्य बुँदाहरू

सम्बन्धित व्यक्तिलाई आफ्ना कुरा राख्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने ।

संस्था विधिको शासन र पारदर्शिताको पक्षमा रहेको र तथ्यका आधारमा हुने निष्पक्ष अनुसन्धानको समर्थन गर्ने ।

हतारमा गरिने निर्णयले लगानीको वातावरण र प्रणालीप्रतिको विश्वासमा आँच पुर्याउने ।

कानुन उल्लंघन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा संस्था अडिग रहेको तर प्रक्रियागत न्याय हुनुपर्ने ।

नाइमा बोर्डका सदस्य समेत रहेका गोल्छासँग जोडिएको विषयलाई लिएर अटोमोबाइल क्षेत्रका व्यवसायीहरूले राज्यका निकायहरूलाई आवश्यक संवेदनशीलता अपनाउन विनम्रतापूर्वक अनुरोध गरेका छन् ।

प्रतिक्रिया