
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिँदा स्थानीयवासी चिन्तित भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताए ।
‘यस वर्ष २३ करोड रुपैयाँ बजेट भएको यस योजनामा हालसम्म जम्मा ५–६ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको संख्या घटाएका छन्,’ उनले भने, ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजनाले गति नलिँदा अलपत्र पर्ने जोखिम बढेको छ ।’
गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकै ठूलो बजेटको यस योजनामार्फत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ। प्रशासनिक खर्चबाहेक ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा २०८२ असार ११ गते ठेक्का सम्झोता भएको थियो । २०८२ कात्तिकदेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिको कारण देखाएर ठेकेदारले कामको गति घटाएका हुन् । ‘दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ,’ उनले भने ।
संघीय र प्रदेश सरकारको ५०–५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा यसका लागि २३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको छ । आगामी आवसम्म निर्माण पूरा नभए संघीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिने जोखिम छ । २०७१ सालमै मुनामा सडक पुगे पनि अहिलेसम्म कच्ची अवस्थामै छ ।
यो सडक खण्डले म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ५० किलोमिटर छोटो पर्छ । म्याग्दी (ख) बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्त्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए ।
सोही सडकअन्तर्गत धारापानी–ताकम–झिनडाँडा खण्डको ६ किलोमिटर दूरी कालोपत्र र ढलानका लागि आव २०८०/८१ मा १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले मूल्यवृद्धिका बाबजुद योजना सम्पन्न गर्न लागिएको दाबी गरे । हाल बेनीदेखि तालावाङसम्म १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
प्रतिक्रिया