
काठमाडौँ । नेपालको सेयरबजारमा आज(सोमबार)देखि नयाँ व्यवस्था लागू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबारदेखि सर्किट ब्रेक र सेयर मूल्य परिवर्तन सीमा परिवर्तन गर्न लागेको हो । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गर्दै पुँजीबजारको इतिहासमै पहिलोपटक आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको छ ।
यी व्यवस्था परिमार्जनको लागि नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधनको प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । धितोपत्र बोर्डको चैत २३ मा बसेको सञ्चालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्ने प्रस्ताव स्वीकृत दिएको थियो । नेप्सेको वैशाख ३ मा बसेको सञ्चालक समितिको बैठकले वैशाख ७ देखि यी व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
संशोधित विनियमावलीअनुसार नेपालको पुँजीबजारमा पहिलोपटक अफ्तर मार्केट अर्डरको व्यवस्था गरिँदै छ । यो भनेको नियमित बजार समयभन्दा बाहिर पनि सेयर खरिद बिक्रीका लागि अर्डर हाल्न सकिने व्यवस्था हो । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षणको व्यवस्था छ । साथै विदेशमा रहेका अन्य नेपालीहरूले पनि सेयर कारोबार गर्दै आएका छन् ।
नेपालमा ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदा उनीहरू रहेको देशको समयसँग नमिल्न सक्थ्यो । अब भने ११ बजेदेखि ३ बजेको समयभन्दा बाहिरको समयमा पनि अर्थात् २४सै घण्टा सेयर खरिद बिक्रीका लागि अर्डर राख्न सकिने छ ।
कुनै एउटा सेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ । नियमित कारोबार समयमा अहिले सेयर मूल्य अधिकतम १० प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ । अब भने त्यसलाई बढाएर नियमित समयमा १५ प्रतिशतसम्म सेयर मूल्य घटबढ हुन सक्ने व्यवस्था गरिन लागेको हो ।
अब सोमबारदेखि नियमित समयमा हुने प्रत्येक कारोबारमा सेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने छ । यसअघि २ प्रतिशत घटबढ हुन सक्ने गरि अर्डर हाल्न पाउने तथा सोहीबमोजिम घटबढ हुन सक्ने व्यवस्था थियो । अब भने सो २ प्रतिशतको सीमालाई बढाएर ३ प्रतिशत कायम गर्न लागिएको हो ।
अब प्रि ओपन सेसनमा सेयर मूल्य ५ प्रतिशतले घटबढ हुन पाउने छ । हाल प्रि ओपन सेसनमा सेयर मूल्य २ प्रतिशत मात्र घटबढ हुन सक्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ५ प्रतिशत कायम गर्न लागिएको हो । प्रि ओपन सेसन बिहान १०ः३० देखि १०ः४५ बजेसम्म सञ्चालन हुने गर्दछ ।
प्रतिक्रिया