उपेक्षित सम्पदाबाट अन्तर्राष्ट्रिय गन्तव्य बन्ने अवसर

मधेस प्रदेश

नेपालको सन्दर्भमा मधेस प्रदेश धार्मिक पर्यटनको अपार सम्भावना बोकेको प्रदेश हो । मन्दिरै मन्दिर, ऐतिहासिक तथा धार्मिक पोखरीहरू, साथै रामायण र महाभारतकालीन अवशेषहरूको समृद्ध धरोहरले यो प्रदेशलाई विशेष बनाएको छ । यस्ता सम्पदाहरूको संरक्षण र प्रवद्र्धनमा उचित लगानी गर्नसके मधेस प्रदेश आर्थिक समृद्धिको दिशातर्फ तीव्र रूपमा अघि बढ्न सक्ने अवस्था छ । तर, विभिन्न राजनीतिक कारण र राज्यको अपर्याप्त ध्यानका कारण कतिपय महत्वपूर्ण सम्पदाहरू विलुप्त हुने अवस्थामा पुगेका छन् भने कतै अतिक्रमण र विनाशको जोखिम अझै कायम छ ।

यसैबीच, हालै प्रधानमन्त्री बालेन्द्र साहले जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने भिजन अघि सारेपछि मधेसमा धार्मिक पर्यटनको नयाँ सम्भावना र उत्साह देखिएको छ । रामायणकालीन इतिहास बोकेको जनकपुरधामलाई विश्वस्तरमा चिनाउने उद्देश्यसहित ‘स्टेचु अफ म्यारिज’ अर्थात् प्राचीन विवाह स्मारकको अवधारणा पनि चर्चामा आएको छ ।

जनकपुरधामका परिकल्पनाकार दिनेश पुर्वेले यस परियोजनालाई ‘म्यारिज ल्यान्ड’ वा डिज्निल्यान्ड सरह विकास गर्ने प्रस्ताव पटक–पटक विभिन्न प्रधानमन्त्रीसमक्ष पेस गर्दै आएका छन् । चाहे प्रचण्ड नेतृत्वको सरकार होस् वा वर्तमान नेतृत्व, उनले निरन्तर पहल गर्दै आएका छन् । साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत पत्र लेख्दै जनकपुरधामका लागि प्रदान गरिएको १ अर्ब भारतीय रुपैयाँ यसै परियोजनामा उपयोग गर्न तथा थप आवश्यक बजेट व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् ।

धार्मिक पर्यटनका दृष्टिले मधेस प्रदेश केवल राजधानी जनकपुरधाममा मात्र सीमित छैन, प्रदेशका ८ वटै जिल्लामा फैलिएका यस्ता धार्मिक तथा ऐतिहासिक सम्पदाहरूले पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान दिनसक्ने अवस्था रहेको छ । यहाँ रहेका विविध मठमन्दिर, शक्तिपीठ तथा सांस्कृतिक धरोहरहरूले मधेसलाई एक समृद्ध धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेका छन् । यस सन्दर्भमा मधेसका प्रमुख आकर्षणहरूमा यहाँका प्रख्यात मन्दिरहरू विशेष रूपमा उल्लेखनीय छन् । जानकी मन्दिर, गढीमाई मन्दिर, कंकालिनी मन्दिर, छिन्नमस्ता भगवती मन्दिर, राजदेवी मन्दिर, सलहेश फूलबारी, लक्ष्मीनारायण मन्दिर तथा पारसनाथ मन्दिरलगायतका शक्तिपीठहरू यस प्रदेशका महत्वपूर्ण धार्मिक केन्द्रहरू हुन् । यी मठमन्दिरहरूमा वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन भइरहन्छ, जसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाइरहेको छ ।

जानकी मन्दिर

धनुषा जिल्लाको जनकपुरधामस्थित जानकी मन्दिर विश्वभरका हिन्दुहरूको आस्था केन्द्र हो । यो मन्दिर प्रदेशकै बढी पर्यटक आउने ठाउँ हो । सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ । जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै आएको छ । माता सीताको जन्मस्थलका रूपमा विश्वास गरिने यो मन्दिरले देश–विदेशका लाखौँ श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

इतिहासअनुसार, जानकी मन्दिरको निर्माण सन् १९१० (वि.सं. १९६७) मा भारतको टीकमगढकी महारानी वृशभानु कुँवरद्वारा गराइएको हो । धार्मिक विश्वासअनुसार, महारानीलाई सपनामा माता सीताले दर्शन दिएपछि उनले जनकपुरधाममा भव्य मन्दिर निर्माण गराएकी थिइन् । निर्माणका क्रममा करिब ९ लाख रुपैयाँ खर्च भएकाले यसलाई ‘नौलखा मन्दिर’ समेत भन्ने गरिन्छ । मुगल, राजपूत तथा स्थानीय स्थापत्य शैलीको मिश्रणमा बनेको यो मन्दिर ३ तल्ले संरचनामा तयार गरिएको छ, जसमा दर्जनौँ कोठा र आकर्षक कलात्मक डिजाइन रहेका छन् । यसको भव्यता र सौन्दर्यले यसलाई नेपालकै उत्कृष्ट धार्मिक धरोहरमध्ये एक बनाएको छ ।

रामायणकालीन इतिहाससँग जोडिएको जनकपुरधाममा भगवान् राम र माता सीताको विवाह भएको विश्वास गरिन्छ । यसै कारण हरेक वर्ष विवाह पञ्चमीका अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ, जहाँ नेपाल र भारतबाट हजारौँ श्रद्धालु सहभागी हुन्छन् । धार्मिक आस्थाको केन्द्र मात्र नभई जानकी मन्दिरले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उचित संरक्षण, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा ध्यान दिनसके जनकपुरधामलाई विश्वस्तरको धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने सरोकारवालाहरूको भनाइ रहेको छ ।

धनुष मन्दिर

धनुषा जिल्लामा अवस्थित धनुषाधाम अर्को महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित रहेको छ । त्रेता युगसँग जोडिएको यस स्थलको विशेष महत्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । वाल्मीकि रामायणअनुसार, भगवान् रामले माता सीतासँग विवाह गर्न शिव धनुष उठाएर ताँदो चढाउने क्रममा उक्त धनुष ३ टुक्रा भएर भाँचिएको थियो । तीमध्ये १ टुक्रा आकाशमा, अर्को पातालमा र तेस्रो टुक्रा पृथ्वीमा खसेको वर्णन गरिएको छ । पृथ्वीमा झरेको सो धनुषको टुक्रा रहेको स्थान नै हालको धनुषाधाम भएको लोकविश्वास रहिआएको छ ।

यस धार्मिक आस्थाका कारण धनुषाधाममा नेपाल तथा भारतका विभिन्न स्थानबाट वर्षैभरि श्रद्धालु तथा दर्शनार्थीहरू आउने गर्दछन् । विशेष पर्व तथा मेलाका अवसरमा यहाँ ठुलो संख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ । धनुषाधाम क्षेत्रमा रहेको धनुष मन्दिरका साथै यहाँको प्राकृतिक तथा पर्यटकीय सम्पदाहरू पनि उत्तिकै आकर्षक छन् । धनुषाधाम वन, सोही वनभित्र रहेको वाणगंगा नदी लगायतका स्थलहरूले धार्मिक पर्यटनसँगै प्राकृतिक पर्यटनको समेत सम्भावना बोकेको देखिन्छ ।

कंकालिनी भगवती मन्दिर

सप्तरी जिल्लाको भारदहस्थित कंकालिनी भगवती मन्दिर मधेस प्रदेशकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा अवस्थित यो शक्तिपीठमा नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक करिब १ हजार भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । विशेषगरी दसैँको घटस्थापनादेखि यहाँ लाखौँ श्रद्धालुको भिड लाग्ने गर्दछ । मनोकामना पूरा हुने जनविश्वासका कारण यस मन्दिरप्रति भक्तजनको आस्था झन् बढ्दै गएको छ ।

मधेस प्रदेश सरकारको सहयोगमा मन्दिर वरपरको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पोखरी, ताल, खोला र घाटसहित करिब २० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई व्यवस्थित बनाउन सरकारी सहयोग तथा आन्तरिक आम्दानीबाट विभिन्न निर्माण कार्यहरू सम्पन्न गरिएका छन् । कोसी नदीको कटान तथा बाढीपहिरोबाट मन्दिर जोगाउन सडक विभागको केन्द्रीय कार्यालयको करिब ८० लाख रुपैयाँ सहयोगमा ‘रिटेनिङ वाल’ समेत निर्माण गरिएको छ ।

ऐतिहासिक रूपमा, २०५९ सालमा करिब ७० लाख रुपैयाँको लागतमा प्राचीन मन्दिरलाई नयाँ तथा आकर्षक स्वरूप दिइएको थियो । नेपाली पगोडा शैलीमा निर्माण गरिएको यस मन्दिरमा ५ तहको छाना रहेको छ, जसले यसको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ । किंवदन्तीअनुसार, भारदह क्षेत्रमा मानव बस्ती बसाल्ने क्रममा जमिन खन्ने क्रममा फेला परेको दुर्गाको ढुंगे प्रतिमालाई आधार मानी मन्दिर स्थापना गरिएको हो । त्यसयता स्थानीयले निरन्तर पूजाआजा गर्दै आएका छन् । सदरमुकाम राजविराजबाट करिब १८ किलोमिटर पूर्व र कोसी पुलबाट ४ किलोमिटर पश्चिम, मुख्य राजमार्ग छेउमै अवस्थित यस मन्दिरमा विशेष चाडपर्व तथा अवसरमा टाढाटाढाबाट भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

छिन्नमस्ता भगवती

सप्तरी जिल्लाको प्रमुख शक्तिपीठमध्ये एक छिन्नमस्ता भगवती मन्दिर, स्थानीय रूपमा ‘सखडा भगवती’ भनेर चिनिने, धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित छ । राजविराज बजारबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित यो मन्दिर श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ । छिन्नमस्ता भगवतीलाई सिद्धपीठ तथा शक्तिपीठका रूपमा मानिन्छ । यहाँ भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । भाकल पूरा भएपछि भक्तजनहरूले बोका, हाँस, परेवा, भेडा, कुखुरा आदि बलि चढाउने परम्परा अझै कायम छ ।

मन्दिरको मूल गर्भगृहमा सखडा देवीको मूर्ति रहेको छ, जसको पाउमा महिषासुर वधको दृश्य अंकित गरिएको छ । मन्दिर परिसरभित्र गणेश, पञ्चमुखी हनुमान, पञ्चमुखी नाग, शनि लगायतका अन्य देवीदेवताका मूर्तिहरू पनि रहेका छन् । साथै, यहाँ अवस्थित विशाल पोखरी ‘शान्ति सागर’ ले क्षेत्रको आकर्षण अझ बढाएको छ । छिन्नमस्ता भगवती मन्दिरको इतिहास सिम्रौनगढसँग जोडिएको पाइन्छ । किम्बदन्तीअनुसार सन् १०९७ तिर मुस्लिम आक्रमणपछि कर्नाटवंशी राजा नान्यदेव मिथिलामा आएर सिम्रौनगढमा राजधानी स्थापना गरेका थिए । सोही वंशका राजा शक्रसिंह देव निर्वासनको क्रममा सप्तरी आइपुगेका थिए । त्यतिबेला जंगलले ढाकिएको क्षेत्रमा सफाइ गर्दा फेला परेको भगवतीको मूर्तिलाई कूलदेवीका रूपमा स्थापना गरी ‘शक्रेश्वरी’ नामकरण गरिएको विश्वास गरिन्छ, जुन पछि ‘सखडा भगवती’का रूपमा परिचित भयो ।

इतिहासकारहरूका अनुसार सन् १३२८ मा गयासुद्दिन तुगलकको आक्रमणका क्रममा सिम्रौनगढ ध्वस्त हुँदा यस मन्दिरको मूर्तिसमेत क्षतिग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले पनि मूर्तिलाई सूक्ष्म रूपमा हेर्दा ३ टुक्रा जोडिएको जस्तो देखिन्छ । विशेष कुरा के छ भने, यो मन्दिर हिन्दू मात्र नभई मुस्लिम समुदायको पनि आस्थाको केन्द्रका रूपमा रहेको छ, जसले धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गर्दछ । हाल मधेस प्रदेश सरकारको पहलमा मन्दिर परिसरको सौन्दर्यीकरण तथा पूर्वाधार विकासका कामहरू अघि बढाइएका छन्, जसले यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउँदै लगेको छ।

सलहेस फूलबारी

मधेसमा धार्मिक पर्यटनको अर्को अकर्षक केन्द्र लहान नजिकै एउटा फूलबारी हो जहाँ हरेक वर्ष वैशाख १ गतेका दिन ठुलो मेला लाग्छ । त्यो दिन मात्र बगैँचामा सेतो रंगको सुनाखरी फुल्छ । बगैँचामा सलहेस महाराज तथा मालिनीको मन्दिर छ । मन्दिरमा गरेको भाकल पूरा हुने जनविश्वास छ । त्यसैले मन्दिरमा प्रेमिल युवाको भिड लाग्छ । वैशाख आउन ३ दिन मात्रै बाँकी रहेको अवस्थामा यसको सुधारका लागि केन्द्रीय र प्रदेश स्तरबाट ठुलै आयोजना ल्याएको अहिलेसम्म देखिएको छैन तर स्थानीयतहले मेलालाई व्यवस्थापन गर्नका लागि पहल गरेको देखिन्छ ।

सलहेस अर्थात् राजा जयवर्धन सैलेश । जो लोककल्याणकारी राजा थिए । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचारविरुद्ध लडेका विद्रोही नायकका रूपमा लिइन्छ । दुसाध र दनुवार समुदायले देवताका रूपमा पूज्छ ।

१४औँ शताब्दीका लोक नायक थिए, राजा सलहेस । जो पराक्रमी, वधशाली, विद्वान थिए । वैशाख १ गते नयाँ वर्षको दिन सिरहाको लहानस्थित सलहेस फूलबारीमा रहेको हारमको रुखमा खुनाखरी फूल फक्रिन्छ । जुन फूलको सम्बन्ध राजा सलहेसको अपुरो प्रेम कहानीसँग जोडिएको छ । इतिहासकारहरूका अनुसार पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सहलेस समान्य चौकीदार थिए । कार्यशैली, सुझबुझले उनलाई सबैले मानसमान दिन्थ्यो । पछि राजाले उनलाई राजा पदवी दियो । सहलेशको नाच र किंवदन्तीमा पनि दुःख पर्दा गरिबहरूको गुहार माग्न जाने गरेको कुरा वर्णन छ । लोक नायकले मात्रै गुहार सुन्ने विशेषता हुन्छ ।

यो विशेषताले सलहेस लोकप्रिय भए । अहिलेको समयमा पसिन राजनीतिक परिपार्टीमा कतै कहचरी लगाउन, जनतासँगको प्रत्यक्ष कुराकानी हुन्छ । पहिला उनी जनतामा गएर जनताको कुरो सुन्थे । समस्याको समाधान गर्थे । राजा कुहलेश्वरका ४ छोरी थिए – रेशमा, कुसमा, दोना र हीरा । उनीहरू तन्त्र विद्यामा पारंगत थिए । उनीहरू मालिन सम्प्रदायका थिइन् । राजका छोरीहरू सहलेशप्रति आकर्षित थिए । कुसमा अलि विशेष थिइन् । सहलेसको विवाह भइसकेको थियो । उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन । कुसमा उनको प्रतीक्षामा सहलेश फूलबारीमा हारमको रुखमा बसेकी थिइन् । उनले प्रत्येक नयाँ वर्षको दिनमा त्यहाँ प्रतिक्षा गर्थिन् । त्यसैको प्रतिकको रूपमा आज पनि सुनाखरी फूल फुल्ने गरेको जनविश्वास छ । राजा सलहेशको गाथासँग जोडिएको सलहेस फुलबारी, महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागतरूपमा मेला लाग्ने गर्छन् ।

राजदेवी पञ्चावती मन्दिर (देवी थान)

सिरहा जिल्लास्थित राजदेवी पञ्चावती मन्दिर(देवी थान) मधेसको धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो । लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णिमाकै दिन भव्य मेला लाग्छ । यहाँ भाकल गर्न प्रत्येक शनिबार सिरहा, सप्तरी, सुनसरीसहित दूरदराजका श्रधालु आउँछन् । पञ्चावति मन्दिरमा राजदेवी मातालाई चण्डी ‘पूर्णिमा’ का दिन एक दिन मात्र बलि चढाइन्छ । बुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भए पनि राजदेवी माताले त्यस दिन मात्र बली लिने भएकाले यहाँ यसै दिन बलि चढाइन्छ । राजदेवी मातालाई ‘चण्डीपूर्णिमा’ मा एक दिन मात्र ‘बलि’ दिइने पुरानो चलनले अहिलेसम्म निरन्तरता पाउँदै छ ।

१२ पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जंगली जनावरहरूले दुःख दिन थालेपछि पुजारी देवीबहादुर भट्टका पुर्खालाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी पूर्णिमाको दिन बलि दिन भनेअनुसार यहाँ बलि दिने परम्परा रहेको हो । मन्दिरको चारैतिर जंगलले घेरिएको र चराचुरुंगीको चिरबिरले देवस्थल रमणीय छ । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । मन्दिरको उत्तरपट्टि राजाजी, दिनाभद्री, कुवेर, पूर्वपट्टि लाटी बौकी र सल्हेस तथा दक्षिणमा नागनागिन र उत्तरपश्चिममा बलि दिने स्थान छ । सन्तानप्राप्ति, रोग विनाश, कार्यसफलताका लागि भक्तजनहरूले लहान बजारदेखि ९ किलोमिटर उत्तरमा ३ बिघा क्षेत्रफलमा फैलिएको जंगलमा रहेको राजदेवी मन्दिरमा भाकल गर्न आउँछन् । भाकल पूरा भएपछि चण्डी पूर्णिमाको दिन बोका, पाठी, हाँस, परेवा र कुखुरा बलि दिन्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बलि दिने चलन छ ।


मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत देशका विभिन्न गाउँसहर र भारतको विहार प्रान्तबाट यहाँ आउने गर्छन् । गढीमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ । वर्षमा एक दिन मात्र बली लिने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनले पशु र पक्षि बली दिन्छन् । यस देवी मन्दिरमा सन्तानप्राप्तिका लागि भाकल गर्ने श्रद्धालुहरू बढी पाइन्छन् । विवाह भएको वर्षौंसम्म सन्तान नभएपछि यस देवी मन्दिरमा भाकल गर्दा सन्तान प्राप्ति हुने विश्वास रहँदै आएको छ ।

गढिमाई मन्दिर

बारा जिल्लाको महत्वपूर्ण स्थल हो, गढीमाई मन्दिर । गढीमाई नगरपालिका–१ स्थित यो मन्दिर संसारभरका हिन्दुमाझ परिचित छ । यस मन्दिरमा ५ वर्षमा एकपटक मंसिर शुक्ल सप्तमीदेखि महिनादिन मेला लाग्छ । यस मन्दिरमा दिइने बलि पनि संसारभर परिचित छ । नेपाल र भारतसँगै अन्य देशबाट पनि श्रद्धालु आउने गरेका छन् ।

गढीमाई मन्दिरको इतिहास लामो र समृद्ध छ । यो मन्दिरको स्थापना कहिले भएको थियो भन्ने निश्चित तिथिमिति कतै उल्लेख छैन, तर स्थानीय बुढापाका मानिसहरूले भन्दै आएको कथाअनुसार गढीमाई देवीको पूजा र आदर प्राचीन समयदेखि नै हुँदै आएको छ । गढीमाईलाई शक्ति र अभिभावक देवीको रूपमा मानिन्छ, जसले आफ्ना भक्तहरूको रक्षा गर्छिन् र उनीहरूको मनोकामना पूरा गर्छिन् भन्ने जनविश्वास छ ।

गढीमाई मन्दिरको सर्वाधिक चर्चा हुने कारण भनेको विशेष ५ वर्षे गढीमाई मेला हो । यो मेला प्रत्येक ५ वर्षमा एकपटक मनाइन्छ र यसमा लाखौँ भक्तजनहरू सहभागी हुन्छन् । गढीमाई मेला विशेषगरी पशुबलिका लागि परिचित छ । यो मेलामा हजारौँ राँगा, बाख्रा, कुखुरा, परेवा, हाँस आदि देवीलाई चढाउँछन् । यो बलि दिने परम्पराले देवीको प्रसन्नता र भक्तहरूको मनोकामना पूर्ति गराउने विश्वास गरिन्छ ।

गढीमाई मन्दिरको वास्तुकला पनि ध्यान दिनयोग्य छ । यो मन्दिर परम्परागत नेपाली शैलीमा निर्मित छ, जसमा प्यागोडा शैलीको छत र कलात्मक काठका मूर्तिहरू छन् । मन्दिर परिसर शान्त र पवित्र वातावरणले भरिपूर्ण छ, जसले भक्तजनहरूलाई ध्यान र आराधना गर्न प्रेरित गर्छ ।

सिम्रोनगढ

बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दुरीमा अवस्थित सिम्रौनगढ देशकै एक महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थलका रूपमा चिनिन्छ । मिथिला क्षेत्रको प्राचीन राजधानी मानिएको सिम्रौनगढले नेपालको इतिहास, संस्कृति र सभ्यतामा विशेष स्थान ओगटेको छ । इतिहासअनुसार, सिम्रौनगढ कर्नाटवंशी (सिम्रौन राज्य) को राजधानी थियो, जसको स्थापना सन् १०९७ मा राजा नान्यदेवले गरेका थिए । नान्यदेवपछि गंगदेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव र अन्तिम राजा हरिसिंहदेवले कोसीदेखि गण्डकी र महाभारत पर्वत शृंखलादेखि गंगासम्म आफ्नो शासन विस्तार गरेका थिए । यस क्षेत्रको प्रभाव नेपालसम्म फैलिएको इतिहासमा उल्लेख पाइन्छ ।

सिम्रौनगढ ११औँ देखि १४औँ शताब्दीसम्मको समृद्ध सभ्यता बोकेको स्थल हो । यहाँ १८०० वर्ष पुरानो गुप्तकालीन पुरावशेषहरू समेत फेला परेका छन् । किलाबन्दी गरिएको यस क्षेत्रलाई ‘बाही’ भनिन्छ, जसको आयताकार संरचना उत्तर–दक्षिण करिब ६ किलोमिटर र पूर्व–पश्चिम औसत ४.५ किलोमिटर फैलिएको छ । यस क्षेत्रमा मन्दिर, दरबारका भग्नावशेष, पोखरी, इनार, दुर्ग, भित्ताहरूलगायत विभिन्न पुरातात्विक सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् । तिरहुत क्षेत्रभरि यस्ता अवशेषहरू भए पनि सिम्रौनगढमा ती बढी र उच्चकोटीका भेटिने गरेका छन्, जसले यस क्षेत्रको ऐतिहासिक महत्वलाई झल्काउँछ । इतिहासमा सन् १३२४ तिर गयासुद्दिन तुगलकले आक्रमण गरी सिम्रौन राज्यलाई पराजित गरेपछि अन्तिम राजा हरिसिंहदेव पहाडतिर गएर काठमाडौँ उपत्यकामा प्रवेश गरेका थिए । पछि मल्लकालीन शासनमा समाहित हुँदै उपत्यकाको कला, वास्तुकला र साहित्य विकासमा समेत कर्नाटवंशीहरूको प्रभाव परेको इतिहासकारहरू बताउँछन् । सिम्रौनगढलाई सिमरा वनगढ, सिम्मनगाडा, पाटा लगायतका नामले पनि चिनिन्छ । यो स्थल हिमालयदेखि दक्षिण भारतसम्मको सांस्कृतिक आदान–प्रदानको महत्वपूर्ण केन्द्रका रूपमा रहेको थियो ।

मंगलबाबा मन्दिर

हिन्दु र मुस्लिम समुदायकाले पूजा गर्ने मन्दिर हो, मंगलबाबा मन्दिर । सर्लाहीको सदरमुकाम मलंगवा पनि मंगलबाबाको नामबाट रहन गएको पाइन्छ । मलंगवामा रहेको यस मन्दिरमा हिन्दु र मुस्लिम सुमदायले पूजा गर्ने भएकाले धार्मिक सद्भावका रूपमा पनि हेर्ने गरिएको छ । सर्लाहीमा शीतलामाई, शिव, सन्तोनगोपाल मन्दिरलगायत धार्मिकस्थलसँगै प्राकृतिक स्थल पनि प्रख्यात छन् । भरत ताल प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । बागमती नगरपालिका वडा–४ र १२ मा रहेको यो ताल १२१ बिघामा फैलिएको छ । बोटिङ गर्न र पिकनिकका लागि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

गहवामाई मन्दिर

मुलुककै आर्थिक राजधानी वीरगन्जस्थित रहेको धार्मिक मन्दिर गहवामाई मन्दिर मधेस प्रदेशको धार्मिक पर्यटनको महत्वपूर्णस्थल रहेको छ । मन्दिरको स्थापना सम्बन्धित कुनै ठोस प्रमाण नभए पनि लगभग २५० वर्षअघि गहवाका कहार परिवारका झाँक्री जिउत महतोले गहवामाई नामकरण गरी माताको ७ वटा पिण्ड स्थापना गरी पूजा गर्दै आइरहेकोमा हाल महतोका वंशजमध्येका अच्छेलाल कहारले पूजालाई निरन्तरता दिँदै आएका छन् । मन्दिर जीर्ण रहेकाले तत्कालीन बडाहाकिम र भक्तजनको सहयोगमा मन्दिरको जीर्णोद्धार गरी पक्की रूपमा मन्दिर निर्माण गरेर ७ वटै पिण्डलाई चाँदीको कवचले छोपी पूजा हुँदै आएको छ । महानगरपालिकाले मन्दिर व्यवस्थापनका लागि पहल गरेपछि मन्दिर आकर्षक र सुन्दर देखिन्छ । वर्षभरि गहवामाई मन्दिरको दर्शनका लागि हजारौँ श्रद्धालु त्यहाँ पुग्ने गरेको छ ।

पारसनाथ मन्दिर र पर्सा निकुञ्ज

वीरगन्ज छेउकै सखुवाप्रसौनी गाउँपालिका–५ स्थित पारसनाथ मन्दिर मधेसको अर्को धार्मिक गन्तव्य हो । यही मन्दिरका नामबाट पर्सा जिल्लाको नामकरण भएको हो । यस मन्दिरमा पनि नेपाल र भारतका श्रद्धालु आउने गरेका छन् ।

त्यसैगरि पर्सा राष्ट्रिय निकुञ्ज पर्यटनका लागि महत्वपूर्ण स्थल हो । पर्सा, मकवानपुर र बारा जिल्लामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज मधेसको प्रमुख गन्तव्यमध्ये पर्छ । वीरगन्ज नजिकैको यो संरक्षित क्षेत्रमा बाघ, हात्ती र चराचुरुंगीका लागि प्रख्यात छ । निकुञ्ज मुख्यालयबाट गरिने जंगल सफारीमा नजिकबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।

राजदेवी मन्दिर

राजदेवी मन्दिर रौतहटको प्रख्यात धार्मिक स्थल हो । कटहरवनास्थित मन्दिर बाढीले भत्किएपछि २०४० सालमा प्यागोडा शैलीमा नवनिर्माण गरिएको छ । ३ तले मन्दिरमा देवीको प्रतीकका रूपमा ४ फुट अग्लो घुँडाको आकारको शिला छ जसलाई चाँदीले बेरिएको छ । त्यसैलाई राजदेवी मानेर पूजाआजा गरिन्छ । चाँदीले नै बेरेका अन्य शिलालाई बगलामुखी र गुह्येश्वरी पनि भनिन्छ । यस मन्दिरभित्र चामुण्डा भगवती र भीमसेनका शिला पनि छन् । जसको दर्शनका लागि टाढा टाढाबाट श्रद्धालु आउने गर्छन् ।

जलेश्वरनाथ महादेव

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर मधेस प्रदेशकै एक महत्वपूर्ण धार्मिक पर्यटन स्थलका रूपमा परिचित छ । स्वयम्भू रूपमा प्रकट भएको विश्वास गरिएको यो शिवलिंग धार्मिक दृष्टिले अत्यन्तै पवित्र मानिन्छ । तर, राज्यको पर्याप्त ध्यान अभावका कारण यस्तो ऐतिहासिक धरोहर क्रमशः जीर्ण बन्दै गएको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक मान्यताअनुसार, पश्चिम भागमा अर्धचन्द्राकार चिन्ह अंकित रहेको यस शिवलिंगमा सर्वसिद्धि प्रदान गर्ने शक्ति रहेको विश्वास गरिन्छ । विभिन्न धार्मिक ग्रन्थहरूमा ‘जलेश्वरो महालिंग रुद्रेण स्थापितः स्वयम्’ भन्ने श्लोकसमेत उल्लेख गरिएको पाइन्छ । मन्दिरको संरचना पनि विशिष्ट रहेको छ । मन्दिरको मध्य भागमा १६ सिढी तल चतुष्कोण आकारको जलकुण्डमा शिवलिंग अवस्थित छ, जसलाई ‘जलेश्वरनाथ महादेव’का रूपमा पूजा गरिन्छ । मन्दिरभित्रको जलगुफामा करिब १२ देखि १५ फिट गहिराइमा जलमग्न अवस्थामा शिवलिंग स्थापित रहेको छ, जसले यसको विशिष्टता अझ बढाएको छ ।

इतिहासअनुसार, १८६९ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा नित्य पूजाआजाका लागि जलेश्वर महादेवको नाममा विभिन्न स्थानका करिब २७५ बिघा जमिन तत्कालीन महन्थलाई लालमोहर ताम्रपत्रमार्फत प्रदान गरिएको थियो । तर हाल मन्दिरसँग सो सम्पत्ति नरहेको गुठी संस्थान जलेश्वरका अधिकारीहरू बताउँछन् । उक्त ताम्रपत्र भने आज पनि मन्दिरको महत्वपूर्ण ऐतिहासिक प्रमाणका रूपमा सुरक्षित रहेको छ । मन्दिर परिसर वरपर रहेका प्राचीन पोखरीहरू – वरुण सर, पुरन्द सर (गारधोई पोखरी), पूर्णि सर र महन्थ पोखरी –अहिलेसम्म अस्तित्वमा रहे पनि तिनको व्यवस्थापन जलेश्वर नगरपालिकाले गर्दै आएको छ ।

मधेस प्रदेशमा यस्ता कैयन् ऐतिहासिक तथा धार्मिकस्थलहरू छन् जसलाई उजागर गरे सरकारले धार्मिक पर्यटनमा लगानी गरी आर्थिक समृद्धी हासिल गर्न सक्ने अवस्था छ । मधेस प्रदेशका ८ वटा जिल्लाका सबै पर्यटकीयस्थलको वर्णनन गर्न थालियो भने एउटा किताब नै निस्किने भएकोले सरकारले अभियान नै चलाएर यस्ता सम्पदालाई उजागर गर्नुपर्ने स्थानीयको भनाइ छ । यदि यस्ता दीर्घकालीन र योजनाबद्ध परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने, मधेस प्रदेश केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ ।

प्रतिक्रिया