
साँझको डुब्दै गरेको घाम दानव नदी (प्राचीन रोहिणी) को शान्त सतहमा ठोक्किएर परावर्तित भइरहेको थियो । नदीको तिरमा उभिएर टाढासम्म फैलिएका खेतका गराहरूलाई हेरिरहँदा ती केवल उब्जाउ फाँटहरू थिए । तर, पैतालामुनि एउटा सिंगो सभ्यता निदाइरहेको थियो— जुन बुद्धको पदचापले पवित्र बनेको थियो । तर, आज प्रचारको अभावमा मौन छ । लुम्बिनी प्रदेश भन्नेबित्तिकै धेरैको मानसपटलमा मायादेवी मन्दिरको शान्त वातावरण, स्वर्गद्वारीको आध्यात्मिक उचाइ वा बर्दियाको घना जंगल र पाटे बाघको तस्बिर झल्किन्छ । तर, लुम्बिनीको वास्तविक गहिराइ यी परिचित गन्तव्यहरूभन्दा धेरै टाढा, कच्ची सडक र खेतका गराहरूबीच लुकेका प्राचीन ढिस्काहरूमा छ । गएको हप्ता मैले बुद्ध जन्मस्थल वरिपरि ती ओझेलमा परेका क्षेत्रहरूको यात्रा गर्ने अवसर जुराएँ, जहाँ इतिहास त छ, तर पूर्वाधार छैन; सम्भावना त छ, तर प्रचार छैन ।
मेरो यात्रा कपिलवस्तुको तिलौराकोटबाट सुरु भयो, जसले हालैका वर्षहरूमा विश्व सम्पदा स्थलका रूपमा सूचीकृत हुने चर्चा पाएको छ । तर, त्यहाँबाट केही माइलको दुरीमा रहेका कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा र क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा पुग्दा मन अमिलो भयो । सम्राट अशोकले ठड्याएका अशोक स्तम्भहरू अझै पनि साक्षीका रूपमा उभिएका छन् । तर, त्यहाँ पुग्ने पहुँच मार्ग र पर्यटकका लागि न्यूनतम सेवा तथा सुविधा अभावले राज्यको उपेक्षा प्रष्ट झल्किन्थ्यो । मेरो त्यो दिनको यात्रा केवल एउटा पत्रकारको भ्रमण मात्र थिएन; त्यो त इतिहासका ती टुटेका कडीहरूलाई जोड्ने प्रयास थियो, जुन तिलौराकोटको भव्यता र लुम्बिनीस्थित भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिरको चमकभन्दा धेरै टाढा, कच्ची सडक र धुलाम्य गाउँहरूमा छरिएका छन् । मर्चवारकी ईष्ट, मर्चवारी देवी, बुद्धको मावली मानिने अमवा (अमकोहिलनगर) र प्राचीन देउरवा स्तूपको अवस्था पनि उस्तै छ । ती स्थलहरू लुम्बिनीको भव्यताको छायामा परेजस्तो देखिए ।
जहाँ मर्चवारी देवीको बास छ

रूपन्देहीको दक्षिणी भेग, जसलाई मर्चवार भनिन्छ, त्यहाँ पुग्दा एउटा अर्कै संसारमा प्रवेश गरेको महसुस भयो । त्यो क्षेत्र केवल भूगोल मात्र होइन, एउटा जीवन्त सांस्कृतिक संग्रहालय जस्तो छ । सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाई गाउँपालिका समेटिएको त्यो ऐतिहासिक क्षेत्रको पहिचानको मेरुदण्ड हो— मर्चवारी देवी मन्दिर । भनिन्छ— प्राचीन फिरन्ते युगमा एउटा थारू कबिलाले आफ्नो इष्टदेवीको ‘पिण्ड’ लाई डोलामा बोकेर उत्तरतर्फ लाँदै गर्दा त्यस रमणीय बगैँचामा विश्राम गरेको थियो । केही दिनको बसाइपछि त्यहाँबाट प्रस्थान गर्न खोज्दा देवीको त्यो पिण्ड उठ्दै उठेन । देवीले त्यहीँ बस्ने इच्छा प्रकट गरेपछि कबिलाका सरदारले नजिकैको पोखरीबाट माटो ल्याई पिण्डलाई मानिसको पूर्ण कद (पूर्सा) बराबरको बनाई स्थापना गरी झिसमिसेमा निमको बोटजस्तै देखिने मर्चा (खुर्सानी) को बिरुवा रोपी त्यहाँबाट फर्किए ।
कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष ६६ वर्षीय चन्द्रभूषण यादवका अनुसार मर्चवारी देवी उत्पत्तिको अर्को एउटा मिल्दो प्रसंग पनि छ— ‘देवीको त्यो पिण्डलाई डोलामा राखेर ल्याउँदा पछि–पछि दूधको धारा बगाइएको थियो, त्यहाँ आइपुगेपछि दूध सकिएर त्यो धारा रोकियो र देवी त्यहीँ लुप्त भइन् । देवीलाई ल्याउने कबिलाको सरदारले पनि त्यहीँ देहत्याग गरेपछि देवी महिमाको कथा सुरु भएको हो ।’ त्यहाँ प्रत्येक मंगलबार, दसैँ र नवरात्र महिनाभरि स्थानीयसँगै नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुको भिड लाग्छ । भाकल पूरा भएपछि श्रद्धालुहरूले त्यहाँ सिमेन्टबाट बनेका हात्तीका मूर्ति र पित्तलका घन्टीहरू चढाउने, कथा सुन्ने, कडाही चढाउने जीवन्त परम्परा अझै प्रचलित छ । मन्दिरका महन्थ शम्भुशरण दासका अनुसार, ‘देवीको पूजा–आराधनाले दुःख–दरिद्रता नाश हुने तथा मनोकामना पूरा हुने जनविश्वास छ । पहिले बलिप्रथा रहे पनि अहिले त्यसलाई पूर्णतः हटाइएको छ ।’
मर्चवारी देवीको शक्तिपीठ रातो रङको माटोको पिण्ड आकारमा छ । त्यहाँ एउटा चामत्कारिक कथा पनि जोडिएको छ— ‘कुनै समय त्यस क्षेत्रमा हैजाको प्रकोप फैलिँदा एकजना भैँसी गोठालाले त्यहाँ उम्रेको खुर्सानी खाएर पोखरीको पानी पिएपछि निकै पीडा भयो । पछि देवीले सपनामा दिएको निर्देशनअनुसार पूजा–आराधना गर्दा उनी स्वस्थ भए र यसैगरी देवीको शक्तिको प्रचार चुलिँदै गयो । मर्चवारी देवी मन्दिर धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ । यस मन्दिरको महिमा कति छ भन्ने कुरा इतिहासले पनि पुष्टि गर्छ । तत्कालीन पाल्पा राज्यका सेनवंशीय राजाहरूले यहाँ बर्सेनि आएर आशीर्वाद लिने गरेको कथा छ । २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले यस मन्दिरको दर्शन गरेका थिए । उनले दिएको दानको रकमबाट त्यहाँ मर्चवारेश्वर महादेवको मन्दिर बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि २०६९ र २०७६ सालमा यहाँ पूजाअर्चना गरेका थिए । पूर्वराजासम्मले शिर निहुराउने यो शक्तिपीठ आज पनि एउटा व्यवस्थित ‘टुरिजम सर्किट’ को पर्खाइमा छ ।
सम्मरीमाईको चमत्कार : जब नदीको पानीले माताको आरती गरिन्थ्यो

मर्चवारीको धुलाम्य सडक छिचोल्दै जब म सम्मरीमाईको प्रांगणमा उभिएँ, मलाई लाग्यो यहाँको हावामा केवल अक्सिजन छैन, बरु शताब्दियौँ पुराना लोककथाहरूको सुगन्ध छ । डण्डा नदीको केही दुरीमा अवस्थित यो मन्दिर केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, यो त मर्चवार मात्र होइन, बरु सम्पूर्ण तराई–मधेसको गहिरो आस्था र अलौकिक शक्तिको एउटा जीवित संग्रहालय हो । स्थानीय लोकश्रुतिअनुसार, कुनै समय यहाँ यस्तो चमत्कार हुन्थ्यो, जसले आधुनिक विज्ञानलाई पनि चुनौती दिन्थ्यो । एकजना वृद्ध स्थानीयले आफ्ना चाउरिएका आँखा चम्काउँदै सुनाए, ‘बाबु, मेरो बुबाले आफ्नै आँखाले देख्नुभएको हो । जब तेल सिद्धिएर पुजारी चिन्तित हुन्थे, माताको ध्यान गर्दै डण्डा नदीको पानी भरेर ल्याउँथे र त्यसैबाट दियो बालेर आरती गर्थे । त्यो पानी घिउजस्तै बल्यो ।’
यो कथाले केवल ‘चमत्कार’ मात्र बुझाउँदैन, यसले यो क्षेत्रको जल र जमिनप्रतिको अगाध श्रद्धालाई प्रस्ट्याउँछ । तथ्यगत रूपमा हेर्दा सम्मरीमाई मन्दिरको ऐतिहासिकता मध्यकालीन समयसँग जोडिएको मानिन्छ । डण्डा नदीको पवित्रता र मन्दिरको अवस्थिति हुबहु कुनै पौराणिक चित्रपट जस्तो देखिन्छ । आज त्यो मन्दिर केही ओझेलमा परेको आभास हुन्छ । तर, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तवको योजनाले यस क्षेत्रलाई नयाँ जीवन दिने संकेत गर्छ । उनी त्यस मन्दिरलाई नेपाल र भारतबीचको ‘रोटी–बेटी’ जस्तै धार्मिक–सांस्कृतिक सम्बन्धको एउटा बलियो कडी मान्छन् । सीमावर्ती क्षेत्र भएकाले विशेष पर्वहरूमा यहाँ दुवै देशका श्रद्धालु भक्तजनहरूको उत्तिकै भिड लाग्छ । त्यो अलौकिक दियो आज भौतिक रूपमा नबलिरहेको होला, तर स्थानीयको विश्वास र विकासको नयाँ सोचले त्यस क्षेत्रमा आशाको नयाँ ज्योति भने पक्कै बालेको छ । सम्मरीमाईको यो जीवन्त कथाले हामीलाई भुलेका इतिहास, धर्म–संस्कृति एवं लुकेका शक्तिहरूसँग पुनः साक्षात्कार गराउँछ ।
हराएको ‘अमकोहिल नगर’
मेरो यात्राको सबैभन्दा महत्वपूर्ण मोड मर्चवारी–२ अमवामा रहेको (प्राचीन अमकोहिल नगर) थियो । त्यहाँ पुग्दा एउटा अग्लो ढिस्कोमाथि विशाल पिपलको रूख ठडिएको देखियो । रूखमुनि महिषासुर मर्दिनी (दुर्गा देवी) को प्राचीन मूर्ति, श्रद्धालुले चढाएका माटाका हात्ती र धातुका घन्टीहरू देखिए, जहाँ हिन्दु र बौद्ध सभ्यताको सुन्दर संगम देखिन्थ्यो । स्थानीयहरूले सो ढिस्कोलाई ‘बौद्ध स्तुप’ बताए । त्यहाँ भेटिएका चम्किला प्राचीन माटोका भाँडाका टुक्राहरूले ईसापूर्व सातौँ शताब्दीको मानव सभ्यताको कथा भन्दै थिए । नजिकै रहेको सगरा जसलाई स्थानीयले देवनिर्मित दाबी गरिहहेका थिए, त्यसको अलौकिक गहिराइ र सौम्यताको वर्णनगर्दै स्थानीय राकेश चौधरीले चित्कार सुनाए ।
अहिलेसम्म सरकार, लुम्बिनी विकास कोष समेतले देवदह नगरपालिकामा पर्ने क्षेत्रलाई नै भगवान बुद्धको मावली (कोलीय राज्य) मान्दै आएको छ । तर, अमवाका स्थानीयको दाबीले अहिले नयाँ बहस छेडिदिएको छ । उनीहरू भन्छन्, ‘बुद्धको वास्तविक मावली गाउँ त अमकोहिल नगर पो हो ।’
मेरो यात्राको अर्को महत्वपूर्ण मोड मर्चवारी गाउँपालिका–२ स्थित अमवा (प्राचीन अमकोहिल नगर) थियो । यहाँको महिमा दुर्लभ छ । गाउँको पूर्व–दक्षिणतर्फ रहेको यो ऐतिहासिक स्थलमा एउटा विशाल स्तूप आकारको थुम्को छ, जसको माथि एउटा बुढो पिपलको बोट जरा गाडेर उभिएको छ । पिपलको जरामाथि खुला आकाशमुनि दुर्गा स्वरूप महिषासुर मर्दिनीको प्राचीन पत्थरको मूर्ति स्पष्ट देखिन्छ । यसका साथै माटाका हात्ती र पित्तलका घन्टीहरू चढाइएका छन् । यहाँको वातावरणले हिन्दु र बौद्ध सभ्यताको अनौठो संगमको झल्को दिन्छ । यहाँ एउटा ‘साधु कुटी’ दुर्गा मन्दिर र नवनिर्मित धर्मशाला पनि छ । मुण्डन, विवाह, व्रतबन्ध र कडाही चढाउनेहरूको यहाँ सधैँ जमघट हुन्छ ।
अहिलेसम्म सरकार र लुम्बिनी विकास कोषले देवदह नगरपालिका क्षेत्रलाई नै बुद्धको मावली मान्दै आएका छन् । तर, इतिहासका पानाहरू पल्टाउँदा तथ्यहरू अलि फरक देखिन्छन् । प्रख्यात बेलायती पुरातत्वविद् एलेक्जेन्डर कनिंघमले सन् १८७१ मा प्रकाशित आफ्नो पुस्तक ‘द एन्सिएन्ट जिओग्राफी आफ इन्डिया’ (पेज ४१६–४१७) मा लेखेका छन्, ‘कोलीय सहर मायादेवीको जन्मस्थल थियो, जसलाई व्याघ्रपुर पनि भनिन्थ्यो । कोलीको स्थिति अनिश्चित भए पनि यसलाई अमवा गाउँसँग जोड्न सकिन्छ, जुन लुम्बिनीबाट पूर्वतर्फ ११ माइल र कोहान नदीको नजिकको बिन्दुबाट ३ माइल टाढा छ ।’

कनिंघमले उल्लेख गरेको दुरी, दिशा र नामको समानता मर्चवारीको ‘अमवा’ सँग ठ्याक्कै मेल खान्छ । स्थानीय पूर्ववडाध्यक्ष सुरेन्द्रनाथ मिश्रका अनुसार बाल्यकालमा उनीहरूले त्यस क्षेत्रलाई ‘व्यघ्रपुरवा’ भन्थे । ‘झाडीले भरिएको त्यस ठाउँमा दिउँसै जान पनि डर लाग्थ्यो,’ मिश्रले ती दिन सम्झिए । अमवाको त्यो स्तुपाकार थुम्को केवल माटोको थुप्रो मात्र होइन । त्यहाँ देखिएका प्राचीन ‘पनपथवा’ इँटाबाट बनेका, विशाल भग्नावशेष र डण्डा नदी (ऋषि डण्डपाणीको नामबाट रहेको विश्वास) को किनारले त्यसलाई वास्तविक बुद्ध मावली ‘देवदह’ भएको बलियो प्रमाणका रूपमा उभ्याएको छ । चिनियाँ यात्री फाहियानको यात्रा वृत्तान्त र भारतीय लेखक विजय मिश्रको ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ ले पनि अमवा नै बुद्धको मावली अमकोहिल नगर भएको सम्भावनालाई सशक्त बनाउँछ ।
रूपन्देही, नवलपरासी र कपिलवस्तुमा बुद्धसँग सम्बन्धित कुल २३५ भन्दा बढी पुरातात्विक स्थलहरू छन् । यी क्षेत्र पनि तिनैमध्येका हुन् । लुम्बिनीमा पर्यटक ओइरिँदा त्यसको केही दुरीमा मात्र रहेको अमवा र देउरवा जस्ता महत्वपूर्ण स्थलहरू खण्डहर देखिनु दुःखद् हो । माटोमुनि दबिएका ती प्राचीन संरचनाका भग्नावशेषहरूले अझै पनि एउटा नयाँ बिहानीको प्रतीक्षा गरिरहेका छन् ।
इतिहास बोल्ने तर सुन्ने कोही नभएको देउरवा स्तुप
मेरो यात्राको सबैभन्दा रहस्यमयी र दुःखद् बिसौनी थियो— पूर्वसेमराको त्यो देउरवास्थान । स्थानीयको दाबी सुन्दा आङ नै जिरिंग भयो— ‘बुद्धको वास्तविक अस्तुधातु राखिएको रामग्राम स्तुप देउरवास्थान पो लाग्न थाल्यो । विडम्बना ! आज त्यो पुरातात्विक इतिहासको स्वर्णिम थलो चौपायाको चरन र गोबर गुँइठाको मैदान बन्दै अतिक्रमणको चपेटामा परेको एउटा उपेक्षित ढिस्को जस्तो मात्र देखियो । लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला, जहाँको माटोको कणकणमा बुद्धकालीन सुवास लुकेको छ । यहाँका दक्षिणवर्ती क्षेत्रहरू— सिद्धनाथदेखि सुदेसरसम्म, अनि मकुनगढदेखि सुमेरगढसम्म— प्राचीन सभ्यताका साक्षी हुन् । यही भूगोलभित्रको एउटा रहस्यमयी र ऐतिहासिक स्थल हो— सुमेरगढको देउरवास्थान ।

सामाजिक सञ्जालदेखि गाउँका चोकचोकसम्म यो बहस पुगेको छ । स्थानीयहरू एकजुट हुँदै केन्द्र सरकारसम्म दबाब दिने तयारीमा छन् । उनीहरूको तर्क केवल भावनामा मात्र आधारित छैन, जमिनमुनि पुरिएका ती प्राचीन इँटाका भग्नावशेष र अलौकिक कथाले पनि केही भनिरहेका छन् । देउरवास्थानको भूबनोट हेर्दा यो कुनै समयको शक्तिशाली ‘जलदुर्गा’ जस्तो देखिन्छ । यसको तिनैतिर जलधारा छन् । उत्तरमा हगनी नाला, पूर्व र दक्षिण तर्फबाट डण्डा नदी, पश्चिमबाट घोघी नालाले घेरेको छ । उत्तरमा सेमरा गाउँतर्फबाट छिर्न मिल्ने एउटै मात्र प्रवेश मार्ग छ । त्यो प्राकृतिक किल्लाभित्र प्राचीन ‘पनपथवा’ इँटाहरूको जग देखियो । स्थानीयबासीका अनुसार कुनै समय त्यहाँ ‘देउरवा’ नामको समृद्ध नगर थियो, जुन दैवी विपत्तिमा परी माटोमुनि विलिन भयो । आज पनि खेत जोत्दा त्यहाँका प्राचीन संरचनाका अवशेष, इनार र माटाका भाँडाकुँडा (टुइयाँ) फेला पर्छन् ।
यो ठाउँसँग केही डरलाग्दा र रहस्यमय जनश्रुति पनि जोडिएका छन् । कसैले यहाँको माटो खन्दा परिवारमा मानसिक सन्तुलन गुमेको त कसैले एक्स्काभेटर बिग्रिएको कथा सुनाउँछन् । उहिले मध्यरातको सन्नाटामा यहाँ धातुका सिक्काहरू घैँटोमा ठोक्किएको आवाज सुनिन्थ्यो रे ! सायद, यस्तै दैवीप्रकोप र अन्धविश्वासको डरले नै अहिलेसम्म १० कट्ठा जग्गा अतिक्रमण हुनबाट जोगिएको छ । तिनतिरबाट नदी र नालाले घेरिएको यो ठाउँ कुनै समयको अभेद्य ‘जलदुर्गा’ जस्तो देखिन्छ । खेत जोत्दा आज पनि प्राचीन इँटा, इनार र माटाका भाँडाहरू निस्किन्छन् । तर, विडम्बना ! यो पुरातात्विक खजाना आज चौपाया चरनको मैदान बनेको छ । मानिसहरू अन्धविश्वास र डरका कारण यो ढिस्को खन्न त डराउँछन्, तर संरक्षणको अभावमा ऐतिहासिक इँटाहरू बिस्तारै हराउँदै छन् । युनेस्को र बेलायतको टोलीले अध्ययन गरेर प्रतिवेदन त बनायो, तर त्यो सरकारी दराजको धुलोमा कतै हरायो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले यस्ता सम्पदा नष्ट गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद र १ लाखसम्म जरिमानाको व्यवस्था गरेको छ । तर, देउरवास्थानमा यो कानुन केवल कागजमा सीमित छ । न त पुरातत्व विभागले यसको उत्खननमा तदारुकता देखाएको छ, न प्रदेश र स्थानीय सरकारले नै । करिब ६ वर्षअघि युनेस्को र बेलायतको दुरहाम विश्वविद्यालयको टोलीले यहाँ अध्ययन त ग¥यो, तर त्यो प्रतिवेदन दराजमै थन्कियो । मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरई भन्छन्, ‘हामीले सडक बनाउन बजेट छुट्याएका छौँ, प्रदेश सरकारलाई पटक–पटक बिन्ती ग¥यौँ, तर हाम्रो आवाज कसैले सुनेन ।’
रूपन्देही, परासी र कपिलवस्तुमा बुद्धसँग सम्बन्धित २३५ भन्दा बढी पुरातात्विक स्थलहरू छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका पर्यटक ओइरिँदा त्यसको केही किलोमिटर दक्षिणमा रहेको यो ऐतिहासिक देउरवा स्थानजस्ता क्षेत्रहरू खण्डहर बन्नु दुःखद् छ । स्थानीय शोधकर्ता भोला गुप्ताका अनुसार यो संरचना प्राचीन हस्तिनापुरको सभ्यता वा रामग्राम र गोटिहवा जस्तै महत्वपूर्ण चैत्य हुन सक्छ । यदि समयमै यसको उत्खनन र संरक्षण भएन भने इतिहासका यी अलिखित दस्तावेजहरू सदाका लागि माटोमा मिल्नेछन् । के हामी हाम्रो गौरवशाली इतिहासलाई यसरी नै हराउन दिने त ?
रूपन्देहीका यी फाँट तथा ऐतिहासिक, धार्मिक–पुरातात्विक स्थलहरू मात्र होइन, लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा पनि उपेक्षाको कथा उस्तै छ । गुल्मीको रेसुंगा धार्मिक आस्थामा मात्र सीमित छ । अर्घाखाँचीको नरपानीमा प्राकृतिक सौन्दर्य भए पनि हिल स्टेसन बन्न सकेको छैन । त्यसैगरी दाङको जखेरा र पाल्पाको सुके ताल पनि पर्यटकीय क्षमताको न्यून प्रयोगमा छन् । यहाँको पर्यटन अब मायादेवी मन्दिरको १–२ घन्टाको भ्रमणमा मात्र सीमित हुनु हुँदैन । यदि अमवा देउरवा, मर्चवारी देवी, सम्मरीमाई र नजिकैको शिद्धनाथस्थित शिव मन्दिरको व्याख्यान र इतिहासलाई एउटै सूत्रमा जोडेर एक बृहत् ‘हेरिटेज ट्रेल’ निर्माण गर्ने हो भने पर्यटकको बसाइ कम्तीमा १ हप्ता लम्ब्याउन सकिन्छ । मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले भने, ‘हामीसँग इतिहास छ, आस्था छ । अब त्यसलाई विश्वसँग जोड्न व्यवस्थित उत्खनन र पूर्वाधारको खाँचो छ ।’
साँझ ढल्दै गर्दा दानव नदी (प्राचीन रोहिणी) नदीको तिरमा उभिँदा मलाई लाग्यो— यहाँको माटोमा दबिएका ती इँटाहरूले हामीलाई बोलाइरहेका छन् । के हामीले उनीहरूको आवाज सुन्नेछौँ ? कि यी ऐतिहासिक धरोहरहरू अर्को शताब्दीसम्म पनि यसरी नै प्रचारप्रसारको पर्खाइमा ओझेलमै रहनेछन ? साँझ ढल्दै गर्दा मैले महसुस गरेँ— लुम्बिनीको पर्यटन अब १–२ घन्टाको मायादेवी मन्दिर दर्शनमा मात्र सीमित हुनुहुँदैन । यदि मायादेवीको जन्मस्थल अमवा, रामग्रामको साइनो देखिने देउरवा, मर्चवार क्षेत्रकी इष्ट मर्चवारीदेवी र सम्मरीमाईलाई बुद्ध जन्मस्थल लुम्बिनी र उनको दरबार तिलौराकोटसँग जोडेर एउटा ‘हेरिटेज ट्रेल’ निर्माण गर्ने हो भने पर्यटकहरू यहाँ हप्तौँ बिताउन सक्छन् ।
यी ओझेलमा परेका गन्तव्यहरू केवल माटाका ढिस्का वा पुराना मन्दिर मात्र होइनन्; यी त हाम्रा पुर्खाका गौरवशाली हस्ताक्षर हुन् । के हामीले उनीहरूको मौन पुकार सुन्नेछौँ ? कि यी धरोहरहरू अर्को शताब्दीसम्म पनि यसरी नै पूर्वाधार र प्रचारप्रसारको मृगतृष्णामा ओझेलमै रहिरहनेछन् ? माटोमुनि दबिएका ती प्राचीन भग्नावशेषहरूले अझै पनि एउटा नयाँ बिहानीको प्रतीक्षा गरिरहेको भान हुन्छ ।
प्रतिक्रिया