
चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको संक्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो ।
यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको संक्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् । गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको संक्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्ष मुनिका थिए ।
क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठ रोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपे्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु सुरुको चिह्न भएको उहाँले बताउनुभयो । अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठ रोगका चिह्न हुने र अन्त्यमा अपांगता हुन सक्ने उनले बताए ।
स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशी कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनी शंका गर्न सकिने उनले बताए ।
कुष्ठ रोगका चिह्न र लक्षणका आधारमा बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठ रोग, कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठ रोग हुने गरेको उनले जानकारी दिए । यस रोगको उपचार बढी किटाणु भएका कुष्ठ रोग बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठ रोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया