
नेपाललाई ‘जीवन्त सांस्कृतिक संग्रहालय’ भनिनुको खास कारण यहाँ धेरै प्रकारका संस्कृतिहरू सहअस्तित्वका साथ अघि बढ्नु हो । सानो भूगोल तथा थोरै जनसंख्या भएको ठाउँमा यति धेरै संस्कृति एकसाथ अघि बढेको उदाहरण नेपालबाहेक अन्यत्र छैन । भूगर्भविद् टोनी हेगनले नेपालभर पदयात्रा गरी तयार पारेको रिपोर्ट र पुस्तक ‘नेपाल’ मा उल्लेख गरेका छन्— ‘नेपालमा जति धेरै सांस्कृतिक र भौगोलिक विविधता छ, त्यति विविधता युरोपका धेरै देशहरू मिलाउँदा पनि भेटिँदैन ।’
हेगनको अनुसन्धान त एक उदाहरण मात्र हो, सांस्कृतिक विविधताको हिसाबले नेपाल विश्वमै अब्बल रहेको पुष्टि गर्ने अनुसन्धानमूलक कृतिहरू युनेस्कोमा दर्जनभन्दा बढी छन् । वास्तवमा कुनै पनि देशका लागि सांस्कृतिक विविधताजस्तो ठुलो पहिचान तथा पुँजी अर्को हुन सक्दैन । तर, विडम्बना यो छ कि, पछिल्लो समय नेपालका कैयौँ भाषा, वेशभूषा, परम्परा तथा चालचलन लोप भइसकेका छन् । बचेका कतिपय संस्कृति पनि तीव्र रूपमा लोप हुने क्रममा छन् । यसको प्रमुख कारण विश्वव्यापीकरणको तीव्रता हो । दोस्रो कारण आधुनिकताको तीव्र लहर हो भने तेस्रो तीव्र बसाइँसराइ हो । चौथो कारण संस्कृतिको संरक्षणमा राज्य उदासीन रहनु हो । खासमा भन्नुपर्दा मुलुकको नीति निर्माण तथा कार्यान्वयन तहमा रहनेहरूको चरम अदूरदर्शिताका कारण हाम्रा संस्कृतिहरू संरक्षण हुन नसकेका हुन् ।
संस्कृति संरक्षणका लागि बेलैमा कदम नचाल्ने हो भने भविष्यमा पछुताउनुबाहेक अर्को विकल्प रहनेछैन । किनकि लोप भइसकेका संस्कृतिहरू पुनः फिर्ता ल्याउन करिब–करिब असम्भव हुन्छ । उदाहरणका लागि शेर्पा युवाहरू हिमाली क्षेत्रको बसोबास छाडेर आधुनिक सहर र वैदेशिक रोजगारीमा छरिएकाले त्यहाँको ‘दे–छ्याङ’ जस्तो सामूहिक निर्णय प्रक्रिया र ऊनका कपडामा आधारित मौलिक सीप–संस्कृति हराइसकेको छ ।
विश्वकै धनी संस्कृति मानिने नेवार समुदायमा पनि आधुनिक ‘बुफे’ सिस्टमले ‘लप्त्ये भ्वय’ (टपरी भोज) र सामूहिक गुठीको अवधारणा विस्थापित भएको छ । भूमिपुत्र थारूहरूको ‘हहरी’ नृत्य र ‘देउहरार’ पूजाको महत्व नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । नेपाली भाषाको जननी थलो मानिने कर्णाली क्षेत्रका ‘हुड्केली’, ‘फागु’ र ‘चैत’ जस्ता अमूर्त कलाहरू सुन्ने र सुनाउने मानिसको अभाव देखिन थालेको छ । शेर्पा, थारू, नेवार तथा कर्णालीका खस आर्य त उदाहरण मात्र हुन्, नेपालमा प्रायः सबैजसो समुदाय तथा क्षेत्रमा यस्तो संकट टड्कारो देखिएको छ ।
कुनै जाति वा समुदायको संस्कृति हराउनु भनेको उसको पहिचान हराउनु मात्र होइन, त्यससँगै जोडिएका ज्ञान, प्रविधि र दर्शन पनि मेटिनु हो । अन्ततोगत्वा यसले देशकै पहिचान संकटमा पर्न जान्छ । संस्कृति मेटिँदा नयाँ पुस्ताले आफ्नो जरा र पुर्खाहरूको इतिहास बिर्सिंदै जान्छन् । यससँगै देशको विविधता पनि सकिन्छ । रैथाने ज्ञान र प्रविधिको विनाश हुनु भनेको सभ्यताको पनि विनाश हुनु हो ।
उदाहरणका लागि शेर्पाको ‘आम्ची’ वा थारूको ‘भर्रा’ जस्ता जडीबुटीमा आधारित उपचार विधि हराउँदा स्थानीय औषधिहरूको ज्ञान पनि हराउनु स्वाभाविकै हो । त्यसो त संस्कृति लोप भएसँगै पर्यटकीय आकर्षण घट्छ र स्थानीय उत्पादनको बजार समाप्त हुन्छ । मौलिक शब्द र उखानको अन्त्य हुन्छ । प्रकृतिपुजक संस्कारको अन्त्य हुँदा वातावरण संरक्षणको परम्परा पनि समाप्त हुन्छ । त्यसैले संस्कृति संरक्षणका लागि राज्यले बेलैमा ठोस कदम चाल्न ढिलाइ गर्नु हुँदैन ।
राज्यको तर्फबाट सर्वप्रथम बसाइँसराइ रोक्ने नीति ल्याउनुपर्छ । विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा, इतिहास र सीपलाई अनिवार्य समावेश गर्नुपर्छ । गुठीहरू, ऐतिहासिक मन्दिर, गुम्बा र चैत्यहरूको मर्मतका लागि नियमित बजेट विनियोजन गर्नुपर्छ । लोप हुन लागेका बाजाहरू, वेशभूषा र प्रविधिलाई आधुनिक प्रविधिमार्फत् रेकर्ड गरेर संग्रहालयमा सुरक्षित राख्नुपर्छ । समुदायको तर्फबाट परम्परागत सामाजिक संस्थाहरूलाई संगठित र पारदर्शी बनाएर सक्रिय राख्नुपर्छ । तडकभडक भन्दा पनि विधिलाई प्राथमिकता दिएर सामूहिक रूपमा चाडपर्वहरू मनाउने वातावरण बनाउनुपर्छ ।
समुदायका वृद्धवृद्धामा रहेको ज्ञान युवा पुस्तालाई सिकाउन ‘संस्कृति कक्षा’ वा कार्यशाला सञ्चालन गर्नुपर्छ । त्यसैगरी व्यक्तिले पनि आफ्नो भाषा बोल्न, आफ्नो वेशभूषा लगाउन र आफ्नो संस्कार पालना गर्न हिचकिचाउनु हुँदैन । यसलाई ‘पिछडिएको’ ठान्ने मानसिकता त्याग्नुपर्छ । घरमा छोराछोरीसँग आफ्नै मातृभाषामा कुरा गर्ने बानी बसाल्नुपर्छ । सम्भव भएसम्म मौलिक खानपान र स्थानीय उत्पादन प्रयोग गरेर ती व्यवसायीलाई प्रोत्साहन दिनुपर्छ । आफ्नो कुल परम्परा, पूजा विधि र लोकभाकाहरू बुढापाकाबाट सिकेर सुरक्षित राख्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया