हिन्दु धर्ममा पानीलाई पवित्रताको प्रतीक मानिन्छ । विशेषगरी गंगाजलले मृत शरीर शुद्ध पार्ने र आत्मालाई मोक्षतर्फ लैजाने विश्वास छ । दाहसंस्कारपछि अग्निले शरीर जलाउँछ भने जलले बाँकी प्रक्रिया पूर्णता दिन्छ । तर, जब जल नै अनुपस्थित हुन्छ, संस्कारको दार्शनिक आधार नै कमजोर बन्छ

महोत्तरीका ८५ वर्षीय भगवती भट्टराईलाई आजकाल मृत्युभन्दा पनि मृत्युपछि दाहसंस्कार कसरी होला भन्ने विषयले पिरोलिरहन्छ । ‘मर्नु त स्वाभाविक हो,’ उनी भन्छन्, ‘तर त्यसपछि गरिने संस्कार नै पूरा नहुने हो कि भन्ने डर लाग्न थालेको छ ।’ जीवनभर पुरोहितको रूपमा कर्मकाण्ड गराउँदै आएका भट्टराईले अहिले आफ्नै आँखाले परम्परा भत्किँदै गएको देखिरहेका छन् । घाटमा शव पु¥याएपछि खोलामा पानी नहुँदा धेरै विधि अधुरो छाड्नुपर्ने बाध्यता उनले बारम्बार भोगेका छन् । ‘पहिले खोलामा सदाबहार पानी हुन्थ्यो, सबै विधि पूरा हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘तर अहिले पानीकै अभावमा कर्मकाण्ड छाड्दै जानुपर्ने अवस्था आयो, योभन्दा दुःखद् के हुन सक्छ ?’ पछिल्लो समय मधेसका जिल्लाहरूमा पानीको संकट गहिरिँदै गएको छ ।
भूमिगत पानीको सतह घट्दै जाँदा इनार, धारा र ट्युबवेल सुक्न थालेका छन् । यसको असर खेतीपातीमा मात्र सीमित छैन, सीधै सामाजिक र धार्मिक जीवनमा समेत देखिन थालेको छ । नदी–खोला सुक्दै जाँदा दाहसंस्कार जस्तो परम्परागत संस्कार नै संकटमा परेको छ । हिन्दु परम्पराअनुसार नदी किनारमै शवदाह गर्ने प्रचलन छ । तर, अहिले ती नदीहरूमा पानी नभएपछि संस्कार गर्ने आधार नभेटिँदा वैकल्पिक आधारहरू खोज्नुपर्ने बाध्यता सिर्जना हुन थालेको छ ।

हिन्दु धर्ममा पानीलाई पवित्रताको प्रतीक मानिन्छ । विशेषगरी गंगाजलले मृत शरीर शुद्ध पार्ने र आत्मालाई मोक्षतर्फ लैजाने विश्वास छ । संस्कारका क्रममा शव स्नान गराउने, मुखमा जल राख्ने, दाहसंस्कारपछि अस्तु संकलन गरी नदीमा पखाल्ने प्रक्रिया पानीबिना अपूर्ण मानिन्छ । हिन्दु दर्शनअनुसार मानव शरीर ५ तत्व (पृथ्वी, जल, तेज (अग्नि), वायु र आकाश) बाट बनेको हुन्छ । दाहसंस्कारपछि अग्निले शरीर जलाउँछ भने जलले बाँकी प्रक्रिया पूर्णता दिन्छ । तर, जब जल नै अनुपस्थित हुन्छ, संस्कारको दार्शनिक आधार नै कमजोर बन्छ ।
पर्यावरण अभियन्ता सुनिल यादव भन्छन्, ‘आजको यथार्थ फरक छ । पानीकै अभावले परम्परागत विधिहरू व्यवस्थित रूपमा सम्पन्न गर्न सकिँदैन । कतै नदी सुक्दा टाढा धाउनुपर्ने अवस्था छ भने कतै अधुरै विधिमा संस्कार टुंग्याउनुपरेको छ । यसले हाम्रो संस्कृति नै संकटमा पारेको छ ।’ यो समस्या एक परिवार वा एक गाउँको होइन समग्र मधेसको साझा पीडा बन्ने क्रममा अगाडि बढेको विभिन्न दृष्टान्तहरू देखिएका छन् । महोत्तरीको रातु नदीमा पानी नपाइने भएपछि अहिले धेरै परिवारले शवलाई टाढाको कमला नदीसम्म लैजान थालेका छन् । ‘हाम्रो संस्कारमा पानी अनिवार्य हो । अब जहाँ पानी पाइन्छ, त्यतै जानुपर्छ’, स्थानीय शंकर थापाले भने ।
सर्लाहीका लालबन्दी, कालिन्जोर र रानीगन्ज क्षेत्रका धेरैजसो मानिसहरूले आजकाल वैकल्पिक घाट बाग्मतीलाई बनाउन थालेका छन् । स्थानीयहरूका अनुसार अहिले शवलाई ट्रयाक्टरमा राखेर बाग्मती नदीसम्म पु¥याउने क्रम बढेको छ । स्थानीय किरण बस्नेत भन्छन्, ‘क्रियापुत्रीहरूलाई नुहाउन पनि समस्या हुन थालेपछि धेरैले बाग्मती लैजान थालेका छन् ।’ एउटा संस्कार पूरा गर्न लामो दुरी पार गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने जुन आर्थिक, शारीरिक र मानसिक रूपमा थप बोझिलो बनेको स्थानीयहरू बताउँछन् ।

चुरे विनाश र जलवायु परिवर्तन नै मुख्य कारक
मधेस काकाकुल बन्दै जानुमा नदीजन्य पदार्थको अवैध दोहन पनि अर्को मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । क्रसर व्यवसायी, ठेकेदार र जनप्रतिनिधिहरूकै मिलेमतोमा नदी दोहन वृद्वि भएको विभिन्न तथ्यांकले देखाएको छ । केही वर्षअघि र अहिलेको अवस्था तुलना गर्दा नदी/खोला वीभत्स बनेको देखिन्छ । यसले पनि भूमिगत पानीको सतह थप गहिरिँदै गएको उनीहरूको निष्कर्ष छ ।
१० वर्षअघि बर्दिवास नजिकैको रातु नदीमा गएर पौडी खेल्ने गरेको बर्दिवासका स्थानीय जमुना पोखरेल सम्झिन्छन् । ‘खोलामा त्यस्तो कञ्चन पानी अहिले कहाँ देखिनु ! खन्दाखन्दै गहिरिएर कता पुग्यो कता,’ उनले भनिन, ‘वरपर पलाउने जरुवा पानीले नै सिँचाइ हुन्थ्यो । धान, तरकारी उत्पादनका लागि खोल्साखोल्सीकै पानी काफी थियो । अहिले कथा सुनाएझैँ हुन्छ ।’ मधेसका खोला तथा नदी अन्धाधुन्ध खन्दा समस्या भएको कुरामा जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुमनलाल कर्ण पनि सहमत छन् । ‘हामीले अनुगमन गर्दा आइई रिपोर्टले निर्धारण गरे विपरीत उत्खनन गरिएको छ । अनुगमनका लागि स्थानीय संयन्त्र भए पनि मौन देखिन्छ,’ उनी भन्छन् ।
संस्कृतिविद् डा.वीरबहादुर महतोका अनुसार यो समस्या पानी अभावको मात्र होइन, यसको जरो चुरे क्षेत्रको विनाश र जलवायु परिवर्तनसँग जोडिएको छ । ‘मुहान संरक्षण र चुरे जोगाउने विषय आजको सबैभन्दा ठुलो मुद्दा हो,’ उनी भन्छन्, ‘चुरे नासिँदै जाँदा पानीका स्रोत पनि सुक्दै गएका छन् ।’ चुरे क्षेत्र पानीको प्राकृतिक भण्डार मानिन्छ । त्यहाँको वन विनाश, अनियन्त्रित दोहन र अतिक्रमणका कारण पानीको पुनर्भरण प्रणाली नै बिग्रिएको छ, जसको प्रत्यक्ष असर मधेसका नदी–खोलामा परेको उनको भनाइ छ ।
पानी संकट केवल वातावरणीय समस्या होइन यो सांस्कृतिक अस्तित्वसँग जोडिएको प्रश्न बनेको छ । यदि यही अवस्था जारी रह्यो भने भोलिका दिनमा परम्परागत दाहसंस्कार विधि नै इतिहासमा सीमित हुने खतरा बढ्दै गएको ब्राह्मणहरूको बुझाइ रहेको छ । विज्ञहरूका अनुसार चुरे पानीको मुख्य भण्डार भए पनि मधेसमा चुरे अतिक्रमण अचाक्ली छ । मधेसको कुल क्षेत्रफल मध्ये २४.७८ प्रतिशत मात्र वन क्षेत्रले ओगटेको छ भने अधिकांश वन चुरे क्षेत्रमै छन् । प्रदेशका १३६ पालिकाहरू मध्ये ८४ वटा स्थानीय तहमा वन क्षेत्र नै छैन । सरकारले वनलाई आर्थिक विकासका मेरुदण्ड मानिने कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भका रूपमा लिए पनि व्यावहारिक कार्यान्वयन गर्न नसक्दा समस्या विकराल बन्दै गएको छ । मधेसका कतिपय जिल्लामा पानीकै क्षेत्रमा काम गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायत कैयौँ निकाय छन् । तर, ती निकायले प्रभावकारी काम गर्न नसक्दा समस्या थप जटिल बनेको महोत्तरीका स्थानीय रामप्रमोद यादव बताउँछन् ।
मधेस सरकारको वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले वन अतिक्रमणको भयावह चित्र देखाउँछ । आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार मधेसको ५ हजार ६९२.१५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये सबैभन्दा बढी रौतहटमा ३ हजार १९०.५२ हेक्टर अतिक्रमणमा परेको मन्त्रालयले जनाएको छ । मधेसका १३६ वटै पालिका वनमा आश्रित भए पनि सबै पालिकामा वन छैन । सप्तरीका १८ मध्ये ८ पालिकामा वन क्षेत्र छ भने सिरहाका १७ मध्ये ११, धनुषाका १८ मध्ये ४, महोत्तरीका १५ मध्ये २, सर्लाहीका २० मध्ये ७, रौतहटका १८ मध्ये ५, बाराका १६ मध्ये ३ र पर्साका १४ मध्ये ७ वटा पालिकामा मात्र वन छन् ।

जलसँग जोडिएका अन्य पर्व पनि संकटमा
पष्ठीका दिनमा जलाशयमा नुहाइधुवाइ गरी साँझ अस्ताउने सूर्यको पूजाआराधना गर्दै नजिकको जलाशय (पोखरी) मा गएर दियो बत्ती बाली रातभर जाग्राम बस्ने मधेशको चर्चित पर्व हो छठ । बिहान उदाएको सूर्यलाई अघ्र्य र जल चढाएर सूर्यलाई प्राथना गरी सकेपछि यो पर्व विसर्जन गरिन्छ । तर आजकाल मधेशका पोखरीहरू समेत धमाधम सुकिरहेका छन् ।
पशुपतिनगरका रामदेव महतो भन्छन्, ‘जलाशय नभइकन यो पर्व मनाउन मिल्दैन किनकि धार्मिक मान्यताअनुसार पोखरीमा डुबुल्की मारेर महिलाहरूले यो पर्व नदी, तलाउ, पोखरीअगाडि बसी अस्ताएको सूर्य र उदाउँदो सूर्यको पूजा गरी रातभरि जाग्राम बसी सूर्य देवताको आरधना र व्रत गरेर मनाउँदछन् तर आजकाल पानीको कारणले सकस बनिरहेको छ ।’ पानी हालेर डोबिल्काहरू बनाएर पनि पोखरीको प्रतीककोरूपमा प्रयोग गर्न थालिएको स्थानीयहरू बताउँछन् । नदीका किनारमा छठी गर्दा पानी नै नहुने र पोखरी खोज्दै जाँदा पछिल्ला केही वर्षदेखि पानी नै सुकेको हुनाले छठ मनाउन नै सकस बन्दै गएको स्थानीय रामजन यादवको भनाइ छ ।
प्रतिक्रिया