पहिले गोदनालाई महिलाको एक प्रकारको गहनाका रूपमा लिइन्थ्यो । तर अहिले यो परम्परा यस क्षेत्रबाट लगभग हराइसकेको छ । परम्परागत गोदना लोप हुँदै जाँदा यसको सट्टा आधुनिक ट्याटुको चलन बढ्दो छ

मिथिला क्षेत्रको सांस्कृतिक पहिचानभित्र गोदना (ट्याटु) र हँसुली (परम्परागत गहना)ले विशेष स्थान राख्छन् । यी दुवै परम्पराले नारी सौन्दर्य, सामाजिक प्रतिष्ठा, आध्यात्मिक विश्वास र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्दै आएका छन् । यद्यपि यसको ऐतिहासिक र सांस्कृतिक महत्व मधेस र मिथिलाका लागि अतुलनीय रहे पनि आजको समयमा यी परम्पराहरू लगभग लोप हुने अवस्थामा पुगेका छन् ।
पहिले गोदनालाई महिलाको एक प्रकारको गहनाका रूपमा लिइन्थ्यो । तर अहिले आएर यो परम्परा यस क्षेत्रबाट लगभग हराइसकेको छ । परम्परागत गोदना लोप हुँदै जाँदा यसको सट्टा आधुनिक ट्याटुको चलन बढ्दो छ । अहिले पुरुष र महिला दुवैले शरीरका विभिन्न भागमा ट्याटु बनाउने प्रवृत्ति बढेको देखिन्छ । यद्यपि यसमा सांस्कृतिक अर्थभन्दा बढी फेसन र व्यक्तिगत रोजाइको प्रभाव देखिन्छ, जसले परम्परागत मूल्य र सौन्दर्यबोधसँग फरक दिशा लिएको अनुभूति हुन्छ ।
वृद्ध महिलाहरूको गर्दन, बाँही र हातमा देखिने गोदना मिथिलाको पुरानो परम्परा हो । गोदना शरीर सजाउने एउटा विशेष कला हो, जसमा छालामा रंगीन आकृतिहरू स्थायी रूपमा उत्कीर्ण गरिन्छ । यस प्रक्रियामा छालामा ससाना घाउ वा चिरा बनाएर त्यसमा कोइला, खरानी वा रंग भरिन्छ । घाउ निको भएपछि उक्त चिन्ह स्थायी रूपमा रहन्छ । प्रायः कालो र हल्का रातो रंगमा बनाइने गोदना बनाउन बबुरको काँडा र काजल प्रयोग गरिन्थ्यो । गोदना बनाउने प्रक्रिया पीडादायी भए पनि यसलाई सौन्दर्य र संस्कारको रूपमा लिइन्थ्यो । महिलाहरू विशेषगरी वर्षायाममा गोदना बनाउँथे । गाउँ–गाउँ घुम्दै गोदना बनाउने महिलाहरूको समाजमा विशेष सम्मान हुन्थ्यो । मिथिलामा गोदना शताब्दीयौँदेखि नारी सौन्दर्य, सांस्कृतिक अनुशासन र आध्यात्मिक विश्वासको अभिन्न अंगको रूपमा रहँदै आएको छ ।
गोदना बनाउँदा पीडा हुने र यसबाट बच्नका लागि विभिन्न आकर्षक लोकगीतहरू पनि गाउने चलन छ । मिथिलामा गोदनाका क्रममा शृंगारिक गीत यसरी गाइन्छ –
‘गोरी कहाँ गोदौला तोहुँ गोदना
बहियाँ गोदौलो, छयियो गोदौलो
पियाके पलङग पर रोदना
गोरी कहाँ गोदौला तोहँ गोदना ।।’
अर्थात् प्रिय कहाँ गोदना बनायौँ, यता प्रेमीलाई कष्ट भएको छ ।
गोदनाको बेला सृजना पीडालाई न्यून गर्ने मुख्य गीतको ध्येय हुने भएकाले यस्ता गीतले गोदनाको असह्य पीडालाई प्रेमीको मिठो सम्झनामा लीन गर्न गरेको यो गीतले स्पष्ट गर्दछ –
‘जान, वइसि रे गेलइ चन्दन बिरिछिया रे जान
घरसँ बाहर भेली सुन्दरीपुतहुवा रे जान
जान, हमहुँ सासु गोदना गोदवए रे जान
बाँहिया गोदनके पुतहुँ सोनेके कङ्गनमा रे जान
जान, छतिया गोदनके तोहरो ललनमा रे जान ।।’
गोदनाको उत्पत्तिको ठोस प्रमाण नभए पनि विभिन्न लोकविश्वासहरू प्रचलित छन् । कतिपयले मृत आत्मालाई रक्त अर्पण गर्ने प्रथासँग यसको सम्बन्ध जोड्छन् । अर्को विश्वासअनुसार मृत्युपछि शरीरसँग वस्त्र वा आभूषण जाँदैन, तर शरीरमा बनेको गोदना आत्मासँगै रहन्छ । त्यसैले गोदनालाई अमरता र मोक्षको प्रतीकका रूपमा लिइन्थ्यो । यही कारणले गर्दा गोदनाबिना छोरीलाई अधुरो मानिने चलनसमेत थियो ।
विश्वका विभिन्न भागहरूमा पनि गोदनाको परम्परा पाइन्छ । फिजी, एडमिराल्टी र दक्षिणी समुद्री टापुहरूमा महिलाहरूले मात्र गोदना बनाउने गर्थे । मिश्रको लटुका जातिमा शरीरमा चिन्ह अनिवार्य मानिन्थ्यो । सोलोमन टापु, अस्ट्रेलिया, फारमोसा र न्युगिनीमा विवाहअघि महिलाहरूले अनुहार, छाती वा शरीरमा गोदना बनाउनुपर्ने चलन थियो । मिथिलामा पनि केही जातिहरूमा ‘ॐ’ चिन्ह, पतिको नाम तथा विभिन्न सजावटी आकृतिहरू गोद्ने चलन थियो । तर आधुनिक समयमा युवतीहरू गोदनाको पीडा, स्वास्थ्य जोखिम र बदलिँदो सामाजिक मूल्यका कारण यसबाट टाढा हुँदै गएका छन् । अहिले गोदनाले ट्याटुको आधुनिक रूप लिएको छ । बिच्छी, मयूर, सूर्य, चन्द्रमा, घोडा, फूल र सिंहासनजस्ता विभिन्न आकृतिहरू प्रयोगमा आउन थालेका छन् । चिकित्सकहरूका अनुसार संक्रमित सुई र अशुद्ध मसीका कारण छालासम्बन्धी रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन आवश्यक छ ।

जनकपुरधामका साहित्यकार तथा पत्रकार श्यामसुन्दर शशीका अनुसार गोदना परम्पराले मिथिलालाई विशिष्ट पहिचान दिएको थियो । उनका अनुसार गहना केवल वस्तु मात्र नभई त्यसलाई शरीरमै विशेष तरिकाले स्थायी रूपमा धारण गर्न सकिने संस्कारको रूपमा गोदनाले सिकाएको थियो । तर आधुनिक युगमा यस परम्पराको महत्व बिर्सिंदै गएको उनले बताए । उनका अनुसार परम्परागत गोदना आज विकृत हुँदै आधुनिक ट्याटुको रूपमा रूपान्तरित भएको छ । पहिले गर्दन, छाती र बाहुलगायतका भागमा बनाइने गोदना अहिले शरीरका अन्तरंग भागहरूमा विभिन्न आकृतिमा बनाइँदै गएको छ, जसले यसको मौलिक स्वरूपलाई बिगारेको उनको धारणा छ ।
शशीले गोदना परम्परा हराउनमा मिथिलाका तथाकथित ‘ठेकेदार’हरू पनि जिम्मेवार रहेको आरोप लगाए । उनका अनुसार यदि यस परम्पराको संरक्षण र प्रवद्र्धनका लागि समयमै पहल गरिएको भए यो परम्परा आज पनि जीवित रहने थियो । तर आधुनिकताको नाममा यसलाई बेवास्ता गरिँदा क्रमशः विनाशतर्फ धकेलिएको उनले बताए । उनका अनुसार यस परम्पराको लोप हुनु दीर्घकालमा मिथिलाबासीका लागि नै घाटाको विषय बन्ने निश्चित छ, किनकि यसले सांस्कृतिक पहिचान र मौलिकता दुवैलाई कमजोर बनाउँछ ।
साहित्यकार डा.भोगेन्द्र झाले गोदना परम्परा समाप्त हुनुमा मिथिलाका पुरुष वर्ग नै मुख्य रूपमा दोषी रहेको बताएका छन् । उनका अनुसार मिथिलाकी महिलाहरू अझै पनि आफ्नो परम्परा जोगाउन अग्रसर देखिन्छन्, तर पुरुषहरूले आधुनिकताको नाममा यसलाई बेवास्ता गरेपछि यो परम्परा क्रमशः हराउँदै गएको हो । उनले भने, गोदना परम्परालाई अहिले पनि पुनः उत्थान गर्न सकिन्छ, तर त्यसका लागि शिक्षासँगै परम्परालाई पनि समान रूपमा अगाडि बढाउन आवश्यक छ । उनका अनुसार आधुनिकता र परम्पराबीच सन्तुलन कायम गर्नसके मात्र यस्तो मौलिक सांस्कृतिक धरोहरको संरक्षण सम्भव हुन्छ ।

विलुप्त भए हँसुली
त्यसैगरी मिथिलाको अर्को महत्वपूर्ण पहिचान हँसुली पनि हो । यो चाँदीबाट बनेको भारी गहना हो, जुन महिलाहरूले गर्दनमा लगाउँथे । हँसुली केवल गहना मात्र नभई सामाजिक प्रतिष्ठा र आर्थिक सम्पन्नताको प्रतीक मानिन्थ्यो । ‘जसको घरमा हँसुली, उसको घर धन्य’ भन्ने उखान प्रचलित थियो । अर्धचन्द्राकारको हँसुलीलाई नारीको शीतलता र जीवनशक्तिको प्रतीकका रूपमा लिइन्थ्यो । यसको तौल सामान्यतया २ तोलादेखि ६ तोलासम्म हुने गर्दथ्यो ।
प्रारम्भमा सम्पन्न परिवारले मात्र प्रयोग गर्ने यो गहना पछि लोकप्रिय बन्दै गयो । विवाहजस्ता महत्वपूर्ण संस्कारमा हँसुली अनिवार्य मानिन्थ्यो । कतिपय स्थानमा यसलाई ‘खग्वाली’ पनि भनिन्थ्यो । हँसुलीका साथै खुटामा कँडा, बाहिमा बल्ला लगायतले हुनेखाने घरपरिवारको रूपमा पनि चिनिने गरिन्थ्यो ।
हाल भने हँसुलीको प्रयोग घट्दै गएको छ । यसको स्थान हल्का र आधुनिक डिजाइनका गहनाहरूले लिएका छन् । तीन कंठीमाला, तिलहरी, मुगाको माला, चन्द्रहारजस्ता गहनाहरू बढी प्रयोगमा आउन थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियाका वृद्धवृद्धाहरूका अनुसार पहिले हँसुलीबिना विवाह अधुरो मानिन्थ्यो, तर अहिले यसको प्रयोग निकै कम भइसकेको छ ।
संस्कृतिविद् डा.सुरेन्द्र लाभका अनुसार हँसुली मिथिलाको सामाजिक इतिहासमा सम्पत्ति र सुरक्षाको प्रतीक हो । यसले नारी जीवनमा चन्द्रमाजस्तो शीतलता र ज्योतिको अर्थ राख्थ्यो । तर औद्योगिक उत्पादन र हल्का गहनाको बढ्दो प्रयोगका कारण परम्परागत हँसुली बनाउने चलन लोप हुने अवस्थामा पुगेको छ ।
संस्कृतिविद् राजेन्द्र झाका अनुसार हँसुली महिलाहरूका लागि विशुद्ध रूपमा सौन्दर्य झल्काउने गहना थियो । उनका भनाइमा, यसले मिथिलालाई विश्वस्तरमै अलग पहिचान दिलाएको थियो । तर यसलाई जीवित राख्नका लागि आवश्यक पहल कसैले नगरेको उनले उल्लेख गरे । उनका अनुसार आर्थिक रूपमा सम्पन्नता बढ्दै जाँदा कम मूल्यको मानिने चाँदीप्रति आकर्षण घट्दै गयो र मानिसहरू सुनतर्फ बढी आकर्षित हुन थाले । यही कारणले परम्परागत हँसुली जस्ता गहनाहरू क्रमशः प्रयोगबाट बाहिरिँदै हराउन पुगेका हुन् ।

पहिले विवाह, तिलक र उपनयनजस्ता संस्कारमा अनिवार्य रहेको हँसुली आजको समयमा विस्थापित हुँदै गएको छ । यसको स्थान आधुनिक र हल्का गहनाले लिँदा मिथिलाको मौलिक पहिचान संकटमा परेको छ । त्यसैले यस्ता परम्परागत गहना र संस्कृतिको संरक्षण आवश्यक रहेको विज्ञहरू बताउँछन् । यद्यपि यसको प्रयोग आज पनि विशेष गरेर थारू समुदायले बचाएर राखेको र खासगरी आफ्नो परम्परागत कार्यक्रममा प्रयोग गरेको देख्न सकिन्छ । गोदना र हँसुली मिथिलाको समृद्ध सांस्कृतिक धरोहर हुन्, जसले प्राचीन परम्परादेखि आधुनिक समयसम्मको यात्रा तय गरेका छन् । बदलिँदो समयसँगै यिनको स्वरूप फेरिए पनि यिनको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वलाई जोगाइराख्न आवश्यक देखिन्छ ।

जनकपुर
प्रतिक्रिया